कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
473

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली रारा पर्यटन वर्षको उद्घाटन गर्न मुगुमा आएर कर्णालीलाई केही नल्याएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालिकोटले आयोजना गरेको आमसभामा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
पौडेलले प्रधानमन्त्री ओली रारामा आएर भाषण मात्र गरेको, कर्णाली राजमार्गको अवस्था जिर्ण रहेको, कृषि, ऊर्जाका विषयमा प्रधानमन्त्री ओली केही नबोलेको र विकास सन्तुलन ल्याउने कुनै योजना नबोलेको बताए । “कर्णाली राजमार्गको अवस्था उस्तै छ । यहाँका मानिसको अवस्था उस्तै छ । कर्णाली नदी बगेको बगै छ । त्यतिकै खेर गएको छ,” उनले भने, “तर, प्रधानमन्त्री रारामा गएर भाषणमात्र गरेको कर्णालीको विकासमा सन्तुलन ल्याउने कुनै योजना बनाएको छैन ।”
कर्णालको विकासमा कसैले ध्यान नदिएको नेता पौडेलले बताए । “कर्णाली विकासको ठोस योजना ल्याउन कसैले ल्याउन सकेन । कर्णाली विकास भयो भनेमात्र देशको विकास हुन्छ,” उनले भने ।
प्रधानमन्त्री ओलीले पक्षपाती शासन चलाएको र अधिनायकवादी हुन खोजेको आरोप पौडेलले लगाए । “वामपन्थीहरुको सरकार अधिनायकवादी चरित्र देखाएको छ । अधिनायकवादविरुद्ध सबैले लाग्न जरुरी रहेको छ,” उनले भने ।