अमृता राई
बिहिवार, जेठ ३, २०७५
968

नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निर्देशिकाअनुसार सेयर कारोबार गर्ने लगानीकर्ताको व्यक्तिगत विवरण अनिवार्य गरेपछि सेयर कारोबार सुस्त भएको छ । बोर्डले वैशाखदेखि लागू हुनेगरी सम्पत्ति शुद्धीकरण निर्देशिका लागू गरेपछि सेयर कारोबार गर्दाको विवरण पनि अद्यावधिक गर्न धितोपत्र दललालाइ निर्देशन दिएको थियो । बोर्डको निर्देशनअनुसार वैशाख मसान्तसम्ममा सेयर लगानीकर्ताले कारोबार खाता विवरण अद्यावधिक नगर्नेको सेयर कारोबार नहुने भएपछि मंगलबार र बुधबार धितोपत्र बजारको करोबार रकममा उल्लेख्य कमी आएको छ ।
धितोपत्र दलाल खरिदबिक्री आदेशभन्दा पनि ग्राहकको ग्राहक विवरण अद्यावधिक गर्न समय दिँदा कारोबार रकममा कमी आएको एक धितोपत्र दलालले बताए । “अद्यावधिक नभए सेयर कारोबार नै गर्न नमिल्ने अवस्था छ, हाम्रोमा सबैले अन्तिम समयमा काम गर्ने ट्रेण्ड भएको हुनाले पनि मंगलबार र बुधबार कारोबार रकममा कमी आएको हो,” उनले भने ।

बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । मंगलबार करिब १४ करोड रुपैयाँ बरावरको सेयर कारोबार भएको बजारमा बुधबार २२ करोडभन्दा धेरैको सेयर खरिद बिक्री भएको छ । बुधबार कारोबार सुरु भएदेखि सुधारको गतिमा रहेको नेप्से परिसूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु १३३.८५ हुँदा अंकमा रहेको नेप्से ४.१६ अंकले वढेर बन्द हँुदा १३३८.०१ अंकमा पुगेको छ । नेप्से परिसुचकसंगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इण्डेक्स पनि सामान्य बढेको छ ।
बुधबार नेप्सेमा अधिकांश समूहगत परिसूचक सकारात्मक छन् । नेप्सेमा कारोबार भएकामध्ये बैंकिङ १.४६, विकास बैंक ९.२८, बिमा ०.१९, जलविद्युत् १३.१३, लघुवित्त २२.८४, होटल ४६.१४, व्यापार ५.८३ र अन्य समूह अंकले वढेका छन् । तर, वित्त २.८४ र उत्पादनमूलक समूह भने ६.८७ अंकले घटेका छन् ।
बुधबार नेप्सेमा १ सय ५८ कम्पनीको २ हजार ५ सय ९६ कारोबारवाट २२ करोड २० लाख रुपैयाँ बरावरको ४ लाख २३ हजार ३ सय ७६ कित्ता सेयर खरिद बिक्री भएको छ ।