नीरज पिठाकोटे
बिहिवार, आश्विन ४, २०७५
512

वीरगन्ज-पर्सामा नेपाल र भारतको सीमा छुट्याउन गाडिएका ५५ वटा सीमा स्तम्भ हराएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्रमा पर्ने स्थानमा मात्र ठूला र साना गरी ५५ वटा सीमा स्तम्भ हराएको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र पर्ने ४१६ देखि ४२४ सम्ममा दुइटा मुख्य सीमास्तम्भ र ४१ वटा साना सीमा स्तम्भहरु हराएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठले जानकारी दिए । यस्तै सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरको कार्यक्षेत्रमा पर्ने ४२४ देखि अन्तिम सिमाना ठोरीको ४३८ सम्ममा ठूला साना गरी १२ वटा सीमा स्तम्भ हराएका छन् । मुख्य सीमा स्तम्भ ४२७ र ४३८ स्तम्भ हराएको छ भने सहायक स्तम्भ ४२७ को ५ नम्बर हराएको छ ।

साना सीमा स्तम्भहरु ४२४ को १४ र ४२४ को १५ र ४२४ को १६ र ४२४ को १७ र ४२७ को १८ र ४२४ को २६ नम्बरको सीमा स्तम्भहरु हराएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरका सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीले बताए । सीमा स्तम्भ हराएको पुष्टि गर्दै उनले भने, “म आएको १ महिना भयो । तर, यो सीमा स्तम्भहरु पहिल्यै हराएको हो । म आएको भोलिपल्ट नै सीमा क्षेत्रमा गस्ती गर्दै जाने क्रममा ती सीमा स्तम्भहरु भेटिएनन् ।” सीमा स्तम्भ हराएको बारेमा आफुले माथिल्लो निकायमा जानकारी गराइसकेको र अहिलेसम्म हराएको सीमा स्तम्भ पुनः गाड्ने वा नगाड्ने भन्ने विषयमा माथिल्लो निकायबाट ठोस निर्देशन नआएको उनले बताए ।
सीमा स्तम्भ हराएको विषयमा जिल्लाका सुरक्षा प्रमुखहरु भने बेखबर रहेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले सीमा स्तम्भ हराएको बारेमा आफुलाई कुनै जानकारी नआएको प्रतिक्रिया दिए । सशस्त्र प्रहरी बल सीमा सुरक्षा १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाहले पनि १०९ वटा सीमा हराएको पुरानो तथ्यांकमात्रै रहेको र नयाँ ५५ वटा सीमा स्तम्भ हराएको बारेमा भने आफुलाई पनि जानकारी नरहेको बताए ।
दुई वर्षअघि नेपाल र भारतका नापी विभागका प्राविधिक र सर्भेक्षकहरुको संयुक्त टोलीले सीमा विवाद टुंग्याउनका लागि सीमा स्तम्भहरुको मर्मत तथा व्यवस्थापन गरेको थियो । सोही क्रममा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ छप्कैयामा भारततर्फको सीमा स्तम्भ नेपाली नागरिकको व्यक्तिगत जग्गामा परेपछि विवाद भएर अहिले सीमा व्यवस्थापन गर्ने कार्य भने रोकिएको छ ।