एजेन्सी
शुक्रवार, पुष २७, २०७५
644

एआई शक्तिशाली तथा अंगीकर गर्न सकिने भएपनि मानिसले गर्ने सबैथोक गर्न भने सक्दैन । एआईले सिर्जना, अवधारणा ग्रहण, रणनीतिक जटिल योजना वा जटिल कार्यअन्तर्गत हात र आँखाको समन्वयमा गरिने ठोस कार्य गर्न सक्दैन ।
काइ फु ली

चिनियाँ एआई विज्ञ

 चीनको कृत्रिम बौद्धिकता (एआई) प्रविधि क्षेत्रका विज्ञमध्येका एक अगुवा विज्ञले आगामी १५ वर्षमा एआई प्रविधिले विश्वका विद्यमान रोजगारीको आधाजति खोस्ने चेताएका छन् । चिनियाँ एआई प्रविधि क्षेत्रको सर्वाधिक बिक्री भएको पुस्तक ‘एआई सुपरपावर्सः चाइना, सिलिकन भ्याली एन्ड द न्यू वल्र्ड अर्डर’का लेखक काइ फु लीले रोजगार खोसिने बताएका हुन् ।
औद्योगिक क्रान्तिका बेला किसानहरूले सामना गरेका चुनौतीजस्तो समस्या विश्व रोजगारमा यो समस्या आउने उनको चेतावनी हो । उनले भने, “मानिसहरूको रोजगारमा एआईले पार्ने असरबारे वास्तवमा पूर्णरूपमा उनीहरू जानकार छैनन् ।”
चीनमा ली एक विश्वविद्यालयका उपकूलपति हुन् । उनले यो क्षेत्रमा गुगलको अगुवाइ गरेका छन् । एआई क्षेत्रको ३० वर्ष लामो अनुभव लीसँग छ । मानिसहरूले रोजगारको विस्थापनबारे जानकारी पाउनुपर्ने र त्यसलाई फेरि प्राप्त गर्नुपर्ने विषयमा काम गर्नुपर्ने आवश्यकता रहेको उनको विश्वास छ ।
तर, उनले मानवताका लागि सबै थोक नगुमिसकेको बताए । उनी भन्छन्, “एआई शक्तिशाली तथा अंगीकर गर्न सकिने भएपनि मानिसले गर्ने सबैथोक गर्न भने सक्दैनन् ।” लीको विश्वासअनुसार एआईले सिर्जना, अवधारणा ग्रहण गर्न वा रणनीतिक जटिल योजना वा जटिल कार्यअन्तर्गत हात र आँखाको समन्वयमा गरिने ठोस कार्य गर्न सक्दैनन् ।
अज्ञात र विशृंखलित क्षेत्रसँग व्यवहार गर्न यो एआई कमजोर क्षमताको भएको उनको बुझाइ छ । उनी भन्छन्, “एआईले मानिससँग मानिसजस्तै व्यवहार गर्न सक्दैन । भावनात्मक रूपमा मानिसले मानिससँग सम्पर्क गर्ने करूणा व्यक्त गर्ने कार्य गर्न सक्दैन् ।”
मनोचिकित्सक, सामाजिक कार्यकर्ता र विवाह परामर्श दिने आदिको रोजगार गुम्न नसक्ने देखिएको बताउँदै नर्स, एआई अनुसन्धानकर्ता र वैज्ञानिकहरूको रोजगार नगुम्ने उनले जनाए । एआईको विकासले तत्काल केही रोजगारहरू गुम्नेमा भाँडा माझ्ने लगायतका कामहरू छन् । टेलिभिजनबाट बिक्री गर्ने विक्रेताको काम, उपभोक्तालाई सहयोग गर्ने काम, वेयरहाउसको काम, कार्यालय सञ्चालन गर्ने कर्मचारी, टेलिफोन सञ्चालक, बैंकको क्यासियर वा गणक, फास्टफुडको काम गर्ने कर्मचारी, सामान एक ठाउँबाट अर्को ठाउँमा पठाउने काम आदि मानिसको हातबाट तत्काल गुम्न लागेको हो ।
लीका अनुसार सबैभन्दा बढी जोखिममा परेको काम टेलिमार्केटर र टेलिसेलरको काम हो । उनका अनुसार गुगलको विवादास्पद एआई बोट सिस्टमले मानिसलाई मूर्ख बनाउन सक्छ । रोबो कलको बारेमा सबै जानकार भएपनि भविष्यमा यस्ता कलहरू अझ बढी प्राकृतिक हुने उनले जनाए । एआईले उपभोक्ताको प्रोफाइल, विगतको खरिद, भावहरूको पहिचानको प्रयोग गर्न सक्छ । भविष्यमा सहानुभूतिपूर्ण कार्य गर्नेहरूको काम महत्वपूर्ण रोजगारी हुनेछ ।
चिनियाँ विज्ञ लीका अनुसार पहिले रोजगार गुमाउनेहरूमा विश्व बजारका बिक्री एवं बजार अनुसन्धान, बीमा समायोजक, सुरक्षा गार्ड, ट्रक चालक, उपभोक्ता ऋण अन्डरराइटर, वित्तीय एवं खेलकुद पत्रकारिता, लेखापालक एवं वित्तीय विश्लेषक, फल टिप्ने, लगानी पेशाकर्मी र रेडियोलजिस्टहरूको काम रहेका छन् । एआई प्रविधिले गर्न नसक्ने कामहरूमा मनोचिकित्सक, थेरापी दिनेहरू, चिकित्सासम्बन्धी हेरचाह गर्नेहरू, एआई अनुसन्धानकर्ता र इन्जिनियरहरू, काल्पनिक कथा लेखक, शिक्षक, क्रिमिनल डिफेन्स अटर्नी, कम्प्युटर साइन्टिस्ट र इन्जिनियर, साइन्टिस्ट तथा वास्तविक प्रबन्धकहरूले गर्ने काम हुन् ।
लीका अनुसार मानिस–मानिसबीचको अन्तक्र्रियात्मक कार्य, मानिसलाई सन्तुष्ट पार्ने खालका गतिविधि हुने मानिसको काम एआईको विकासबाट पनि सुरक्षित रहनेछ । शिक्षा क्षेत्रको विकास र विस्तारबारे पनि मानिसले नयाँ ढंगले सोच्नुपर्ने हुन्छ । एआईको विकासले शिक्षा क्षेत्रमा नाटकीय परिवर्तन ल्याउनेछ ।
बालबालिकाको रूचिलाई प्रोत्साहन गर्न र उनीहरूको प्रतिभालाई विस्तार हुने वातावरणको शिक्षा प्रणालीको विस्तारको आवश्यकतामा लीको जोड रहेको छ । बालबालिकाका विशिष्ट प्रतिभा सुरूआतमा देखा पर्छ । आमाबाबुले तिनका सन्तानले सोचेअनुसारको दिशामा डो¥याउनुपर्ने उनले सुझाएका छन् । एआईको असरबाट आश्चर्यजनक ढंगबाट सुरक्षित रहेका अन्य रोजगारीहरू छन् । फिटनेस ट्रेनर, बूढाबूढीको हेरचाह गर्ने केयरटेकर, घर सफा गर्ने काम, नर्सको कामजस्ता मानिससँग निकट भएर गर्ने कामहरूमा एआईको पहुँच सहज हुन नसक्ने उनको बुझाइ छ ।