कारोबार संवाददाता
बिहिवार, कार्तिक १५, २०७५
505

लमजुङ - अन्नपूर्ण पदमार्गसँगै लमजुङका विभिन्न पर्यटकीय सम्पदाले बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गरिरहेका छन् । पछिल्लो समय ‘हनि हन्टिङ’ अर्थात् मह शिकार पनि पर्यटक आकर्षण गर्ने राम्रो माध्यम बनेको छ । सिजन शुरु भएसँगै लमजुङका भिरपहराहरूमा मह शिकार शुरु भएको छ ।
लमजुङमा सामान्यतयाः प्रत्येक वर्ष वैसाख र कात्तिक महिनामा भिर माहुरीको मह शिकार गर्ने गरिन्छ । शिकारीहरूले गर्ने मह शिकार नयाँ पुस्ता र पर्यटकका लागि नौलो र आकर्षणको विषय पनि बन्ने गरेको छ ।

कहालीलाग्दो भीर पहराहरूमा हुने मह शिकार विश्वमै विरलै हुने गर्दछ । मह शिकार लमजुङका गुरुङ समुदायको परम्परागत पेशा पनि हो । परापूर्वकालदेखि जंगलको आसपासमा बस्दै आएका गुरुङ समुदायका मानिसहरूको आम्दानीको स्रोत बन्ने गरेको मह शिकार पछिल्लो वर्षहरूमा भने पर्यटक लोभ्याउने आकर्षण बन्ने गरेको छ ।
आङै सिरीङ्ग हुने अग्ला भीर पहरामा निडरका साथ मह शिकारीहरूले मह काढेको रमणीय दृश्य विदेशी पर्यटकका साथै भीर माहुरीको शिकार गरेको कहिल्यै नदेखेकाको लागि पनि अविस्मरणीय र रोचकको विषय हुन सक्छ । मह शिकारलाई पर्यटन प्रवद्र्धनको रुपमा पनि विकास गर्नुपर्ने पर्यटन व्यवसायी नरबहादुर गुरुङले बताए । भिरपहरामा पाइने मौरीको संरक्षणका साथै उचित तरिकाबाट मह शिकार गरिए स्थानीय गाउँलेको आम्दानीको साथै मह शिकारले स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्न सकिने व्यवसायी गुरुङको विश्वास छ ।
लमजुङका विभिन्न स्थानका ठाडो भीरपहरामा हुने मह शिकार हेर्दा जति डरलाग्दो छ, शिकार गर्न पनि उत्तिकै गाह्रो छ । तर पनि निडर महशिकारीहरू आफ्नो ज्यानको बाजी लगाउँदै भीरपहरामा महशिकार गर्दै आइरहेका छन् । परापूर्वकालदेखि नै भीरपहरामा पाइने भीरमौरीको शिकार गर्न गाउँलेको हानाथाप चल्ने गर्दथ्यो । तर अहिले त्यस्ता शिकारी भेट्टाउनै मुस्किल भएको महशिकारीहरूले बताएका छन् ।
भिर मौरीको महशिकार आफैमा साहाी कार्य हो । मह शिकार गर्दा दर्शकहरूलाई मनोरञ्जन मिलेपनि शिकारीले भने जोखिम मोल्नुपर्ने हुन्छ । सीप हस्तान्तरणको अभावमा मह शिकार पेशा संकटमा पर्नसक्ने २२ वर्षअघि देखि महशिकार गर्दै आएका मह शिकारी दिलबहादुर गुरुङले बताए । महशिकारलाई सरकारी तहबाट नै विशेष प्राथमिकतामा राख्नुपर्ने शिकारीहरू बताउँछन् । प्रविधिको विकाससँगै नयाँ पुस्तालाई महशिकार सम्बन्धी तालिम र आधुनिक सामग्री उपलब्ध गराए सिप हस्तान्तरण र भीरपहरामा रहने मौरीको संरक्षण गर्न सकिने शिकारी मिनबहादुर गुरुङको बुझाइ छ ।
मस्र्याङ्दी गाउँपालिका–४, स्याँगे झरना नजिकै रहेको भिरमा शुक्रबार महशिकार गरिएको थियो । महशिकारी डिलबहादुर गुरुङ, मिनबहादुर गुरुङ लगायतले महशिकार गरेका थिए । ताघ्रिङ सहित घनपोखरा, भुलभुले, भुजुङ, दूधपोखरी लगायतका भीर पहराहरूमा भीर माहुरी प्रशस्तै पाइने गर्छ । महशिकार गर्ने प्रचलन धेरै पुरानो रहेपनि पर्यटक आकर्षकका लागि आजकाल ‘हनिहन्टिङ फेस्टिबल’ का रुपमा महशिकार गरिँदै आएको छ ।
यसअघि पनि लमजुङको ताघ्रिङ, बाहुनडाँडको नाइचे, खुदीको सिउरुङ, घनपोखरा, भुजुङ लगायतका स्थानमा हनिहन्टिङ फेष्टिबल भइसकेको छ ।

सन्देश पौडेल