मोदी भ्रमणको खर्चले प्रदेश सरकार संकटमा
धर्मेन्द्र कर्ण
सोमवार, जेठ ७, २०७५
4912

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा भएको स्वागत खर्चमा देखिएको विवादले प्रदेश नम्बर २ लाई संकटमा फसाएको छ । यो विवाद तत्काल समाधान नभए सत्ता गठबन्धनसमेत टुट्ने खतरा बढ्न सक्ने सत्तारूढ घटकका नेताले बताएका छन् ।
यस्तो अवस्थामा सरकारलाई प्रतिपक्षी दल नेपाली कांग्रेसले सक्दो सहयोग गर्ने भएको छ । कम्युनिस्ट पार्टी सैद्धान्तिक रूपले संघीयता विरोधी हुने भएकाले यो विवादको माध्यमबाट थप संकटमा पार्न खोज्ने चालबाजीबाट सरकारलाई जोगाउनसम्मको सहयोग गर्ने प्रदेश नम्बर २ को प्रतिपक्षी दलका नेता रामसरोज यादवले जनाए ।
मोदीको भ्रमण खर्च ७ करोड २० लाखको विषयमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूबीच नै विवाद देखिएको छ । यो खर्चलाई प्रदेशको क्याबिनेटबाट अनुमोदन गराउनुपर्ने काम बाँकी छ । गठबन्धन आबद्ध एक दलकै एक नेताका अनुसार यो विवादले सरकारको छविलाई धुमिल्याउने काम गरेको छ । ती नेताका अनुसार यो विवाद मिलाउनुपर्ने आवश्यकता त छँदैछ, तर यसलाई मिलाउने काम साह्रै जटिल रहेको छ ।
हाल सार्वजनिक भएको खर्च विवरण अनुसार सरसफाई र सडक मर्मतमा २ करोड ५० लाख, मञ्च निर्माणमा २ करोड, प्रचारप्रसारमा १ करोड १० लाख, जनपरिचालनमा १ करोड र सुरक्षामा ६० लाख खर्च भएको छ । यसबारे प्रदेश सभामा जानकारी नगराइएको बताउँदै प्रतिपक्षी दलका नेता यादवले प्रदेश सभामा जानकारी माग गर्ने जनाए । उनले भने, “अहिले प्रदेश सभा स्थगित छ ।
सदन सुरू भएपछि हामीले यो खर्चको विवरण माग गर्छौ ।” आफूहरू प्रतिपक्ष रहेकोले सत्ता गठबन्धनका विवादबारे हामीले बोल्नुपर्ने आवश्यकता नरहेको बताउँदै उनले भने, “संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच नै यो खर्च बारे कुरो मिलेको छैन । हामीले अहिले नै के बोल्ने ?”
सत्ता गठबन्धनका एक दलका नेताले नाम नखुलाउने शर्तमा भने, “गठबन्धनका नेताहरूलाई प्रदेश सरकारको भ्रमण खर्चको विवादले चिन्तित तुल्याएको छ । यो विवादको निकास विश्वसनीय आधारमा निकाल्न नसके गठबन्धन सरकाको भविष्य संकटमा पर्ने भएको छ ।”
उनका अनुसार यो सरकार बढी विवादित भए राष्ट्रपतिले विशेषाधिकार प्रयोग गर्न सक्ने खेल हुन सक्छ । यस्तो अवस्थामा प्रदेश नम्बर २ मा ठूलो दलको हैसियतमा सरकार गठन गर्न पाउनेसम्मका राजनीति अगाडि बढ्न सक्ने देखिएको छ ।
सत्ता गठबन्धनकै कारण सरकार हेरफेर हुने अवस्था आएको बेला प्रतिपक्षले तदनुकूल निर्णय गर्ने प्रतिपक्षी दलका नेता यादवले जनाए । आफूहरू सरकार बनाउने र ढाल्ने अवस्थामा भने नरहेको उनको भनाइ थियो ।