कारोबार संवाददाता
बिहिवार, आश्विन ४, २०७५
469

सूर्य ईन्टरनेशनल अवार्ड २०१८ सम्पन्न भएको छ । जापानको टोकियोमा अवस्थित नाकानो जिरो हलमा अवार्ड समारोह सम्पन्न भएको हो ।
१२ विधा र मास पपुलर ४ विधामा दिइएको अवार्डमा उत्कृष्ट फिल्म म यस्तो गीत गाउँछु र उत्कृष्ट नायक पल शाह र नायिका पूजा शर्मा भएका छन् । दर्शकले दिएको भोटको आधारमा दिइएको अवार्डमा पल र पूजा दुवै फिल्म म यस्तो गीत गाउँछुबाट उत्कृष्ट भएका हुन् । यस्तै उत्कृष्ट निर्देशक फिल्म म यस्तो गीत गाउँछु बाट नै सुदर्शन थापाले अवार्ड उचालेका छन् । अन्य विधाहरुमा उत्कृष्ट सपोर्टिङ पुरुषतर्फ प्रशान्त ताम्राकार र महिलातर्फ वर्षा राउत घोषित भएका छन् । आयोजकले भोटिङको आधारमा बाहेक आयोजकले मास पपुलरको आधारमा ४ वटा अवार्ड वितरण गरिएको छ । गत वर्ष प्रदर्शनमा आएका फिल्महरुबाट रहने गरी नायक, नायिका, निर्देशक र फिल्म गरी ४ विधामा अवार्ड वितरण गरिएको हो । जसमा उत्कृष्ट नायकमा अनमोल केसी, नायिकामा सम्राज्ञी राज्य लक्ष्मी शाह, निर्देशकमा प्रदीप भट्टराई र फिल्ममा छक्का पञ्जा २ रहेका छन् । यस्तै अवार्ड समारोहमा नेपालकी पहिलो हास्य अभिनेत्री बसुन्धरा भुषाललाई लाइफटाईम एचिभमेन्ट अवार्ड २०१८ प्रदान गरिएको छ । यस्तै ३ दशकदेखि नेपाली फिल्म क्षेत्रमा क्रियाशिल सदावार नायक भुवन केसीलाई सूर्य कलाकारिता सम्मान २०१८ प्रदान गरिएको छ । निरन्तर चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका समिप्यराज तिमल्सेनालाई नगद २५ हजार जापानीज येन सहित सूर्य चलचित्र पत्रकारिता २०१८ बाट पुरस्कृत गरिएको छ । यस्तै निरन्तर फोटो पत्रकारितामा सक्रिय रहेका फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद १५ हजारसहित पुरस्कृत गरिएको छ । अवार्ड समारोहमा गीतको ६ विधामा लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगर उत्कृष्ट घोषित भएका छन् । यस्तै पपतर्फ कमल खत्री गायक र गायिका इन्दिरा जोशी उत्कृष्ट भएका छन् । यता आधुनिकतर्फबाट राजेश पायल राई र मेलिना राई गायकगायिका घोषित भएका छन् । अवार्डमा नेपालबाट ४ दर्जन कलाकारहरु उपस्थित भएका थिए । यस्तै जापानलाई कर्मथलो बनाइरहेका नेपाली चलचित्र तथा गीतसंगीत क्षेत्रलाई माया गर्ने पाँच सय भन्दा बढी दर्शकहरु उपस्थित थिए । अवार्ड समारोहले नेपाली कला, सांंस्कृतिकको संरक्षण तथा नेपाली फिल्म र गीतसंगीतको प्रबर्धनमा टेवा पुग्ने आयोजकले दाबी गरेका छन् । अवार्ड समारोहपछि जापानमा निरन्तर नेपाली फिल्म रिलिज गर्ने तयारी गरिएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् । कार्यक्रमा भोटिङ्ग सिस्टमको लागि बीइआईटी कम्पनीका पवन थापाले जिम्मा लिएका थिए ।