कारोबार संवाददाता
बिहिवार, पुष १९, २०७५
669

गुरु मञ्जरी गु्रपले विवाहका लागि जोडी खोज्ने वेब पोर्टल सुरु गरेको छ । उक्त ग्रुपले ‘माइस्वयम्बर डटकम’मार्फत् सेवा सुरु गरेको हो ।
राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वलीले मंगलबार पोर्टलको उद्घाटन गरिन् । सो अवसरमा उनले सन् २०१९ भित्रै आफ्नो स्वयम्बर हुने खुलासा पनि गरिन् । उनले भनिन्, “स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ । यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या हो ! २०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ ।”

सांसद वलीले हिन्दू धर्म वैज्ञानिक रहेको पनि बताइन् । उनले भनिन्, “हाम्रो हिन्दू धर्म विज्ञानभन्दा पनि अगाडि छ । हाम्रो संस्कृति, हिन्दू धर्म विज्ञानमा आधारित छ, विज्ञानभन्दा पहिले छ । हामी नेपाली हिन्दू महिलाहरु मंगलबार व्रत बस्छौं । हिन्दू परम्पराले शरीरलाई स्वस्थ र मजबुद बनाउँछ भन्ने छ । हालै नोबेल पुरस्कार विजेताहरुले गरेको अनुसन्धानले १५-१५ दिनमा एकचोटी भोको बस्दा शरीरलाई फाइदा हुने विश्वलाई जानकारी दिए ।”
उनले आफ्नो संस्कारलाई बचाइराख्नको लागि सबैले प्रयास थाल्नुपर्ने बताइन् । उनले भनिन्, “हिन्दू धर्मको मान्यताअनुसार जोडिएका सम्बन्धहरु सहजै टुट्न गाह्रो हुन्छ । यज्ञ र मण्डपमा अग्निसामु हिन्दू कर्मकाण्डबाट विवाह गरिन्छ ।”
सांसद वलीले नेपाली हिन्दूहरु उदार भएकाले विश्वका संस्कृतिलाई सहजै स्वीकार गर्न सकेको बताइन् । उनले भनिन्, “हामी नेपालीहरु उदार छौं, हाम्रो मन विशाल छ । त्यसैले क्रिसमसमा रमाउँछौं, दशैं पनि मनाउँछौं ।”
कार्यक्रममा माइस्वयम्बर डटकमका नेपाल संयोजक मुकुन्द शर्माले नेपाली संस्कृति र पहिचान विश्वकै उत्कृष्ट तथा वैज्ञानिक भएको दाबी गरे । आफूहरुले सुरु गरेको अनलाइन पोर्टल नेपाली हिन्दूहरुको विवाहलाई लक्षित गरिएको उनले सुनाए । उनले थपे, “वैदिक परम्परा जगेर्ना गर्नुका साथै जीवनयापनका क्रममा आइपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउने, सुखमय दाम्पत्य जीवनलाई सहज बनाउने, ज्योतिषी परामर्श दिने, वास्तु परामर्श तथा विभिन्न धार्मिक कर्मकाण्ड गर्न सहयोग पु-याउने यसको मुख्य उद्देश्य हो ।” विश्वभरि छरिएर रहेका नेपाली गुरु, पुरोहित र हिन्दू धर्मका अभियन्ताहरुको संयुक्त पहलमा पोर्टल सुरु गरिएको पनि उनले स्पष्ट पारे ।