सागर परियार
बुधवार, चैत्र ६, २०७५
344

जुम्ला तातोपानी–२ का लालचन्द्र चनारा गत वर्ष वैदेशिक रोजगारीका लागि कतार गए । कतार गएको झण्डै २ वर्षपछि नेपालमा स्थानीय तहको निर्वाचन भयो । सिंहदरबारको अधिकार गाउँमा आयो, अब गाउँमै सीप र दक्षताअनुसार रोजगारी पाइन्छ भन्ने सुनेर स्वदेश फर्किए ।
घरमा आएपछि न रोजगारी पाइयो, नत व्यापार व्यवसायका लागि ऋण नै । स्थानीय सरकारले युवाहरूका लागि रोजगारका काम ल्याउन नसकेको उनको गुनासो छ । स्वदेशमै केही गर्छु भनी फर्किएका उनले फेरि विदेश जाने निधो गरेका छन् । “अबको केही दिनमा मलेसिया रोजगारका लागि जाँदैछु,” उनले सुनाए, “हामीजस्ता सामान्य युवालाई स्थानीय सरकारले चिन्न सक्दैन । घरपरिवारको मुखमा माड हाल्नका लागि वैदेशिक रोजगार विकल्प नभई बाध्यता भएको छ ।”
सोही गाउँका नरेन्द्र बुढा, राजेन्द्र बुढा, सन्तोष कामीलगायतका युवाहरू स्थानीय सरकारले रोजगारी सृजना गर्न नसकेको र व्यावसायिक ऋण पनि चिनजानकै आधारमा दिने गरेको भन्दै कतार उडेका छन् । देशमा रोजगारी नभएकाले बाध्य भएर विदेशिनुपर्ने अवस्था रहेको जुम्ला डिल्लीचौरका कमल बुढा बताउँछन् । स्थानीय सरकार आइसकेपछि गाउँमै केहि गरांैला भन्ने जाँगर बोकेका युवालाई स्थानीय सरकारले बेवास्ता गरेको युवा राजेन्द्र बुढाले बताए । उनले भने, “खाली आफ्ना पार्टीका कार्यकर्ता पोस्ने र भाषणमा रोजगार सुनिश्चितताका कुरा गरेर देश समृद्ध हुँदैन ।”
जुम्लाका आठै स्थानीय तहबाट वैदेशिक रोजगारीका लागि जाने युवाहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ । स्थानीय तहले युवा स्वरोजगारका कुरामात्रै गर्ने तर व्यवहारमा कार्यान्वयन नहुँदा बेरोजगारीको समस्या नहेटेको युवा नेता लक्ष्मण शाहीले बताए । स्थानीय तहले युवा स्वरोजगारका लागि छुट्याएको लाखौं बजेट आफ्ना नातेदार तथा कार्यकर्तालाई मात्र दिएको आरोप उनले लगाए । “युवाको बजेट युवालाई छैन, अनि कसरी रोजगार सृजना हुन्छ ?” उनले प्रश्न गरे ।

युवा स्वरोजागरको १० लाख हिनामिना
तातोपानी गाउँपालिका वडा नम्बर २ ले युवा स्वरोजगारका लागि १० लाख रुपैयाँ छुट्याएको थियो । समूहमा आउने तथा स्वदेशमै केहि गर्न चाहने युवाहरूलाई निब्र्याजी रुपमा ऋण दिएर रोजगार बनाउने लक्ष्य अनुसार बजेट छुटेयाइयो । तर अन्तमा युवाको बजेट युवालाई नदिएर होटल व्यवसायी तथा नेता कार्यकर्तालाई बाँडेको पाइएको छ ।
स्पष्ट सूचना नगरी युवा स्वरोजागरको १० लाख बजेट तातोपानी गाउँपालिका–२ ले मनपरी रुपमा ५० हजारका दरले बाँडेको छ । “जसले करोडांैको होटल खोलेका छन्, उनीहरूलाई ५० हजार दिएर के हुन्छ ?” युवा मिश्र रोकायाले भने ।
युवाका नाममा आएको बजेट युवाले नै पाउनुपर्छ भन्ने २ नम्बर वडाका युवाको माग छ । “यस विषयमा स्थानीय सरकारले शिर्षकभन्दा बाहिर बजेट दिन मिल्ने हो क होइन, छानबिन गर्न पनि माग गरेका छौं,” गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने, “युवाको बजेट दुरुपयोग भएकै छ । यस विषयमा वडाध्यक्षसँग छलफल गर्छु ।” यता वडाध्यक्ष कृष्ण बुढा भने सबैको सहमतिमा १० लाख बजेट बाँडेको बताउँछन् ।

४५० ले राहादानी लिए
वैदेशिक रोजगारीका लागि जुम्लाबाट यस आर्थिक वर्षको हालसम्म झण्डै ४ सय ५० जनाले राहदनी लिएका छन् । खाडीका विभिन्न मुलुकमा रोजगारीका लागि जुम्लाबाट जाने युवाको संख्या बढ्दै गएको छ । स्थानीय सरकार आए पनि वैदेशिक रोजगारी बिना केहि गर्न नसकिने युवाहरू बताउँछन् ।
पहिला नागरिकता तथा अन्य सिफारिसका लागि आउने सेवाग्राह हुने गरेकोमा अहिले राहादानी लिन बढी आउने जिप्रकाका राहादानी फाँट प्रमुख कविदत्त न्यौपानेले बताए । उनका अनुसार आव २०७२–०७३ र २०७३–०७४ मा गरी १ हजार ७ सय ९५ जनाले राहदानी लिएका छन् ।
त्यसअघि वैदेशिक रोजगारीका लागि प्रायः जुम्लीहरू भारत जाने गरेका थिए । तर, अहिले खाडीसहित अन्य मुलुकहरू पनि जानेक्रम बढेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले स्थानीय सरकारले आश्वासन भन्दा युवा लक्षित थोरै भएपनि रोजगारमूलक कार्यक्रम गर्नुपर्ने सुझाव दिए ।