कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
441

प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सीआईएसँग साँठगाँठ रहेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, “ललितपुरको भैंसेपाटीमा उनको सयन कक्ष छ । उहाँको त्यो कार्यालय दक्षिण एसिया फाउण्डेशनको फण्डिङमा फर्निसिङ गरिएको छ । त्यही भैंसेपाटीको घरमा उहाँले रसगुल्ला र रसपान गर्नुहुन्छ भन्छन् । तर, त्यो रसगुल्ला र रसपान के हो मलाई थाहा छैन । त्यो अफिसको सबै स्टाफ र फर्निचरको फण्डिङ एशिया फाउण्डेशनले गरेको छ ।”
स्थापितले प्रदेश नम्बर ३ को अवधारणापत्र बनाउनको लागि पनि मुख्यमन्त्री पौडेलले ‘द एसिया फाउण्डेशन’ को आर्थिक सहयोग लिएको आरोप लगाए । उनले भने, “यत्रो पैसा लिनुभन्दा पहिले केन्द्र सरकारको अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट स्विकृति लिनुपर्दैन ? यो विषय मन्त्रालयमा छलफल भएको छैन । मुख्यमन्त्रीले अहिले प्रदेश नम्बर ३ को योजना आयोगको शाखा कार्यालय त्यही भैंसेपाटीको घरलाई बनाएका छन् ।” यो विषयलाई आफूहरुले अब संसद् खुल्नेबित्तिकै जोडदारसँग राख्ने पनि उनले जानकारी दिए ।

मुख्यमन्त्रीले आफूलाई विभिन्न पार्टी डुलेर आएको भन्दै कारबाही गरेको उनले आरोप लगाए । उनले थपे, “स्वयम् अहिलेको प्रधानमन्त्रीले मलाई मेरो खुट्टा भाँच्चिएको दिनमा डाकेर केशव ! तिम्रो र मेरो आन्द्रा गाँसिएको छ । तिम्रो मनको सपनाको एक प्रतिशत पनि दियौ भने यो मुलुक बन्छ भनेर म गएको हुँ ।”
मुख्यमन्त्री पौडेलविरुद्ध खनिएका उनले थपे, “सफलता र असफलताको कुरा उठाउने ? उहाँ हेटौंडाको १० वर्ष मेयर भएको मान्छे होइन ? त्यहाँ सहिद पार्कबाहेक अरु के छ ?” आफूले मुख्यमन्त्री पौडेललाई इमानका साथ बोकेको पनि उनले स्पष्ट पारे । उनले भने, “हाम्रोमा पार्टीभित्र गुट छ । मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हो । सभामुखमा पनि दाबी गरेको हो । डोरमणिको दाबी थिएन । बरु अष्टलक्ष्मीको दाबी थियो । उहाँकहाँ गएर मलाई पूर्वाधार मन्त्री बनाउनु भनेर पौडेल हिँडेको हो । उहाँको हैसियत नै त्यही हो । हामी सबैले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो । तर, आज दम्भ देखाउने ?”
उनले मुख्यमन्त्री पौडेलले सिआईएको पैसा लिएर जिल्ला–जिल्ला र क्षेत्र–क्षेत्रमा गएर कार्यक्रम सञ्चालन गरेको पनि आरोप लगाए । उनले भने, “सिआईएको पैसामा कार्यक्रम सञ्चालनमात्रै होइन, यहाँको सबै सूचना लिएर अनि सिआईएलाई समर्पण गर्ने मान्छे नेकपाको सदस्य हुन सक्छ र ?”
उनले आफूले जीवनमा कहिल्यै पनि कसैको दुव्र्यवहार नसहेको र नगरेको पनि स्पष्ट पारे । उनले भने, ”मुख्यमन्त्रीले मसँग बोल्दा टेबुल ठट्टाएपछि मैले पनि ठट्टाएको हुँ । मैले अनियमितता गरें भनेर आरोप लगाउनुभएको छ । ती आरोपहरु प्रमाणित हुनुपर्छ । उहाँले राजधानी सार्ने कुरामा पनि गलत अभिव्यक्ति दिनुभएको छ । प्रदेशको अधिकारविरुद्ध बोल्नुभएको छ । प्रदेश सभाको विषयलाई निजी विषय बनाउन मिल्छ ?” मुख्यमन्त्रीले आफूलाई जिल्ला–जिल्ला किन घुमिस् भनेर प्रश्न सोधेको पनि उनले जनाए ।
फरक प्रसंगमा उनले आफू महिलालाई सत्कार गर्ने मान्छे भएको दाबी गरे । “मैले लञ्च अफर गर्दा के गलत भयो ? म त खाना मिठो बनाउँछु । कफी मिठो बनाउँछु ।” आफूलाई यौन दुव्र्यवहारको आरोप लगाउनेलाई मानहानिको मुद्दा लगाउने उनले बताए ।