छैठौ म्याग्दी महोत्सव आजदेखि
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४
169


जिल्लाको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने उद्देश्यले शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक व्यापारिक मेला सुरु हँुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको छ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।
“म्याग्दीको पर्यटन, जलविद्युत, कृषि, पशुपालन र वनपैदावारको क्षेत्रमा रहेको सम्भावनाको प्रचारप्रसार गरी लगानीकर्तालाई आकर्षीत गराउने उद्देश्य रहेको छ” अध्यक्ष कर्माचार्यले भने “म्याग्दीलाई समेटेको कालीगण्डकी कोरीडोर सडक आयोजना र कोरला नाका सञ्चालन गराउन महोत्सव मार्फत सरकारलाई दवाव सिर्जना गर्छौ ।”
बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने महोत्सवको पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । स्थानीय उत्पादन, कृषि, पशुपालन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, लोकदोहोरी गित प्रतियोगिता, कलाकारहरूबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी, रमाईलो मेला महोत्सवको आकर्षण रहने महासचिव लिलाराम गौतमले बताए । पर्यटन प्रर्वद्धनका लागि कालीगण्डकीमा र्याफ्टीङ र बेनी देखि लभहिलसम्म घोडा सफारी गराइने भएको छ । २ सय वटा व्यवसायीक स्टल रहने भएका छन् । स्थानीय उत्पादनका स्टललाई निशुल्क प्रर्दशनीको व्यवस्था मिलाइएको छ । महोत्सवलाई लक्षित गरेर बेनीका बासिन्दाले बजार झकीझकाउ बनाएका हुन् । बेनीको सार्वजनीक स्थल सरसफाई गरेर चिटिक्क बनाइएको छ । स्थानीयबासीले ध्वजा पटकाले सिगारेर बजारलाई बिवाह घर जस्तै बनाएका छन् ।

विभिन्न संघ संस्था, व्यवसायीक प्रतिस्थानहरूले टोल टोलमा स्वागतका लागि तुल ब्यानर राखेका छन् । बजार प्रवेशका मुख्य नाकाहरूमा स्वागतद्धार निर्माण गरिएको छ । सुरक्षा, प्रचारप्रसार, स्टल निर्माण, आर्थिक संकलन, अतिथी सत्कार, टिकट बिक्री लगायत व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको दितृय उपाध्यक्ष राजेश शाक्यले बताए । महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ भने छ करोडको कारोबार हुने अनुमान गरिएको छ ।