केदार दाहाल
बिहिवार, असार ७, २०७५
1532

नेपालको पर्यटनको मुख्य पूर्वाधार होटल हो । पछिल्लो समय होटल क्षेत्रमा अर्बौं लगानी आइरहेको छ । केही वर्षमा दर्जनौ पाँचतारे होटल थपिँदै छन् भने सयौंको संख्यामा पर्यटक स्तरका होटलहरू खुल्ने क्रम बढेको छ । केही समयअगाडि मात्रै होटल क्षेत्रमा मजदुर र होटल सञ्चालकबीच देखिएको सेवा–शुल्क विवाद समाधान भएको छ । नेपालको पर्यटन विकास हुन नसक्नुमा सरकार नै मुख्य दोषी रहेको बताउने होटल संघ नेपालका अध्यक्ष अम्मरमान शाक्य पूर्वाधार विकासबिना पर्यटक वृद्धि गराउन असम्भव भएको बताउँछन् । नेपालमा कृषि नभएर पर्यटनको विकासमा जोड दिनुपर्नेमा उनको जोड छ । एक जना पर्यटक नेपाल आउँदा १५ जनाले प्रत्यक्ष रोजगारी पाउने क्षेत्रमा सरकारले उचित ध्यान नदिनु विडम्बना भएको बताउने शाक्य धीमा गतिमा पूर्वाधारको विकासले पर्यटक अन्यत्र जाने तर्क गर्छन् ।
पर्यटन क्षेत्रको पूर्वाधारमा लगानी हुन नसक्नाले नै पर्यटक आगमन दर बढ्न नसकेको बताउने शाक्य राजनीतिक स्थिरतासँगै अब बन्ने सरकारले पूर्वाधारमा लगानीमा जोड दिनुपर्ने बताउँछन् । प्रस्तुत छ, नेपालमा पर्यटन क्षेत्रको विकासमा अब निजी र सरकारी क्षेत्र मिलेर काम गर्न आर्थिक समृद्धि नै पर्यटनबाट सम्भव भएको बताउने शाक्यसँग कारोबारका लागि केदार दाहालले गरेको कुराकानीको सार :
सेवाग्राहीलाई मार पार्ने सेवाशुल्क खारेज गर्नुपर्ने समयमा पुनः सम्झौता नै गर्नुपर्ने के कारण आयो ?
सन् २००६ देखि तत्कालीन माओवादीको द्वन्द्व चर्किएको थियो । होटलहरूको आम्दानी माथि उक्सिन सकेको थिएन । तलब बढाउनै पर्ने अवस्थासमेत थियो । सो समयमा माथि उठ्न नसक्दा कति ठूला होटल बन्द गर्नुपर्ने अवस्थासमेत आएको थियो । उक्त समयमा तलब बढाउन हामीले नसक्ने भएपछि १० प्रतिशत सेवाशुल्कमार्फत समाधान गरिएको थियो । सो समयमा भारतलगायत छिमेकी मुलुकहरूमा समेत सेवाशुल्क लगाइएको थियो । नेपालमा पनि सो समयदेखि हालसम्म सेवाशुल्क कायमै छ । उक्त समयमा ६८ प्रतिशत मजदुरलाई, ३० प्रतिशत होटललाई र २ प्रतिशत होटल एसोसिएसनलाई दिइने गरी सेवाशुल्क वितरणको प्रक्रिया सुरु गरिएको थियो । उक्त सहमतिपछि होटल तथा रेस्टुराँ क्षेत्रमा मजदुरका समस्या समाधान भएका थिए । कुनै पनि अवरोधका गतिविधि सञ्चालन समेत भएका छैनन् । सहमतिमा सेवाशुल्क पाइसकेपछि मजदुर उपदान, ग्रेडलगायत सुविधा माग्न नपाउने व्यवस्था कायम गरिएको थियो । तर उक्त विषय कार्यान्वयन भने हुन सकेन । भारतलगायत सबै ठाउँमा सेवाशुल्क खारेज भइसकेका छन्, तर अहिले नेपालमा १२ वर्षपछि आएर पुनः सेवाशुल्कको विषयलाई विवादमा तनिएको थियो । मजदुरहरूले सेवाशुल्क सबै चाहिन्छ भनेर आन्दोलन गर्ने तयारी गरेका थिए । द्वन्द्वकालमा ठूला होटलहरू बन्द हुन पुगेका थिए । सेवाशुल्क भनेपछि काम गरेबापत मात्रै पाउनुपर्नेमा घर बस्नेहरूले पनि समूहमा लिन थाले । अहिले तीनवटा ट्रेड युनियनसँग मिलेर पुनः सम्झौता गरेका छौं । यसमा अहिले नयाँ आएको श्रम ऐनमै अनिवार्य सेवाशुल्क राखिएकाले पनि यसपटक सम्झौता गर्न आवश्यक परेको हो ।

सेवाशुल्क काम गर्ने मजदुरलाई दिने कि युनियनलाई ?
यो तीनवटा अधिकारप्राप्त युनियनका संस्थाहरूलाई सोही आउने प्रतिशतको ३ प्रतिशत दिन लागिएको हो । हानलाई २ प्रतिशत र २३ प्रतिशत होटललाई हो । मजदुरलाई पाउनेबाट काटेर दिन लागिएको नभएर होटलले पाउनेबाट ७ प्रतिशत काटेर दिन लागिएको हो । यो दिँदा अब युनियनहरूले कुनै पनि होटलहरूमा उप्रान्त रसिद लिएर चन्दा लिन पाउनेछैनन् भने उक्त रकम मजदुरको वृद्धि विकासमा लगाउने हो ।

यसले उपभोक्तालाई मार त पर्यो नि ?
यो उपभोक्ता अधिकारको हिसाबले त पूरै गलत हो । तर, लगानीमैत्री वातावरणका हिसाबले चाहिँ सकारात्मक हो । यही सेवाशुल्ककै कारण पछिल्ला वर्षहरूमा होटल क्षेत्रमा मजदुर आन्दोलन, हड्ताल हुन पाएका छैनन् । अब कुरा के हो उपभोक्ताहरूले टिप्स दिनु पर्दैन । अर्को कुरा, सेवाको गुणस्तरमा भने कहींकतै सम्झौता हुदैन ।

अब नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर भिजिट नेपाल, २०२० मनाउने भनिएको छ, तर यहाँ पूर्वाधार नै नभएपछि कसरी पर्यटक आउँछन् ?

धेरै लामो प्रतीक्षापछि १० लाख हाराहारी पर्यटक नेपाल भित्रिए, चालू वर्षको आगमन कस्तो छ ?
हाम्रो सन् २०११ को लक्ष्य बल्ल सन् २०१८ मा आएर पूरा भएको छ । यो खुसीको कुरा हो । यी पर्यटकहरू पनि सबै होटलमा बस्दैनन् । सरकारले तथ्यांक निकालेको छ । यहाँ स्टप, खाली खुट्टा आउने सबै गनेर पुराइएको छ । तर, सन् २०१७ मा होटलहरूको मुख्य सिजनमा पनि ५५ प्रतिशत मात्रै अकुपेन्सी रहेको थियो । यसले के देखाउँछ भने संख्यामा पुगे पनि रोजगारी तथा मुलुकको आम्दानीका हिसाबले बढ्न सकेको छैन । अब नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर भिजिट नेपाल, २०२० मनाउने भनिएको छ, तर यहाँ पूर्वाधार नै नभएपछि कसरी पर्यटक आउँछन् ? विमानस्थल, सडक पूर्वाधार चुस्त र दुरुस्त हुन आवश्यक छ ।

पूर्वाधार खडा गर्न सके २० लाख हैन, १ करोड पर्यटक नेपाल ल्याउन सकिन्छ ।

सरकारले सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ नि ?
नेपालमा अब कृषि हैन, पर्यटन हो । यसमा लक्ष्य भन्ने कुरा राखेपछि पूरा हुन्छ । नेपाल अनेक अस्थिरताबाट अगाडि बढ्दै छ एकातर्फ भने अर्कातिर सबैले पर्यटन क्षेत्रलाई चासो दिइरहेको अवस्था पनि छ । सन् २०११ मा नेपाल पर्यटन वर्ष भन्दै १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो, जुन पूरा हुने तर्खरमा बल्ल आएको छ । तर, सन् २०११ पछिको नेपालको अवस्था र अहिलेको अवस्थामा धेरै सुधार भएका छन् । पर्यटनमा निजी क्षेत्रले धेरै पूर्वाधार खडा गरेको अवस्था छ । लक्ष्यमा पुराउन अहिले सन् २०१७ को वृद्धिदर जारी रहेमा सजिलै २०३० मा ५० लाख पर्यटक नेपाल आउनेछन्, तर त्यसका लागि निजी क्षेत्र र सरकारले गर्नुपर्ने केही काम छन् । सरकारले विमानस्थल तथा सडक निर्माणमा जोड दिँदैै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु आवस्यक छ भने निजी क्षेत्रले जुन अहिले होटल क्षेत्रमा लगानी गरिरहेका छन्, यसले निरन्तरता दिनु जरुरी छ । यसरी अगाडि बढ्न सके ५० लाख पर्यटक नेपालमा सजिलै भित्रिनेछन् । मुख्य कुरा पूर्वाधार नै हो । अहिलेकै अवस्थामा कसरी आउँछन् ५० लाख पर्यटक ? एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल, त्यसमा पनि साँघुरो अवस्थामा रहेको छ । तत्काल भैरहवा, निजगढको विमानस्थल निर्माण सम्पन्न गर्नु आवश्यक छ ।

सन् २०११ पछिको नेपालको अवस्था र अहिलेको अवस्थामा धेरै सुधार भएका छन् । पर्यटनमा निजी क्षेत्रले धेरै पूर्वाधार खडा गरेको अवस्था छ ।

अहिलेकै गतिले पर्यटक ५० लाख पुराउन सकिन्छ ?
सकिँदैन, पहिलो कुरा पूर्वाधार निर्माणमा वर्षौं लगाउने परिपाटी नै गलत छ । अन्य मुलुकहरू एक महिनामा कति धेरै पूर्वाधार खडा गर्छन् । यहाँ त काम भएको वर्षौंसम्म पनि आयोजना सम्पन्न हुन सक्दैन । नेपालाई वार्षिक ५० लाख पर्यटक आवश्यक छ । निजी क्षेत्रले होटल र अन्य संरचनामा अर्बौ लगानी गरिरहेका छन्, तर सरकारको एक दुई स्थानमा भएको लगानी पनि धिमे गतिमा रहेको छन् । अहिले होटलहरूको २४ लाख पर्यटक धान्न सक्ने पूर्वाधार तयार भएका छन् । पर्यटक नआउने हो भने सबै लगानी डुब्नेछन् । होटल डुब्नु भनेको बैंक डुब्ने हो र बैंक डुब्नु भनेको जनताको पैसा डुब्ने हो । यसमा सरकारले बेलैमा सोच्नु जरुरी छ । अब १८ वटा पाँचतारे होटल नै आउँदै छन् ।

सन् २०११ पछिको नेपालको अवस्था र अहिलेको अवस्थामा धेरै सुधार भएका छन् । पर्यटनमा निजी क्षेत्रले धेरै पूर्वाधार खडा गरेको अवस्था छ ।

भनेपछि होटलको लगानी जोखिममा पर्ने खतरा आएको हो ?
नेपाल सरकारले सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरेपछि आएको परिणाम हो यो सबै । किनभने पर्यटन वर्षको समयमा ५ लाख पर्यटक बढेर ८ लाख भयो । सबैमा आकांक्षा बढ्यो । पर्यटनले राम्रो गर्ने रहेछ भन्ने भयो । पहिले बैंकहरू पर्यटन क्षेत्रमा लगानी गर्दैनथे, त्यसपछि बैंकहरूले पर्यटनमा लगानी केन्द्रित गरे । पर्यटक संख्या बढेपछि लगानीकर्ताहरू बढेर गए । लगानीकर्ता पनि नयाँ किसिमका छन् । सन् २०११ पछि भने बैंकबाट कर्जा लिएर लगानी गर्ने परम्पराको विकास भएको छ । नयाँ–नयाँ युवा समूह पर्यटनमा लगानी गर्न आएका छन् । लोन लियो, सुरु ग¥यो । तर, भूकम्प गएर केही असर परेको छ । यो लगानी आउनु सकारात्मक हो । अब पर्यटक भित्र्याउनुपर्ने आवश्यकता छ । अब चिन्ता लगानीकर्ता मात्र होइन; बैंक, सरकार सबै चिन्तित हुनुपर्यो । अहिले ठूला घरानाहरू पनि लगानीकर्ता भएर पर्यटनमा आएका छन् । बैंक डुब्दा सर्वसाधारणको पैसा पनि डुब्ने भएकाले यसमा सरकारदेखि आममानिसले यसतर्फ सोच्नुपर्छ, त्यसपछि पर्यटक आगमन बढ्नेछ । पर्यटक आगमन बढ्यो भने लगानीकर्ता पनि सुरक्षित हुनेछन्, जसबाट रोजगारी सिर्जना, राज्यको आम्दानी सबैमा एकसाथ प्रभाव पर्नेछ ।

नयाँ स्थानमा लगानी गर्न जान खै सुविधा ? तपाईंहरू त्यहाँ लगानी गर्न जाँदा यो सुविधा पाइन्छ भनेर खै भन्न सकेको ?

पर्यटन सुरु भएको यति समयसम्म पनि हामीले गन्तव्य विस्तार गर्न नसक्नुको कारण के हो ? मुख्य दोषी को हो ?
यसमा सरकार नै दोषी हो । नयाँ स्थानमा लगानी गर्न जान खै सुविधा ? तपाईंहरू त्यहाँ लगानी गर्न जाँदा यो सुविधा पाइन्छ भनेर खै भन्न सकेको ? अहिले पनि जग्गा किनेर होटलमा लगानी गर्न सक्ने अवस्था छैन । यति धेरै सरकारी जग्गा छन् । अहिले चलेको भाउमा लिजमा दिनु आवश्यक छ भने सरकारले पूर्वाधार खडा गर्नु आवश्यक छ । त्यसपछि मात्रै निजी क्षेत्र लगानी गर्न तयार हुनेछन् ।

पछिल्लो समय रारा, बर्दिया, मुस्ताङलगायतका ठाउँमा पर्यटकको संख्या अत्यधिक वृद्धि हुन थालेको छ ।

तर पछिल्लो समय रारा, बर्दिया, मुस्ताङलगायतका ठाउँमा पर्यटकको संख्या अत्यधिक वृद्धि हुन थालेको छ । अब स्थानीय तथा प्रदेश सरकार तयार भएका छन् । देश संघीयतामा गएको छ । अब आशा गरौं, देशमा नयाँ पूर्वाधारसँगै नयाँ गन्तव्यहरूको विकास हुने छ ।

अबको हाम्रो पर्यटन बजार छिमेकी देश कि अन्य ?
भिजन योजना भनेकै यसकै लागि आवश्यक छ । त्यसैले त पहिले लक्ष्य राख्ने र लक्ष्यलाई कसरी पूरा गर्ने भन्ने योजना चाहिन्छ । भारतीय पर्यटक नेपालमा जति आउनुपर्ने हो, आउन सकेको अवस्था छैन । अब हामीले नयाँ मन्त्री आएपछि भारतीय ठूला सहरमा प्रवद्र्धनका कार्यक्रम राख्नका लागि सुझाव दिएका छौं, जसबाट भारतीय पर्यटको वृद्धि हुन्छ भन्ने हाम्रो बुझाइ छ ।
अबको हाम्रो मुख्य ध्यान भनेको बुद्धिष्ट पर्यटक कसरी नेपाल ल्याउने भन्नेमा जानुपर्छ । विश्वका धेरै बुद्धिष्ट नेपाल आउन चाहन्छन् । त्यसैले उनीहरूलाई ल्याउने कार्यक्रम र नेपालमा पूर्वाधार आवश्यक पर्छ । नेपालमा थाइल्यान्ड, म्यानमार, चीन, कम्बोडियाका पर्यटक आकर्षित गर्नसक्ने बुद्ध जन्मस्थल छ । विश्वमा २४ प्रतिशत जनसंख्या बुद्धिष्ट छन् । यसका लागि चीन ठूला सहरमा हाम्रो सिधा उडान हुन आवश्यक छ । त्यस्तैगरी भारतबाट हिन्दूहरूलाई ठूलो संख्यामा नेपाल ल्याउन सकिन्छ । भारतका मुख्य सहरमा हामीले सीधा उडान गर्नु आवश्यक छ । अहिलेको पर्यटक बजार भनेको एसिया नै हो । हाम्रा युरोपेली र अमेरिकी पर्यटक भनेका सदावहार हुन्, जुन नेपालको हिमाल हेर्न आउने गर्छन् ।

नेपालको पर्यटन प्रवद्र्धनको यही शैलीले कसरी ५० औं लाख पर्यटक ल्याउन सकिन्छ ?
अहिले पनि ब्रोसर बोकेर बाँडेर पर्यटक नेपाल आउने छैनन । मलाई त के लाग्छ भने अवश्य पनि नेपालको बजारीकरण गर्ने शैली पुरानै छ । पहिले बी टु बी मार्केटिङ गर्न हामीहरू डब्लूटीएम, बर्लिन जाने गरेका थियौं । हामी अहिले पनि सोही विधि अपनाउने काम गरिरहेका छौं । त्यतिबेला त्यहाँको बिजनेस म्यानसँग पर्यटक पठाइदियौं भन्न जाने गरेका थियौं, तर अब गह्रो छ । नेपाल पर्यटन बोर्डले पनि सन्तुलित हिसाबले मार्केटिङ गर्दैन भन्ने गुनासो छ । अर्को कुरा के हो भने अहिले सब अनलाइनमार्फत हुन थाले । कोही पनि कसैले यहाँ घुम्न जा भनेर नजाने भइसके । अहिले आफै गन्तव्य खोज्छ, आफैं बुकिङ गर्छ र घुम्न निस्कन्छ । पहिले विदेशबाट पत्रकार ल्याएर लेख्न लाउनुपर्ने अवस्था थियो । तर, अहिले मानिसले पत्याउँदैनन् । हामीले राम्रो प्रोडक्ट दिने हो । अन्य कुरा सबै हुन्छ । अबचाहिँ पर्यटक बढ्ने र घट्नेमा पर्यटन व्यवसायी आफैं जिम्मेवार हुनुपर्छ ।

नेपालको अर्थतन्त्र पर्यटनमै निर्भर हुने समय कहिले आउँछ । यसका लागि निजी क्षेत्र र सरकारले गर्नुपर्ने के ?
अहिले पर्यटनको जीडीपीमा योगदान हेर्ने हो भने थोरै छ । अनि आलोचना गर्नेहरूले ठाउँ पाउँछन् । कुनै जमानामा कुल गार्हस्थ्य उत्पादनमा १२ प्रतिशत योगदान थियो । कारण के छ भने पर्यटनबाट कमाउने हो भने होटल मात्र बनाएर हुँदैन । त्यो समयमा नेपाल वायुसेवा निगमले ६० प्रतिशत पर्यटक बोक्ने गरेको थियो, अहिले सबै अन्य एयरलाइन्सले बोकेका छन् । ६० प्रतिशत पर्यटकको पैसा निगमले लिने गरेको थियो । अहिले अन्य एयरलाइन्सले लगेका छन् । पर्यटकले १ सय डलर खर्च गर्दा ६० डलर एयरलाइन्समा खर्च गर्ने गर्छ । बाँकी ४० डलर ट्राभल र होटलले लिने हुन् । दोस्रो कुरा, भारतको पैसा आम्दानीमा जोडिएको छैन, अहिले पनि पर्यटनको आम्दानी भनेको डलरलाई मात्र मानिएको छ । स्वदेशी र भारुलाई मानिएको छैन । यो पनि जोडिनुपर्छ । नेपालले पर्यटनले फाइदा लिने हो भने जहाज दिनुपर्यो । जहाज नै नदिएर व्यवस्थापन भएन भनेर कन्ट्रोल गर्न भएन । निगमलाई पहिले बलियो बनाउनु आवश्यक छ । भारतीय पैसाको पनि हिसाब गर्नु आवश्यक छ । अर्को कुरा, भर्जिन एरियामा जानु आवश्यक छ ।

पहिले जोमसोमका होटलमा विदेशीलाई मात्र राखिन्थ्यो, अहिले नेपालीलाई स्वागत गर्छन् । नेपालको पर्यटन अहिले स्वदेशीले धानेका छन् ।

अनि व्यवसायीलाई समस्या भयो भनेर पीपीपी मोडलमा नेपाल पर्यटन बोर्ड गठन गरिएको थियो नि ?
हो, नेपाल पर्यटन बोर्ड बनाउनमा हानको ठूलो परिश्रम रहेको छ, तर सोचेजस्तो काम गर्न सकेको छैन । त्यहाँ पनि राजनीति हाबी भएको छ । बोर्डले जुन प्रवद्र्धन गर्नुपर्ने हो, त्यसमा खर्च गर्न सकेको छैन । मठमन्दिर बनाउनमा बोर्ड बहकिएको छ । चीन र भारतमा जुन हिसाबले प्रवद्र्धन गर्नुपर्ने हो, त्यो हुन सकेको छैन ।

नेपालमा गुणस्तरको पनि कुरा आउँछ । हाम्रो केन्द्रित गुणस्तरमा हो कि संख्यामा हो ?
हैन, नेपालमा जहिले पनि गुणस्तर भर्सेस संख्या हुने गरेको छ । कुरा के छ भने हामीले कस्तो किसिमको अर्थनीति अपनाएका छौं भन्ने कुरामा निर्भर हुने गर्छ । हामी भुटानको जस्तो कन्ट्रोल इकोनोमीमा छैनौं । हामी त खुला बजार अर्थनीतिमा गइसकेका छौं । कि हामीले पनि भन्नपर्यो— कन्ट्रोल इकोनोमी हो भनेर, हामी खुला बजारमा गइसकेपछि बजारले निर्धारण गर्ने हो सबै कुरा । नेपालमा पाँचतारे होटल पनि छ र ननतारे पनि होटल छ, अब हामीले पाँचतारेको मात्र कुरा गर्न मिल्छ ? खोल्ने बेलामा सबै खोल भनेर अनुमती दिने, अहिले पाँचतारे मात्र रेटमा बिक्री गर्नुपर्छ भनेर हुन्छ र ? हामीले निर्णय गरिसकेका छौं— पाँचतारेलाई पनि पर्यटक ल्याउने, अन्य ननस्टारले पनि पर्यटक ल्याउने भनेर । त्यसैले अब हामी संख्यामा जानुको विकल्प छैन । होटल संख्या बढाउने, पर्यटक पनि बढाउने, अर्को विकल्प छैन । सबै कुरा बजारले निर्धारण गर्छ । सन् २००४ मा पाँचतारे होटलहरूले ३० डलरमा रुम बेचेका थिए । सन् २०११ पछि बढेर अहिले ९० पुगेको छ । त्यसैले सबै कुरा बजारलाई छोड्ने हो ।