एनआरएनएद्वारा वैदेशिक रोजगारी मागपत्र जाँच निर्देशिकाको स्वागत
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
362

वैदेशिक रोजगार क्षेत्रको विकृति र विसंगति रोक्न सरकारले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका २०७५’ कार्यान्वयनमा ल्याएकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ । एनआरएनएको पहलमा वैदेशिक रोजगारको क्षेत्रमा भएका क्रमिक प्रगति र नेपाल सरकारले गरेका निर्णयबाट नेपालको वैदेशिक रोजगारी क्षेत्रमा सुधार हुने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्देशिकाको अभावमा यसअघि रोजगारदाता कम्पनी र म्यानपावर कम्पनीले माग गरेको कामको विवरण यकिन हुन कठिनाइ भइरहेको बेला सरकारको सुधार योजनाले आशावादी बनाएको विज्ञप्तिमा जनाइएको छ । “वैदेशिक रोजगारीका नाममा ठगीमा पर्दै आएका सोझा र आर्थिक रुपमा विपन्न नेपालीहरुले भोग्नुपरेको समस्यासमेत यसै निर्देशिकाको कार्यान्वयनसँगै न्यूनीकरण हुनेमा हामी आशावादी छौं,” सो विज्ञप्तिमा भनिएको छ, “नयाँ निर्देशिकाले अदक्ष कामदारको सट्टा बढी तलब सुविधा पाउने दक्ष कामदार जाने प्रवृत्ति बढ्ने अपेक्षा छ ।” वैदेशिक रोजगारीको सिलसिलामा विदेशस्थित अस्पतालमा भएका र कानुनी सेवाको अभावमा जेल जीवन बिताउन बाध्य भएकाहरुलाई कानुनी सहायता, नियोगबाटै उपलब्ध गरउने प्रावधान र सिण्डिकेटको खारेजीजस्ता कार्यहरुलाई वैदेशिक रोजगारीमा जानेहरुको हित र संरक्षणका लागि भएका प्रगतिको रुपमा रहेको समेत एनआरएनएले जनाएको छ ।
पछिल्लो समय एनआरएनएसँगको छलफलमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले जनाएको प्रतिबद्धता अनुरुप नै निर्णय भएको एनआरएनएले जनाएको छ । “हामीले जोडदार रुपमा उठाएका विषयहरु, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, अंगभंग भएकाहरुलाई परिचयपत्रका साथ उपचारको व्यवस्था, त्यसपछि सक्नेहरुलाई रोजगारी र अशक्तहरुलाई मासिक भत्ता, मृतकका परिवारलाई रोजगारीका विषय सकारात्मक छन्,” एनआरएनएले भनेको छ, “तिनका बच्चाहरुलाई अध्ययनरत वा इच्छाएको विद्यालयमै छात्रवृत्ति अनि निःशुल्क उपचारको व्यवस्था, सबै कामहरु अनलाइन गरी प्रत्यक्ष भेट्नुपर्ने बाध्यता हट्दा पैसाको प्रत्यक्ष लेनदेन पनि कम हुने हाम्रो अनुमान छ ।”