कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५
592

मिस नेपाल श्रृंखला खतिवडा नेपाल र फ्रान्सको संयुक्त सद्भावना राजदूत नियुक्त भएकी छन् । खतिवडालाई बुधबार नेपाल–फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा सद्भावना राजदूत नियुक्त गरिएको हो ।
परराष्ट्र सचिव शंकरदास बैरागी र नेपाल भ्रममा रहेका फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तानले बुधबार अपरान्ह राजधानीमा आयोजित एक कार्यक्रममा खतिवडालाई सद्भावना राजदूतको नियुक्ति पत्र दिए ।

नेपाल तथा फ्रान्सबीच ७० वर्षअघि नेपालमा राणाशासन रहेकै बेला कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल–फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको उपलक्ष्यमा निर्माण गरिएको प्रतीक चिन्ह (लोगो) को परराष्ट्र सचिव बैरागी, उनका फ्रान्सेली समकक्षी मोन्तान र सद्भावना राजदूत खतिवडाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
सद्भावना दूत नियुक्त भएपछि मिस नेपाल खतिवडाले आफू अनुहारले मात्र सद्भावना दूत नहुने विश्वास दिलाएकी छन् । सद्भावना दूतको नियुक्तिपत्र पाएपछि नेपाली परराष्ट्र सचिव शंकरदास बैरागी र उनका समकक्षी फ्रान्सेली परराष्ट्र मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तान उपस्थित कार्यक्रममा उनले भनिन्, “एक युवा, जो विश्वको वर्तमान अवस्थाबारे सचेत छ, जो शिक्षा र स्वास्थ्य बारे सचेत छ, जो विश्वका युवाहरुसँग काँधमा काँध मिलाएर हिँड्छ । जसले अरुलाई डो¥याउन सक्छ र विश्वको नागरिक भएर प्रतिस्पर्धा गर्न सक्छ ।”