एनआरएनए साउदीद्वारा ई–लाइब्रेरी भवनलाई सहयोग
कारोबार संवाददाता
बुधवार, मंसिर २०, २०७४
17

रोल्पाको जिनबाङस्थित घोप्टे ओढारमा गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको आर्थिक सहयोगमा दुई कोठे ई–लाइब्रेरी भवनको निर्माण गरिएको छ । नमुना विद्यालय अभियान थालनी भएलगत्तै भौतिक निर्माणको लागि एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) साउदीले अग्रसरता लिएको थियो । एनसीसी साउदी अरबका निवर्तमान अध्यक्ष धरम केसी, तत्कालिन महासचिव तेज थापा, महिला संयोजक उषा केसी तथा दम्माम क्षेत्रका क्षेत्रीय अध्यक्ष चन्द्रमणि भण्डारीको उपस्थितिमा असोजमा भवनको शिलान्यास भएको थियो ।
प्रमुख अतिथि र विशिष्ट अतिथिबाट ई–लाइब्रेरी भवनको उद्घाटन गरिएको थियो । सो अवसरमा एनआरएनए साउदीद्वारा प्रदान गरिने कम्प्युटर कक्ष अनुगमन गरिएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै नमुना विद्यालय अभियानका संयोजक प्रेमबहादुर वली, एनसीसी साउदी अरबबाट सहयोग संकलनमा योगदान दिने गैरआवासीय नेपालीप्रति कृतज्ञता व्यक्त गरेका थिए । सो अवसरमा वलीले नमुना विद्यालय अभियानलाई एनआरएनए साउदी अरबले सहयोग गरेपश्चात् अभियानले साथर्कता पाएको उल्लेख गरे ।
सो अवसरमा वरिष्ठ उपाध्यक्ष डम्मर यादवले आगामी दिनहरूमा पनि शैक्षिक अभियानलाई सहयोगका लागि हातेमालो गरिरहने आश्वासन दिए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवानले शैक्षिक अभियानमा जुटेका अभियन्ता तथा स्थानीयप्रति कृतज्ञता प्रकट गर्दै धन्यवाद दिएका थिए । साथै अभियानमा जोडिएर एनसीसी साउदी अरबले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै पासवानले एनआरएनए साउदीद्वारा निकट भविष्यमा विद्यालयलाई कम्प्युटरलगायत सामग्रीहरू उपलब्ध गराउने आश्वासन दिएका थिए ।