कारोबार संवाददाता
बिहिवार, कार्तिक २९, २०७५
594

नेपाल परम्परागत कला र संस्कृतिमा मात्र नभई मौलिक हस्तकला उत्पादनमा पनि अग्रणी छ । यहाँका उत्पादन संसारमै पृथक् नमुनाका रूपमा स्वीकार गरिन्छ । खासगरी फेल्ट, धातुकला, पस्मिना, काष्ठकला, पेपर क्राफ्टलगायतका नेपाली उत्पादन विश्वमा निकै लोकप्रिय छन् । नेपाली उत्पादन अमेरिका, युरोप, जापान तथा क्यानडालगायतमा मुलुकमा लोकप्रिय मानिन्छन् । ती मुलुकबाट नेपाल आउने पर्यटकको रोजाइमा पनि हस्तकला सामग्री पर्ने गरेका छन् । तर, नेपाली हस्तकला अझै पनि आमउत्पादन (मास प्रडक्सन) को तहसम्म पुग्न सकेको भने छैन । यसका लागि न नीतिगत व्यवस्था हुन सकेको छ, न त लगानीका लागि प्रयास नै । त्यसैले मौलिक हस्तकला साँघुरो घेरामा सीमित छ । तर, मुलुकभित्र उपलब्ध साधनस्रोतको अवस्था हेर्दा यो अथाह सम्भावना भएको क्षेत्र हो भन्नेमा सन्देह छैन । शतप्रतिशतभन्दा बढी नै भ्यालु एड गर्न सकिने र अरूले सहजै नक्कलसमेत गर्न नसक्ने भएकाले पेटेन्ट राइटसमेत लिन सकिने भए पनि यसको प्रवद्र्धन भने प्रभावकारी रूपमा हुन सकेको पाइँदैन । त्यसो त सरकारले हस्तकला नीति नबनाउँदा व्यवसाय प्रवद्र्धन र उत्पादित सामग्री प्रचारमा समस्या हुने गरेको गुनासो व्यवसायीको छ । नेपाल हस्तकला महासंघले वार्षिक हस्तकला व्यापार मेला आयोजना गरेर प्रवद्र्धनात्मक काम गरिरहेको छ । त्यसो त हस्तकला व्यवसाय आफैंमा प्राविधिक कामसमेत हो । नेपालमा यो व्यवसायका लागि चाहिनेभन्दा निकै थोरै मात्रै जनशक्ति उपलब्ध भएकाले तालिमलगायत उत्पे्ररणाको खाँचो छ । अनौपचारिक तथ्यांकअनुुसार ११ लाखभन्दा बढीलाई रोजगारी दिइरहेको र अर्बौंको निकासी भइरहेको यस क्षेत्रमा सरकारको उपस्थिति र व्यवसायीको भूमिका तथा यसबाट मुलुकको सबैभन्दा ठूलो समस्याका रूपमा देखा परेको व्यापारघाटा न्यूनीकरणमा देखिएको समस्यालगायतका विषयमा प्रस्तुत छ सरोकारवालाहरूको धारणा :

सरकारले सुविधा दिए निर्यात दोब्बर बनाउन सकिन्छ
धर्मराज शाक्य
अध्यक्ष, नेपाल हस्तकला महासंघ
हस्तकलाको विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचानलाई उच्च बनाउन महासंघले बर्सेनि मेला आयोजना गर्दै आएको छ । हस्तकला र समृद्धिका सम्भावनाहरू भन्ने नाराका साथ गरिएको यो मेलाले स्वदेश तथा विदेशमा एकैसाथ नेपाली हस्तकलाका सामग्रीलाई चिनाउन सहयोग पुराउनेछ । हस्तकला क्षेत्रले निर्यात व्यापारका साथै गरिबी निवारणमा पनि ठूलो भूमिका खेलेको छ । गरिबीको रेखामुनि रहेको जनसंख्यालाई पनि यस क्षेत्रले समेटेको छ । अमेरिका, युरोपियन मुलुकहरू, चीन, भारतलगायत अन्य मुलुकहरूमा २५ भन्दा बढी विभिन्न प्रकारका हस्तकला वस्तुहरूको निर्यात भइरहेको छ । हस्तकला क्षेत्रमा झन्डै ११ लाख व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपबाट रोजगारी प्राप्त गरिरहेका छन् ।
मेलामा ४५ जिल्लाका २ सयवटा भन्दा बढी स्टल सहभागी छन् । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका २० वटा स्टल छन् । नेपालमा हस्तकलाको बजार करिब १० अर्बको छ भने सोही मात्रामा निर्यात हुने गरेको छ । पाँच दिनसम्म चल्ने प्रदर्शनीमा ७ वटै प्रदेशका उद्यमी व्यापारीसहित भारत, भुटान, चीन, बंगलादेश, पाकिस्तानलगायतका अन्तर्राष्ट्रिय व्यापारीको पनि सहभागिता रहने छ । प्रदर्शनीका अवसरमा बी टु बी मिटिङसमेत राखिएको छ । बी टु बी मिटिङमा भारत र चीनका आयातकर्ताहरूले सहभागिता रहनेछ । प्रदर्शनीमा ऊनी तथा सुती एवं ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरू साथै जडीबुटी, अर्थोडक्स चिया आदिको प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ । मेलामा झन्डै २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने तथा १० करोडभन्दा बढी कारोबार हुने महासंघको अनुमान छ ।
सरकारले हस्तकलाको विकासका लागि कुनै नीति ल्याउन सकेको छैन, जुन सबैभन्दा विडम्बनाको कुरा हो । यसले गर्दा गाउँ–गाउँमा रहेका सीप र उत्पादन प्रवद्र्धन हुन सकेको छैन । अर्कातर्फ नेपालमा विभिन्न जात–जाति छन् । उनीहरूको आफ्नै जातीय मौलिक हस्तकला छन् । तिनीहरूको सीप प्रवद्र्धन पनि उत्तिकै जरुरी छ । यस क्षेत्रमा लगानीको पनि समस्या छ । बैंक तथा वित्तीय संस्थाले उद्योग प्रवद्र्धन र रोजगारी सिर्जनामा लगानी कम गरेकाले सरकारले नीतिगत सम्बोधन गर्नुपर्ने आवश्यकता छ । पछिल्लो समय नेपाली उद्यमीलाई कच्चा पदार्थको निकै समस्या हुँदै गएकाले यसमा पनि ध्यान दिनु उत्तिकै आवश्यक छ ।

हस्तकलामार्फत व्यापारघाटा कम गराउन सकिन्छ
भवानी राणा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
हस्तकला नेपाललाई चिनाउने क्षेत्र हो । यसले नेपाललाई विश्वमा चिनाएको छ । नेपालको अर्थतन्त्रलाई चलाउने महत्वपूर्ण क्षेत्र पनि हो । नेपाल उद्योग वाणिज्य महासंघको सक्रिय सदस्यका रूपमा पनि हस्तकला क्षेत्र रहेको छ । नेपालको गरिबी निवारणमा ठूलो भूमिका खेलेको छ । त्यसैगरी राजगारी सिर्जनामा पनि हस्तकला क्षेत्रको उत्तिकै महत्व छ । विभिन्न जातिलाई पनि हस्तकलाले समेटेको छ । विभिन्न विपन्न वर्गलाई पनि हस्तकला क्षेत्रको योगदान महत्वपूर्ण छ । महिलाहरूको हकमा पनि हस्तकला क्षेत्रमा सहभागिता बढ्दो छ । महिला उद्यमी महासंघमा पनि झन्डै ७५ प्रतिशत महिला हस्तकला क्षेत्रको हुनुहुन्छ । यो क्षेत्रले सरकारले चाहेको इन्क्लुसिभ विकासमा सघाउ पुराएको छ ।
नेपाली हस्तकला विश्वमा निकै चर्चित छ । यसको उदाहरण ललितपुर विश्व कला सहरमा घोषणा भएको छ । यो समग्र हस्तकला क्षेत्रका लागि गर्व गर्न लायक कुरा हो । देश अहिले आर्थिक समृद्धितर्फ अगाडि बढेको छ । अहिलेको ठूलो चुनौती भनेको व्यापारघाटा हो । यसलाई सम्बोधन गरिनुपर्छ । ०३१/३२ मा कुल गार्हस्थ्य उत्पादनको झन्डै ४९ प्रतिशत निर्यात हुन्थ्यो भने २०५० सालमा आउँदा ३० प्रतिशत र ०७३/७४ कुल गार्हस्थ्य उत्पादनको २.८ प्रतिशत मात्रै निर्यात भएको अवस्था छ । यो निजी क्षेत्र र सरकार दुवैका लागि डरलाग्दो अवस्था हो । व्यापारघाटा कम गर्न हस्तकला क्षेत्रको योगदान बढाउन सकिन्छ । यसमा सरकारको ध्यान जानुपर्छ ।

वार्षिक ५ लाखलाई रोजगारी दिन सकिन्छ
कृष्णप्रसाद अधिकारी
उपाध्यक्ष
नेपाल उद्योग परिसंघ
अर्थमन्त्रीले बजेटमा प्रतिवर्ष ५ लाख व्यक्तिलाई रोजगारी सिर्जना गर्ने, वैदेशिक रोजगारीमा जानेलाई कम गर्ने र विदेश जाने प्रवृत्तिलाई छिटै अन्त्य गर्ने तथा उद्योग र उत्पादन क्षेत्रमा राष्ट्रिय उत्पादन वृद्धि गर्छ भनेर बजेटमार्फत सम्बोधन गर्नुभएको छ । हस्तकलाको क्षेत्रमा प्रतिवर्ष ४ देखि ५ लाख व्यक्तिलाई रोजगार बनाउँछौं भनेर हामीले प्रतिबद्धता जनाएका छौं । हस्तकला क्षेत्रले अहिले ११ लाखलाई रोजगारी उपलब्ध गराएको र झन्डै १५ अर्ब राष्ट्रिय उत्पादनमा योगदान दिएको छ । नेपालको संस्कृति संसारभरि चिनाउन सफल भएका छौं ।
नेपालको कलात्मक संस्कृतिलाई संसारभर बेच्न सफल भएका छौं । यस क्षेत्रलाई नीतिगत रूपमा स्थापित र प्रवद्र्धन गर्नुपर्ने खाँचो छ । यस व्यवसायलाई नीतिगत रूपमा प्रवद्र्धन गरेर स्थापित गर्नु आवश्यक देखिन्छ । नेपाल उद्योग परिसंघको प्रबुद्ध समूहले कसरी आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ र आर्थिक समृद्धि प्राप्त गर्न कानुन कहाँ–कहाँ बाधक छन् भनेर सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ । राज्यले हस्तकलाको क्षेत्रमा लगानी ग¥यो भने वर्षमा ५ लाख मानिसलाई सजिलै रोजगारी उपलब्ध गराउन सकिन्छ । यसलाई विस्तार गर्दै गयो भने १५ अर्ब रहेको करोबार बढाएर २४ देखि २५ अर्ब पुराउन सकिन्छ, जसका कारण पनि हस्तकलाको क्षेत्रलार्ई व्यवस्थित गर्नका लागि उद्योग मन्त्रायलले नीतिगत रूपमा पहल गर्नुपर्ने हुन्छ ।
कच्चापदार्थ आयातका लागि छुट र हस्तकलाका सामान निर्यातका लागि प्रोत्साहन दिइनुपर्छ । यस क्षेत्रमा दुःखको कुरा के छ भनेर हिजोदेखि लागिरहेका व्यक्तिका दोस्रो पुस्ताले यो व्यवसायलाई ग्रहण गर्न सकेका छैनन् । अन्तर्राष्ट्रिय श्रम बजारमा जान तयार छन्, तर यस क्षेत्रमा काम गर्नका लागि कोही पनि तयार छैन, जसको कारणले गर्दा पनि निःशुल्क हस्तकलाका सीप प्रत्येक स्थानीय तवरबाट तालिम दिएर समायोजित गर्न सके दुई वर्षपछि ५ लाख जनालाई यही क्षेत्रबाट रोजगारी दिन सक्छौं ।

हस्तकलामार्फत निर्यात प्रवद्र्धन सकिन्छ
राजेन्द्र मल्ल
कार्यवाहक अध्यक्ष
नेपाल चेम्बर अफ कमर्स
हस्तकला व्यवसाय प्रवद्र्धन गर्न के–कस्तो सुविधा चाहिन्छ भन्ने कुरा सरकार–निजी क्षेत्र मिलेर राम्रो खाका तयार गर्नुपर्छ । मुलुकमा आयात बढिरहेका बेला हस्तकलाका सामानको निर्यात प्रवद्र्धन गरेर आयातलाई प्रतिस्थापन गर्न सकिन्छ । निर्यात प्रवद्र्धन कसरी गर्न सकिन्छ भनेर सरकार र निजी क्षेत्र मिलेर लाग्यो भने राम्रो बाटो लिन सक्छ । निर्यातमा ५ प्रतिशत सहुलियतका साथै कुनै पर्यटक नेपालमा आएर कुनै सामान खरिद गर्छ ऊ फर्कंदाखेरि उसले लिएको बिलबिजक विमानस्थलमा प्रस्तुत ग¥यो भनेर ५ प्रतिशत छुट दिन सके पर्यटन पनि बढ्ने र व्यवसाय पनि बढ्ने देखिन्छ ।
निर्यात प्रवद्र्धनका लागि आन्तरिक सम्बन्ध भएको कृषि, वन अन्य क्षेत्रमा स्वदेशमा कसरी कच्चा उत्पादन र प्रवद्र्धन गर्ने भनेर लाग्नुपर्छ । देशमा डाक्टर, इन्जिनियर मात्र नभएर हस्तकलाको क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन गर्नतर्फ लाग्नुपर्छ । यस क्षेत्रमा धेरै रोजगारीको सम्भावना भएकाले यस क्षेत्रको प्रवद्र्धन र विस्तारमा सरकारले विशेष ध्यान दिइनुपर्छ ।

ललितपुरलाई हस्तकलाको सहर बनाउँछौं
चिरिबाबु महर्जन
मेयर
ललितपुर महानगरपालिका
हस्तकला हाम्रो परम्परागत मौलिक संस्कृति भएकाले यसको विकास र प्रवद्र्धनका लागि महानगरपालिकाले यसलाई प्राथमिकतामा राखेको छ । मैले चुनावका बेला भोट माग्दा नै ललितपुर महानगरपालिकालाई हस्तकलाको सहर घोषणा गछौं भनेको थिएँ । यसलाई कसरी विस्तार गर्न सकिन्छ भनेर महासंघ र हामीले गहन रूपमा छलफल गरिरहेका थियौं । हस्तकला हाम्रो मौलिक संस्कृति भएकाले यसलाई प्रवद्र्धन विस्तारमा महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै छ । यसलाई कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका छौं । ललितपुर महानगरलाई हस्तकला सहर बनाउनका लागि सहकार्य गर्न तयार छौं ।
हामी राजनीतिकर्मीलाई हस्तकलाका बारेमा केही थाहा छैन, तपार्इंले हामीलाई सिकाउनुपर्छ । यसको विकासका लागि हामी सहयोग गर्न तयार छौं । ललितपुर महानगरपालिकामा १० जना मान्छे भेटेपछि त्यसमा चार जना प्रत्यक्ष रूपमा यस क्षेत्रमा आबद्ध रहेका हुन्छन् । हस्तकलासम्बन्धी काममा निरन्तर रूपमा लाग्न महानगरपालिका तयार छ । बुधबार सुरु भएको हस्तकला मेलामा राखिएका ६० देखि ७० प्रतिशत ललितपुर महानगरपालिका छन् । यसले गर्दा पनि हामीलाई धेरै खुसी बनाएको छ । नेपाल सरकारका तर्फबाट पैसा लिएर पाटनमा तीन–चारवटा योजना छन् । ती सबै खत्तम छन् । बुङमतिको रातो मछिन्द्रनाथको मन्द्रिर बनाउने ठेकदार नराम्रो परेकाले अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । जगतनारायण मन्दिर भूकम्पले भत्काएको थियो । राम्रो ठेकदार नपरेकाले काम अगाडि बढ्न सकेको छैन । सम्पदा निर्माणको काममा समुदायलाई सहभागी गराउन टेन्डर नगराऊ । धेरै जनालाई मैले भनेको छु, तर कसैले पनि सुनेका छैन । ललितपुर जिल्लामा धेरै हस्तकला व्यवसाय रहेकाले यसलाई विस्तार गर्नका लागि लागिपर्नेछु । यस क्षेत्रबाट धेरैले रोजगारी सिर्जना गर्ने भएकाले पनि यसलाई विस्तार गर्न अति आवश्यक छ ।