मातृका दाहाल
सोमवार, कार्तिक १९, २०७५
1252

“सुरक्षा चुनौती भएका क्षेत्रमा बढी कभर हुनेगरी फौजलाई विभिन्न किसिमका गस्तीमा तैनाथ गराइएको छ,” सैनिक स्रोतले भन्यो, “अस्थरता, विखण्डन, अराजकतालगायत अपराधजन्य गतिविधिमा संलग्नका गतिविधि नियन्त्रण यसको मुख्य लक्ष्य हो ।”

नेपाली सेनाले सुरक्षा स्थिति जटिल बनेको निष्कर्षसहित करिब १३ हजार फौजलाई हतियारसहित नियमित गस्तीमा खटाएको छ । विभिन्न आपराधिक तथा पृथकतावादी समूहका गतिविधि एकपछि अर्को गर्दै बढेको निष्कर्ष निकाल्दै सेनाले स्थानीय नागरिकमा सुरक्षा प्रत्याभूति दिलाउन ३ तहको नियमित गस्तीलाई तैनाथ गराएको हो ।
सेनाले सशस्त्र द्वन्द्वकालकै शैलीमा नियमित गस्ती थालेसँगै मुलुकको आन्तरिक सुरक्षा अवस्था अति नै संवेदनशील अवस्थामा पुगेको पुष्टि गरेको छ । केही साता अघिमात्रै प्रधानसेनापति पूर्णचन्द्र थापाले पत्रकार समेलन नै गरेर आपराधिक तथा पृथकतावादी समूहका गतिविधि भइरहे सेना चुप लागेर नबस्ने चेतावनी दिएका थिए । गस्तीका क्रममा अन्य सुरक्षा निकायसँग समेत सुरक्षा व्यवस्थापनबारे समन्वय थालिएको सैनिक अधिकारीहरूले जनाएका छन् । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’, सीके राउत, अन्य जातिय तथा सशस्त्र समूहका आपराधिक तथा पृथकतावादी गतिविधि बढेको बताइरहेका बेला सेनाले देशभर नियमित गस्तीमा फौजलाई तैनाथ गराएको हो ।

सैनिक अधिकारीले यो गस्तीलाई अन्य सुरक्षा निकायलाई सहयोग पु¥याउन तथा अवाञ्छित गतिविधि नियन्त्रणका लागि भएको स्पष्ट पारेका छन् । यो गस्ती अन्तर्गत १३ हजार ५ सय भन्दा बढी फौज खटिएको सैनिक मुख्यालयले जनाएको छ ।
“सुरक्षा चुनौती भएका क्षेत्रमा बढी कभर हुनेगरी फौजलाई विभिन्न किसिमका गस्तीमा तैनाथ गराइएको छ,” सैनिक स्रोतले भन्यो, “अस्थरता, विखण्डन, अराजकतालगायत अपराधजन्य गतिविधिमा संलग्नका गतिविधि नियन्त्रण यसको मुख्य लक्ष्य हो ।”
सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले छोटो, मध्यम र लामो दूरीको गस्तीबाट आम नागरिकमा सुरक्षा प्रत्याभूति बढाउनुका साथै सम्बन्धित क्षेत्रको वस्तुस्थिति, नियमित शारीरिक व्यायाम, नागरिक–सैनिक सम्बन्धलगायतमा टेवा पुग्ने बताए ।
नेपालको संविधान २०७२ अनुसार मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट निर्णय भएपछि मात्रै सेना परिचालन गर्न सकिने प्रावधान छ । तर सेनाले थालेको यो गस्ती संवैधानिक प्रावधानअनुसार भने छैन । सेनाले यसलाई फौजको शारीरिक अभ्यासकै रुपमा लिएको जनाएको छ । गस्तीकै क्रममा कुनै अप्रिय घटना हुने अवस्था आएमा तत्काल जवाफी कारबाही गर्नुपरेमा सरकारको अनुमति आवश्यक पर्ने सैनिक अधिकारीले स्पष्ट पारे ।
सेनाले यस्तो गस्ती माओवादी सशस्त्र द्वन्द्वका समयमा सञ्चालन गर्दै आएको थियो । सैनिक मुख्यालयका अनुसार छोटो दुरीको गस्ती (सर्ट रेञ्ज पट्रोल), मध्यम दुरीको गस्ती (मिडियम रेञ्ज पट्रोल) र लामो दूरीको गस्ती (लङ रेञ्ज पट्रोल)मा ब्यारेकबाट १३ हजार ५ सय फौजलाई परिचालन गरिएको छ ।
एसआरपी अन्तर्गत ५ हजार ६१६, एलआरपी अन्तर्गत ३ हजार ३४८ र एमआरपी गस्तीअन्तर्गत ४ हजार ५३६ फौज परिचालन गरिएको छ ।
तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले लागू गरेको यो सुरक्षा रणनीतिलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले निरन्तरता दिएका छन् । सेवाबाट अवकास लिनुअघिको १ महिने बिदामा बस्नुअघि गत साउन २३ गते प्रधानसेनापति क्षेत्रीले पनि स्थानीय जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन सर्ट, लङ तथा मिडियम दूरीको सुरक्षा गस्ती सञ्चालन गरिएको बताएका थिए ।
“विभिन्न किसिमका गस्तीले आम नागरिकमा सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन, द्वन्द्वकालमा राखिएका ‘माइन रिस्क म्यानेजमेन्ट’ तथा फौजलाई शारीरक रुपमा तन्दुरुस्ती राख्न मद्दत पुग्छ,” सैनिक प्रवक्ता भण्डारीले भने, “यदि कोही कसैलाई गस्तीप्रति डरत्रास, भ्रम वा कुनै किसिमको गुनासो भए स्पष्ट रुपमा भन्नुहोस्, हामी यसबारे बुझाउने कोसिस गर्नेछौं ।” सैनिक प्रवक्ता भण्डारीले हरेक ब्यारेक आसपासको क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी राख्नुपर्ने दायित्व सेनाको पनि भएकोले यसलाई अन्यथा लिन नहुने बताए ।