भीम गौतम
बुधवार, कार्तिक २१, २०७५
615

कुलमान घिसिङ
कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
आज लक्ष्मीपूजाको दिन हो, तर तिहार लाग्नेबित्तिक्कैदेखि जताततै झिलिमिली देखिन थालिसकेको छ । तीन वर्ष अघिसम्म प्रायः घरमा मैनबत्तीको झिलिमिली हुन्थ्यो भने दुई वर्षदेखि बिजुलीको झिलिमिली छ । नेपालीको महान् चाड तिहारको दिन झिलिमिली गर्न नपाउनु नेपालीका लागि सबैभन्दा दुःखद हुन्छ र विगतमा हुन्थ्यो पनि । त्यो बेला सबैभन्दा बढी विद्युत्को माग हुने लक्ष्मीपूजाको दिन विद्युत् प्राधिकरणले मागअनुसारको बिजुली दिन सक्दैनथ्यो र सबैभन्दा बढी आलोचना खेप्नुपथ्र्यो । अहिले दुवैको अन्त्य भैसकेको छ । एक दशकदेखि रहेको त्यो लोडसेडिङको भयावह अवस्था दुई वर्षअघि काठमाडौँबाट र डेढ वर्षअघिदेखि देशभरबाटै अन्त्य भएको छ । पूर्ण रूपमा गुणस्तर र भरपर्दो भने बनिसकेको छैन । दुई वर्षअघि बढी विद्युत् खपत गर्ने उपकरणहरू नचलाउनु भनेर सार्वजनिक सूचना गर्ने प्राधिकरण अहिले ढुक्कसँग झिलिमिलीका साथ तिहारमा दीपावली गर्न उत्साहित गरिरहेको छ । प्राधिकरण आफैंले पनि आफ्नो केन्द्रीय भवनलाई झिलिमिली पारेर यसपालिको तिहार मनाउँदैछ । लोडसेडिङले आक्रान्त पारेको नेपाली समाजमा एकाएक कसरी लोडसेडिङ अन्त्य भयो, लक्ष्मीपूजालाई किन लोडसेडिङ अन्त्य गर्ने दिन घोषण गरियो र त्यसमा प्राधिकरण कसरी सफल भयो ? दुई वर्षअघिको लक्ष्मीपूजाको दिनदेखि सुरु भएको लोडसेडिङ अन्त्यको अन्तरकथा, यसको सफलतापछिको विद्युत् प्राधिकरणको यात्रा र अझै विद्युतीकरण नभएर २४ घण्टा बिजुली नपाउने जनताले समेत बिजुली पाएर देशै झिलिमिली बनाउने भविष्यको योजनालगायतमा केन्द्रित रहेर कारोबार सहकर्मी भीम गौतमले लोडसेडिङ अन्त्यको नेतृत्व गरेका र जनताबाट उज्यालो नेपालको नायकका रूपमा सम्मान पाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग गरेको कुराकानीको सार :

ठीक दुई वर्षअघि अर्थात् लक्ष्मीपूजाकै दिनदेखि काठमाडौंमा लोडसेडिङ अन्त्य भएको थियो, लक्ष्मीपूजाकै दिन यसको अन्त्य गर्छु भन्ने सोच कसरी आयो ?
हाम्रो योजना पहिल्यैदेखि बनेको थियो । सिस्टमको उच्च पिक (माग) लक्ष्मीपूजाकै दिन हुने हुनाले यो दिन रोजेका हौं । लक्ष्मीपूजादेखि काठमाडौँमा लोडसेडिङ नगर्ने भनेर योजना बनायौं । लक्ष्मीपूजामा व्यवस्थापन गर्न सकियो भने त्यसपछि के–के गर्नुपर्ने रहेछ भनेर थाहा हुने र पछि बिस्तारै व्यवस्थापन गर्दै जाने हो भन्ने योजना थियो । लक्ष्मीपूजादेखि उपत्यकाभित्र लोडसेडिङ अन्त्य गर्न सफल पनि भयौं ।

लोडसेडिङको भयावह स्थिति भइरहेका बेला लोडसेडिङ पूर्ण अन्त्य गर्न सकिन्छ/सकिँदैन भनेर के प्रक्षेपण थियो ? कस्तो माग हुन्छ भन्ने थियो ?
गर्न सकिन्छ भनेर गरेको हो । त्यो बेला माग कति पुग्छ भन्दा पनि जति माग हुन्छ, त्यसलाई व्यवस्थापन गर्ने भनेरै योजना बनाएका थियौं । काठमाडौँमा लोडसेडिङ नगर्ने र पुगेन भने तराईतिर केही ठाउँमा काट्ने अनि डिजेल प्लान्ट पनि चलाउने भन्ने योजना थियो । १० मेगावाटको डिजेल प्लान्ट पनि चलाएको हो । काठमाडौंको पिकमा केही ठाउँमा पुगेन भनेर तराईतिरका केही फिडर पनि केही समयका लागि काटेका थियौं । काठमाडौंमा काहीं लोडसेडिङ गरेनौं । त्यसपछि क्रमशः व्यवस्थापन गरेर लग्यौं । सबै माग पूरा गर्न सक्दैनौं भन्ने कुरा हामीलाई थाहा थियो । काठमाडौंको माग पूरा गर्न सक्छौं भन्ने थियो ।

लोडसेडिङ हट्दैन र हट्न सक्दैन भन्ने गलत धारणा विकसित भैसकेको थियो, कसरी जसरी पनि हटाउँछु भनेर प्रतिबद्ध हुनुभयो ?

एकैपटक देशैभरि लोडसेडिङ घट्न सक्छ भन्ने विश्वास त कसैलाई थिएन । हामीलाई पनि थिएन तर चरण चरणमा गर्नुपर्छ भन्ने कुरा अघि बढाएका थियौं ।

चरणबद्ध रूपमा गर्दा केही अप्ठ्यारा आउँछन् भन्ने पनि थियो । कहीँ लोडसेडिङ गर्ने र कतै–कतै पूरै बत्ती दिँदा यसको प्रतिक्रिया आउँछ भन्ने पनि थियो । परीक्षणका रूपमा पहिलो चरणमा काठमाडौंमा गरेका थियौं ।

काठमाडौंंको लोडसेडिङ अन्त्यले के सन्देश दियो अरू क्षेत्रका लागि ?
काठमाडौंको लोडसेडिङ अन्त्यले देशभरिबाटै लोडसेडिङ अन्त्य हुन सक्दो रहेछ भनेर सर्वसाधारणको जुन सहानुभूति आयो, समर्थन आयो, यसले पनि हामीलाई ठूलो सहयोग गर्यो । तिहारपछि काठमाडौंमा निरन्तर लोडसेडिङ भएन, हुँदैन भन्दै गयौं । उपभोक्तालाई तपाईंहरूले पनि सहयोग गर्नुपर्छ भन्यौं । यसले माग व्यवस्थापनमा धेरै सहयोग पुरायो । सबैभन्दा महत्वपूर्ण माग व्यवस्थापन भयो । यसको कारण प्राधिकरण र जनताबीच इमोसनल एट्यामेन्ट भयो । लोडसेडिङ अन्त्य गर्छौं, तर तपाईंहरूले पनि समर्थन गर्नुपर्यो, पिकमा यो यो बढी विद्युत् खपत गर्ने उपकरण नचलाउनु भनेपछि मुख्य व्यवस्थापन त्यसपछि भयो । यसकारण पिक समयमा व्यवस्थापन भएपछि अरू समयमा व्यवस्थापन गर्न गाह्रो थिएन । त्यसपछि काठमाडौंमा लोडसेडिङ अन्त्य भयो र यसले प्राधिकरणलाई पनि लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्ने प्रतिबद्धतामा वृद्धि गरायो । त्यसपछि इन्भर्टरलगायतको चार्जका लागि हुने विद्युत् माग नै घट्यो । लोडसेडिङका बेला जति पिक डिमान्ड थियो, त्योभन्दा घट्यो ।

त्यतिबेला कति माग हुन्छ भन्ने प्रक्षेपण गरिएको थियो ?
१४ सय मेगावाट पुग्छ भनेर प्रक्षेपण गरेका थियौं । काठमाडौंमा मात्र ४ सय मेगावाट पुग्छ भन्ने अनुमान थियो ।

कसरी कसरी काठमाडौंको मागलाई व्यवस्थापन गर्न सक्छौं भन्ने थियो ? उत्पादनदेखि वितरणसम्मलाई कसरी अघि बढायौं ?
लोडसेडिङमा दुई/तीनवटा कुरा महत्वपूर्ण हुन्छन् । माग व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुन्छ । यसको व्यवस्थापन उपभोक्ताको मन नजितेसम्म हुँदै हुँदैन ।

लोडसेडिङ गरिरहेर त उपभोक्ताको मन जित्न सकिँदैन । विश्वास जित्नकै लागि लोडसेडिङ हुँदैन भनेर भन्यौं ।

त्यो अनुसार सफल पनि भयौं । विश्वास जित्दै गयौं । उहाँहरूले पनि सहयोग गर्दै जानुभयो । इन्भर्टरको लोड पनि घट्दै गयो । लोडसेडिङ अन्त्यका लागि माग व्यवस्थापनको कुरा मुख्य हो । यो बेलामा हामीले विद्युत् चुहावट घटाउने अभियान चलायौं । यसले पनि माग घटायो । यसका अतिरिक्त पनि धेरै कुरा छन् । अरू व्यवस्थापन भनेर आपूर्तिको व्यवस्थापन पनि हो । यसका प्राविधिक विज्ञता चाहियो । यसमा जेनेरेटरहरू कसरी दक्षतापूर्ण तरिकाले चलाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यो बेला धेरै ट्रान्सफर्मरहरू ओभरलोड थियो । सबस्टेसनहरू ओभरलोड थियो । फिडरहरू ओभरलोड थियो । यो सबै पत्ता लगाएर प्राविधिक रूपमा पनि अघि बढ्यौं । लोडसेडिङ अन्त्यका लागि एउटा प्राधिकरण भित्र समूह नै बनाएका थियौं । समूहले १२ बुँदे, यो–यो गर्यो भने घटाउन सकिन्छ भनेर योजना बनाएको थियो । प्राविधिक रूपमा समेत सबस्टेसनहरू र ट्रान्समिसन लाइनहरू स्तरोन्नति गर्येउ । रातारात हामीले ट्रान्समिसन लाइन पूरा गरेका थियौं । वितरण लाइनहरू र ट्रान्सफर्मरहरूको स्तरोन्नति गर्ने काम गर्येउ । त्योभन्दा अगाडि पनि ३ सय ४४ मेगावाट आयात त थियो । त्यो बेला २५/५० मेगावाट आयात थप्ने कुरा पनि गाह्रो थियो । कुन समयमा बढी र कुन समयमा घटी गर्ने र के गरेर पानी जोगाएर पिकमा व्यवस्थापन गर्ने भन्ने योजना थियो । कुलेखानी र कालीगण्डकीको पानी कसरी बढी सुरक्षित गरेर राख्ने भन्नेमा धेरै ध्यान दिएका थियौं । यी सबै प्राविधिक व्यवस्थापनमा लाग्यौं । उत्पादन, वितरण, प्रसारण र आयात व्यवस्थापनका लागि हामीले विशेष ध्यान दिएका थियौं । यो–यो गर्दा हुन्छ भनेर ठोस काम गर्नका लागि एउटा प्राविधिक समूह बनाएका थियौं । यो गर्दै जाँदा के भयो भने काठमाडौंमा त लोडसेडिङ अन्त्य भयो तर अरू ठाउँमा गर्नका लागि अघि बढ्यौं । पोखरामा गर्दा कस्तो प्रभाव पर्दो रहेछ भनेर हेर्येउ । त्यहाँ अन्त्य भयो । त्यसपछि काठमाडौंमा लोडसेडिङ अन्त्य गर्ने, तराईतिर १० घण्टा लोडसेडिङ गरेको भए, यहाँ आगो बल्थ्यो । तराईमा पनि एकदम न्यूनतम भयो । ३/४ घण्टा हुन्थ्यो । उनीहरूले थाहा नपाउने गरी लोडसेडिङ हुन्थ्यो । पिक टाइममा हामीले सकेसम्म लोडसेडिङ गरेनौं । रातिको समयमा गर्येउ । सुतिसकेपछि अर्थात् १० बजेपछि त ३/४ घण्टा गरे पनि फरक पर्दैनथ्यो । त्यो पानी कालीगण्डकीमा सुरक्षित हुन्थ्यौं । लोडसेडिङ गर्नुपर्ने ठाउँमा पनि थाहा नपाउने गरी गर्येउ । पिकभन्दा पनि अफ टाइममा गर्यो भने त्यसले सहयोग गर्छ भनेर हरेक कुराको व्यवस्थापन गर्येउ । त्यो बेला उद्योगलाई त भ्याउने कुरा थिएन । सबै उद्योगलाई त्यो बेला लोडसेडिङ गर्येउ । पिकको ३/४ घण्टा उद्योगलाई पूर्ण रूपमा गर्येउ । कुनैलाई पनि दिएनौं । पहिला के हुन्थ्यो भने कोही चल्थ्यो, कुनै चल्दैनथ्यो । यसमा मिसम्याच थियो । अरू समयमा त उद्योगलाई समान रूपमा दियौं । यसको कारण बिस्तारै लोड व्यवस्थापन हुँदै गयो । तर, यो कार्य गर्न सहज थिएन, अप्ठेरो थियो ।

लक्ष्मीपूजाको दिन सबैभन्दा बढी माग हुन्छ, त्यो दिन नै गर्दा अप्ठेरो हुन्छ भन्ने थिएन ?
सबै छलफलमा त सकिन्छ भन्ने थियो । केही गर्नुपर्यो भने तराईको ग्रामीण फिडरहरू काट्नुपर्छ भन्ने थियो । त्यस हिसाबले योजना बनाएका थियौं । काठमाडौंमा गर्दैनौं भन्ने पूर्ण कटिबद्धताका साथ हामी अघि बढेका थियौं ।

त्यो लक्ष्मीपूजाको दिन हामी बेलुका ६ देखि १० बजेसम्म भार प्रेषण केन्द्र (एलडीसी) मा मसहितको टिम नै बसेका थियौं । त्यसपछि काठमाडौंभरिका वितरण प्रणाली घुम्यौं ।

नो लाइटमा के–के गुनासा आयो, कहाँ–कहाँ के के भयो भनेर बुझ्यौं । पहिला–पहिला लक्ष्मीपूूजाको दिन नो लाइनमा यति धेरै गुनासा आउँथे कि उठाउन सक्ने अवस्था हुँदैनथ्यो । लक्ष्मीपूजाको दिन त सबैले झिलिमिली खोज्छन्, खास गुनासो आएन । एक/दुई ठाउँमा आएको थियो । महाराजगन्जतिरको एउटा ट्रान्सफर्मरमा फ्युज गयो भन्ने आएको थियो ।

लोडसेडिङ अन्त्य गर्ने दिन लक्ष्मीपूजा नै रोज्नुभयो, लोडसेडिङ र लक्ष्मीपूजाको के सम्बन्ध छ ?
लक्ष्मीपूजा भनेको झिलिमिलीको पर्व हो । तराईतिर छठमा हुन्छ । पहाडी भेगमा बढी लक्ष्मीपूजाको दिन झिलिमिली हुन्छ । दीपावलीमा त दीप बाल्नुपर्यो । पहिला त दीपावलीकै दिन दीप हुँदैनथ्यो । दीपावलीकै दिन बत्ती नहुँदा त समस्या थियो, सबै यस दिन बत्तीको झिलिमिलीमा रमाउन चाहन्छन् ।

पहिला–पहिला लक्ष्मीपूजाका दिन यस्तो यस्तो बढी विद्युत् खपत गर्ने उपकरण प्रयोग नगर्नुस् भन्ने सूचना दिने गरेका पनि थियौं तर गत बर्षदेखि दिन छोडिसकेका छौं ।

अब लक्ष्मीपूजामा अहिले ढुक्कसँग दीपावली गर्दा हुन्छ । यस वर्ष पूर्ण विश्वासका साथ विद्युत् प्राधिकरण आफैंले पनि दीपावली गरेर लक्ष्मीपूजा मनाउँदै छ ।

लोडसेडिङ अन्त्य हुनुअघिका १० वर्ष दीपावलीकै दिन उपभोक्ताले दीप पाएनन्, दीप पाएपछिको प्रतिक्रिया कस्तो पाउनुभयो ?
यस्ता प्रतिक्रिया आए कि जसले हामीलाई अघि बढ्न हौसला बढायो । सर्वसाधारणसँग इमोनसनल एट्याचमेन्ट भयो । यति राम्रो प्रतिक्रिया आए कि मलाई नै त्यो पढ्दा, सुन्दा चकित बनाउँथ्यो । यसले हामीलाई धेरै उत्साहित बनायो । म व्यक्तिगत रूपमा त उत्साहित भइहाले । जसले एलडीसीदेखि ठाउँ–ठाउँमा काम गर्ने पनि उत्साहित भए । नोलाइटमा रात–रातभर पोल चढेर काम गर्नुपर्छ । त्यो हामीले भनेर त हुँदैन, उनीहरू आफैं सक्रिय हुनुपर्छ । उनीहरू पनि उत्साहित भए । लोडसेडिङ अन्त्यले प्राधिकरणका सबै कर्मचारीमा उत्साह बढायो ।

हिजो त प्राधिकरणमा चोरैचोर छन् भन्ने थियो, प्राधिकरणको पोसाक लगाएर हिँड्न पनि गाह्रो थियो । प्राधिकरणले राम्रो गर्यो भनेपछि त सबैलाई उत्साह बढायो नि ।

यति धेरैको समर्थन पाउनु हाम्रो लागि ठूलो सम्पत्ति हो । मेरो व्यक्तिगत कुरा गर्ने हो भने पनि मैले जहाँ काम गरें, सर्वसाधारणको फाइदाका लागि गर्नुपर्छ भन्ने मुख्य कुरा रहन्छ । उनीहरूसँग राम्रो सम्बन्ध हुनुपर्छ भन्ने मलाई लाग्छ । चिलिमेमा बसेर पनि त्यही गरेको हुँ । चिलिमेबाट प्राधिकरण फर्कंदा एक महिना रसुवा बन्द नै भयो । त्यो बेला मलाई आन्दोलनका लागि गाई काटेर खुवायो, राँगा काटेर खुवायो भनेर पनि आरोप लगाइयो । मलाई त्यो आन्दोलनबारे थाहा पनि थिएन । लोडसेडिङ हटेपछि देशैभरिका जनताबाट प्रशंसा पाउँदा त यसले झन् धेरै काम गर्न उत्साह बढायो । यो उत्साह पैसाले प्राप्त गर्न सक्दैन । त्यसपछि निरन्तर रूपमा हामी लागेका छौं । म मात्र होइन, पूरै प्राधिकरणको समूह लागेको छ । एक/दुई महिनापछि रसुवाका केही साथीले भेट्दा उनीहरूले तपाईंको पक्षमा आन्दोलन गर्न धेरै आरोप लागेका थिए, हामीले गरेको आन्दोलन सही थियो भनेर तपार्इंले प्रमाणित गरेर देखाउनुभयो भनेर धेरै खुसी हुनुभएको थियो ।

आज दीपावलीको दिन हो, विद्युत्को माग कति पुग्छ भन्ने प्रक्षेपण छ ?
हाम्रो प्रक्षेपण १२७० मेगावाट छ । त्यो नपुग्न पनि सक्छ । केही घटी पनि हुन सक्छ ।

के पहिलाभन्दा माग घटेको हो ?
मेगावाटमा हेर्दा मात्र यस्तो देखिएको हो ।

इनर्जी डिमान्ड बढेको छ । पिक डिमान्ड घटेको छ । यही हो लोडसेडिङ व्यवस्थापन भनेको ।

मैले बारम्बार सार्वजनिक रूपमा लोडसेडिङ हुँदैन, हुँदैन भनिरहेको हुन्छु । यो कन्फिडेन्स बढाउन भनिएको हो । लोडसेडिङ हुँदैछ, भयो भन्ने हो भने पिक माग ह्वात्तै बढ्छ । भोलि पेट्रोल पाउँदैन भनेपछि अर्थात् १० दिनपछि पाउँदैन भनेपछि पनि ठूलो लाइन हुन्छ । विद्युत्को आपूर्ति पनि त्यही हो । दिनभरि लाइन काट्नुभयो भने बेलुका यस्तो पिक हुन्छ, काटेको काट्यै गर्नुपर्छ । यसले बहुप्रभाव ल्याउँछ । लोडसेडिङ अन्त्य भनेको उपभोक्तामा विश्वासको वातावरण बनाउनु पनि हो । लोड फ्याक्टर जति माथि गयो, हाम्रो सिस्टम फ्याट हुन्छ । लोड फ्याक्टर तल गयो भने पिक यसरी बढ्छ, अरू बेला स्वाट्टै घट्छ । त्यो त राम्रो होइन । दुई/तीन वर्षअघि लोड फ्याक्टर ५०/५२ प्रतिशत थियो । अहिले लोड फ्याक्टर ७५/८० प्रतिशत हुन्छ । यसको मतलब पिक घट्यो, अरू बढ्यो । इनर्जी दुई वर्षमा ५०/६० प्रतिशत बढेको छ, उपभोग बढ्यो तर पिक अझै घट्यो । यो भनेको त एकदम सिस्टम राम्रो हो । यही हो व्यवस्थापन । यो भनेको जनचेतनाको कुरा हो । यसमा माग व्यवस्थापन गर्नुपर्यो । माग व्यवस्थापन गर्न लिड बत्तीको ठूलो अभियान चल्यो । ल्याउन पाएको भए पिक त १ हजार मेगावाटमा ल्याउँथे । इनर्जी बढ्थ्यो तर पिक घट्थ्यो । तर, यसले लिड बत्तीको प्रचार गर्यो । अहिले चुहावट घटेको छ । दुई वर्षमा ६ प्रतिशत घट्यो ।

अहिले पनि धेरै जनता विद्युत्बाट वञ्चित छन्, अब सबै जनताले बिजुली पाएर देशै झिलिमिली हुने अवस्था कहिले आउँछ ?
ऊर्जामन्त्रीले श्वेतपत्रमा जनजनमा सेयर, घरघरमा बिजुली भन्ने घोषणा गर्नुभएको छ । हरेक व्यक्तिले बत्ती बाल्न पाउनुपर्यो । आज विहारले शतप्रतिशत विद्युतीकरण गर्दा हामीले गर्न नसक्ने भन्ने हुँदैन । जहाँ बिजुली पुगेको छ, त्यो लोडसेडिङ अन्त्यको कुरा गरेका छौं, जहाँ २४ घण्टा नै बिजुली पुगेको छैन, त्यो कुरा त भएको छैन । उनीहरूलाई पहुँच पुराउनुपर्यो नि । हामीले पाँच वर्षभित्र सबैलाई पुराउने भनेका छौं तर दुई/तीन वर्षभित्र गर्नुपर्छ भन्ने हो । यसको अभियान सञ्चालन गरेका छौं । अहिले ४१ लाख ग्राहक विद्युत् प्राधिकरणका ग्राहक छन् । यो ७० प्रतिशतजति हो । अहिले घरसंख्या ५९ लाख जति छ । झन्डै १९ लाख घरधुरीमा बिजुली बाँकी छ । उनीहरूलाई मिटर बाँड्नुपर्यो नि । अहिले महिनाको १ लाख मिटर गइरहेको छ । मिटर र लाइन भए त यति धेरै माग धेरै आइरहेको छ कि यो बढ्दो छ । बिहारले ६ महिनामा ३१ लाख मिटर बाँड्यो । हामीले पनि १८ लाख मिटर बाँड्नुपर्नेछ । भौगोलिक अवस्थाले पनि यो त गाह्रो छ ।

प्रत्येक वर्ष ५ देखि १० लाख मिटर बाँड्यो भने दुई/तीन वर्षभित्र सबैमा बत्ती पुराउन सक्छौं । अर्को सिस्टमलाई भरपर्दो बनाउनुपर्नेछ ।

फ्याट्ट–फ्याट्ट विद्युत् जान्छ । मैले लक्ष्मीपूजामा बत्ती जाँदैन भनेको छु, गयो भने मैले के गर्नु ? त्यो तार खसिदियो वा अरू केही बिग्रियो भने के गर्ने ? ट्रान्सफर्मर पड्किन सक्छ । प्राविधिक समस्याहरू त आइरहन्छन् । यसलाई भरपर्दो बनाउन हामी लागेका छौं । फेरि यहाँ कता–कताबाट डिस्टर्ब गर्न पाए हुन्थ्यो भनेर मान्छे पनि लागेका होलान् । यस्ता प्राविधिक समस्या आउन सक्छन्, यसलाई लोडसेडिङका रूपमा हेर्नु हुँदैन ।