कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४
1692

मुगु । हिउँद सुरु भएयता विश्वका विभिन्न स्थानबाट जाडो छल्न पाहुना चरा राराताल आउन थालेका छन् । हिउँदको समयमा साइवेरिया, युरोप, मानसरोवरतिर अत्यधिक जाडो हुने भएकाले हरेक वर्ष ती क्षेत्रबाट जाडो छल्न हाँसहरु रारा आउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हरेक वर्ष कात्तिक अन्त्यदेखि माघसम्म हजारौंको संख्यामा पाहुना चरा रारा आउने गरेको कार्यालयको भनाइ छ । जाडो छल्न रारा पुगेका यी चराहरु चैत्र अन्तिमतिर मात्र फर्किने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कार्यालय प्रमुख चन्द्रशेखर चौधरीले बताए ।
चौधरीका अनुसार अहिलेसम्म ६ सयजति पाहुना चरा रारामा आइपुगेका छन् भने चरा आउने क्रम पनि जारी रहेको छ । अहिले रारामा कमन कुड, युरेसियन युगेन, ग्रागेनी, कमन पचाड, टप्टेड डगलगायत प्रजातीका हाँसहरु देखिन थालेको कार्यालयको भनाइ छ । वारहेडेड गुज नामक सानो र ठूलो प्रजातिको हाँस केही ढिलो गरी आउने गर्दछ । रारा तालमा पानी नजम्ने भएकाले पनि वर्षेनी पानीमा बस्ने प्रजातीका चराहरु रारा आउने गर्दछन् ।
रारा तालमा पानीमा खेल्ने जल चरा जलेउवा, हाँस, करेङकुरुङ बाहेक अन्य वनमा पाइने विभिन्न प्रजातिका कालीज, काँडेभ्याकुर, ढुकुर, मुनाल, डाँफे, भ्याकुर, चिरकालीजलगायत हजारौं प्रजातिका चराहरुले झन् राराको शोभा बढाएका छन् ।