भुवन पौडेल
बुधवार, कार्तिक २१, २०७५
725

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार प्रणाली अनलाइन भएसँगै मंगलबारको कारोबार अस्तव्यस्त भएको छ । अनलाइन प्रणालीमा कारोबार सुरु भएपछि पुरानो सिस्टमले काम नगर्दा ब्रोकरदेखि लगानीकर्ता अलमलमा परेका हुन् ।
मंगलबार नेप्सेमा कारोबार भए पनि कति कारोबार भयो र नेप्से परिसूचक घट्यो कि बढ्यो भन्ने विषयमा सर्वसाधारण अनभिज्ञ छन् । अनलाइनमा कारोबार गरेका लगानीकर्ताले बजारको अवस्थाबारे आंशीक जानकारी हासिल गरे पनि नेप्सेको वेबसाइटमा कुनै पनि जानकारी उपलब्ध छैन । त्यसका साथै मंगलबार कारोबार सुरु हुँदा सोमबारको अन्तिम मूल्यबाट बजार खुल्नुपर्नेमा आइतबारको अन्तिम मूल्यबाट कारोबार सुरु भएको छ । यसले गर्दा पनि सेयर बजार परिसूचक मंगलबार कति घट्यो वा बढ्यो भन्ने सम्बन्धमा कुनै जानकारी नआएको हो ।

यस्तै, धितोपत्र दललाले दिँदै नदिएको खरिद वा बिक्री आदेश म्याच भएर कारोबार भएको तथा आइतबारको क्लोजिङ प्राइसवाट मंगलबार कारोबार भएकोजस्ता समस्याहरू आएका छन् । अनलाइन कारोबार प्रणाली सुरु भएपनि नेप्सेको कारोबार प्रणाली नै अस्तव्यस्त भएको उल्लेख गर्दै एक दलाल कम्पनीका अधिकारीले भने, “आइतबार नेप्सेमा आदेश नदिएको सेयर कारोबार भएको छ भने सेयर मूल्य पनि फरक भएर कारोबार भएको छ ।” नयाँ कारोबार प्रणाली सुरु गर्दा नेप्सेले पर्याप्त अभ्यास तथा हुनसक्ने कमजोरीलाइ ध्यान नै नदिएको हुनाले यस्तो समस्या आएको ति दलाल व्यवसायीको भनाइ छ ।
मंगलबार नेप्सेले अनलाइन कारोबार प्रणाली सुरु गरेपनि समस्याहरू धेरै देखिएको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । “नयाँ प्रविधिको सन्दर्भमा नेप्सेले आवश्यक रूपमा पूर्वतयारी तथा सावधानी नअपनाएको देखिन्छ,” उनले भने, “नयाँ प्रविधि सुरु हुँदा बजारको तथ्यांक नै फरक भएको अवस्था छ ।” नेप्से परिसूचकसमेत आइतबार बन्द भएकोबाट मंगलबार सुरु भएको उनले जानकारी दिए । नयाँ प्रविधिको विषयमा दलाल कम्पनी तथा सर्वसाधारण सबै अन्योलमा परेको उल्लेख गर्दैै उनले भने, “मंगलबार कारोबारमा देखिएको समस्या समाधानका लागि नेप्सेले प्रयास गरेको जनाएको छ ।”
नेप्सेमा नयाँ प्रणाली सुरु भएकै दिन कारोबार प्रणालीमा समस्या आएको हो । मंगलबारको नेप्सेको समस्या भने विगतको जस्तै हो । त्यसका साथै सेयर कारोबार भए पनि त्यसको तथ्यांक सार्वजनिक वेबसाइटमा समेत देखिएको छैन । विगतमा पनि नेप्सेको कारोबार प्रणालीमा बारम्बार समस्या आउने गरेको थियो । मंगलबार पनि सोही समस्या दोहोरिँदा कारोबार नै अस्तव्यस्त भएको छ ।
नयाँ प्रविधि सुरु गर्दा सुरुमै पूर्ण नहुने नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् । “सुरुमा केही प्रविधिक समस्याहरू आउने कारोबार प्रणाली विकास गरेका प्रविधिकहरूले पनि बताएका थिए,” उनले भने, “मंगलबारको कारोबारमा देखिएको समस्या मसाधानका लागि नेप्सेको प्रविधिक टिमले प्रयास गरिरहेको छ ।” नेप्सेले कम्प्युटराइज्ड कारोबार प्रणालीबाट अनलाइन टे«डिङ सिस्टममा गएको उल्लेख गर्दै पराजुलीले भने, “नियमित कारोबार भइरहेको थियो, त्यसको तथ्यांक भने साइटमा नआएको हो ।” नयाँ प्रविधि सुरु भए पनि नेप्सेको प्रत्यक्ष कारोबार हेर्ने सार्वजनिक वेबसाइट भने पुरानै हुनेसमेत पराजुलीले जानकारी दिए ।
यो समाचार तयार पर्दासम्म नेप्सेको कारोबारको सन्दर्भमा केही तथ्यांक वेबमा राखिएको छैन । नेप्सेको वेबमा सोमबार कारोबार भएका सामान्य तथ्यांकहरूमात्र सार्वजनिक भएका छन् ।

 अनलाइनबाटै किनबेच गर्न सकिने 
अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबार प्रणालीले नेपाल सरकारले लिएको ई–गभर्नेन्सको लक्ष्यलाई पनि सहयोग गर्ने बताए । अनलाइनको सुरुवातसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङमा संस्थागत सुधारको आवश्यकता रहेको उनको भनाइ छ ।
अनलाइन प्रणाली सुरु भइसकेकाले अब पुँजीगत लाभकरको विषयमा पनि छिट्टै निर्णय हुने मन्त्री खतिवडाले जानकारी दिए । मंगलबार अर्थमन्त्री खतिवडाले सेयरको अनलाइन कारोबारको उद्घाटन गरेर सुरु गरेका हुन् । नेप्सेको अनलाइन कारोबार प्रणालीले वित्तीय साक्षरताको सन्दर्भमा समेत सहयोग गर्ने अर्थमन्त्री खतिवडाको भनाइ छ । संस्थागत लगानीकर्तालाई सेयर बजारमा लगानी गर्न अग्रहसमेत गरेको उनले बताए ।
मंलबारदेखि सेयरको कारोबार अनलाइनबाटै गर्न सकिने भएको छ । तत्कालका लागि भने पूर्णरूपमा सेयर कारोबार अनलाइन प्रणालीवाट हुँदैन । अनलाइन प्रणाली सुरु भएपनि पुरानै तरिकाले सेयर खरिदबिक्रीको आदेश दिनेछन् भने ब्रोकरले अनलाइनमार्फत् खरिदबिक्रीको काम गर्नेछन् । अनलाइनमार्फत सेयर खरिदबिक्री गर्नको लागि लगानीकर्ताले आपूmले कारोबार गरिरहेको सेयर ब्रोकर कार्यालयमा गएर युजरनेम र पासवर्ड लिनुपर्ने हुन्छ । युजरनेम र पासवर्ड पाएपछि लगानीकर्ताले सेयर खरिदबिक्रीको आदेश दिन सक्नेछन् । ब्रोकर कार्यालयमार्फत यस्तो आदेश नेप्सेमा पुग्छ । नेप्सेले सेयर खरिदबिक्री आदेशको तथ्यांक संकलन गर्नको लागि सीडीएस एण्ड क्लियरिङमा पठाउने छ । सीडीएसले तथ्यांक संकलन गरेपछि त्यो आदेश नेप्सेलाई पठाउँछ ।