मातृका दाहाल
आइतवार, पुष २९, २०७५
716

टिप्पणी

प्रधानसेनापति पूर्णचन्द्र थापा भारतीय स्थल सेनाको ‘मानार्थ महारथी’को सम्मान पाउने नेपालका २० औं प्रधानसेनापति बनेका छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति थापालाई शनिबार विशेष समारोहका बीच भारतीय स्थल सेनाको ‘मानार्थ महारथी’ (सेनाध्यक्ष)को दज्र्यानी प्रदान गरे । 
केही वर्ष अघिमात्रै भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतले पनि नेपालको मानार्थ सेनापतिको दज्र्यानी राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिएका थिए । उनी नेपाली सेनाको मानार्थ सेनापति लिने २७ औं भारतीय सेनापतिसमेत हुन् । यसअघि २०७२ सालमा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उक्त सम्मान पाएका थिए । क्षेत्रीअघिका सेनापतिहरुले पनि यो सम्मान पाइसकेका छन् । त्यसो त दुवै देशका सेनापतिले पदबहाली गरेको केही महिनाभित्रै यो सम्मान एकअर्का मुलुकका राष्ट्रप्रमुखबाट ग्रहण गर्दै आएका छन् । वि.सं २००७ सालदेखि नै दुवै देशका सेनापतिले एकअर्का मुलुकको मानार्थ सेनापतिको चलनलाई कायम गर्दै आएका छन् । यद्यपि राणा प्रधानमन्त्री वीरशमशेरका पालामा तत्कालिन ब्रिटिस सरकारले मानार्थको चलन सुरु गरेको थियो । पछि बेलायतको उपनिवेशबाट भारत मुक्त भएपछि वि.सं २००७ सालबाट दुवै देशका प्रधानसेनापति एकअर्का मुलुकको मानार्थ रहने परम्परा कायम भएको हो । तर ‘मानार्थ’ जस्तो सम्मानलाई भारतले स्वार्थपूर्तिको हतियार नै बनायो । जुन विषयले महिनौं दुई देशबीचको सम्बन्धाई नै तिक्ततामा पनि परिणत गरेको थियो । सैन्य कूटनीतिक मामिलाका जानकार पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात भन्छन्, “मानार्थ जस्तो सम्मानलाई भारतले २०४३÷०४४ ताका अपमानकै शैलीमा प्रदर्शन ग¥यो, त्यसैको प्रतिफल सच्चितशमशेर राणाले भारतबाट त्यहाँको मानार्थ सेनापतिको दज्र्यानि लिन पाउनु भएन ।” राणाको अवकाशपछि राजनीतिक घटनाक्रम पनि फेरियो । गडुलशमशेर राणा सेनापति भएपछि त्यो मानार्थले पुनः निरन्तरता पाएको थियो ।

२०४४ सालमा नेपाली सेनाको प्रधानसेनापति सच्चितशमशेर थिए । राजनीतिक घटनाक्रमसँगै नेपालले चीनसँग एयरगन लगायतका हतियारसहित सैन्य बन्दोबस्तीका सामान किन्ने निधो ग¥यो । ती हतियार भारतसँग भन्दा निकै सस्तोमा पनि किनिएको थियो । त्यहीताका भारतले नेपालमाथि नाकावन्दी नै लगायो । नाकाबन्दी सामनाकै क्रममा प्रधानसेनापति राणाको बंगलादेशको भ्रमण तय भयो । भ्रमण पूर्व तालिका अनुसार नै सैनिक एभ्रो जहाज (फिक्स विङ जहाज)मा राणा बंगलादेश जाने भए । तर भारतले उक्त जहाजलाई आफ्नो देश हुँदै जान अनुमति नदिएपछि राणा निजी कम्पनीको जहाजबाट भ्रमण गरेको पनि पूर्व सहायकरथी बस्न्यात सम्झन्छन् ।
भारतमा मानार्थ सम्मान लिन जानु अगावै हतियार खरिद काण्डले दुई देशबीच सम्बन्धमा तिक्तता मात्रै आएन, भारतले करिव १५ महिना नाकाबन्दी लगायो र सच्चित उक्त सम्मान लिनबाट वञ्चित भएका थिए ।
नेपाल–भारत मामिलाका जानकार तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार भारतले लगाएको १५ महिने नाकाबन्दी जनआन्दोलनपछि २०४६ मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भारत भ्रमणपछि खुलेको थियो । त्यतिबेला भारतमा राजीव गान्धी प्रधानमन्त्री र कृष्णस्वामी सुन्दरजी प्रधानसेनापति थिए । जनआन्दोलन सफल भएसँगै सेनापति बनेका गडुलशमशेर पछि भने मानार्थ आदानप्रदानले निरन्तरता पाइरहेको छ ।
व्रिटिश अधीनस्त भारतको ‘व्रिटिश गोर्खा बटालियन’मा नेपाली नागरिक भर्ती हुन थालेपछि तत्कालिन राणा प्रधानमन्त्री वीर शमशेरले वि.सं १९९८ मा ‘मानार्थ कर्णेल’ उपाधि लिएका थिए । त्यसयताको ७७ वर्षदेखि यो परम्परा कायम छ ।
वि.सं २००७ सालमा प्रजातन्त्र स्थापनापछि शासनसत्ता राणाबाट राजामा स¥यो । भारतले राणा प्रधानमन्त्रीलाई दिँदै आएको मानार्थ उपाधि तत्कालिन राजा त्रिभुवनले लिन अस्वीकार गरे । त्रिभुवनकै आग्रहमा तत्कालिन सेनापति बबर शमशेरले जनरल तहको मानार्थ उपाधि लिएका थिए । त्यसपछि भने नेपाल र भारतका सैनिक जनरलहरु एकअर्का मुलुकको मानार्थ सेनापति हुने परम्परा स्थापित नै बनेको छ ।
तर, पूर्व सहायकरथी तथा सैन्य मामिलाका जानकार बस्न्यात मानार्थ सम्मानलाई अब पुनःपरिभाषित गर्नुपर्ने बेला आएको बताउँछन् । “नेपाल दुई ढुंगा (चीन र भारत) बीचको तरुल हो, यसलाई समानताका आधारमा हामीले सम्बन्ध कायम गर्नपर्छ,” बस्न्यात भन्छन्, “हामी किन भारतसँग मात्रै मानार्थ आदानप्रदान गर्ने ? चीनसँग पनि हुनुपर्छ, यसप्रति सरकारले सोच्ने बेला आएको छ ।” बस्न्यातले मानार्थ सेनापतिको अधिकार पनि के के हुने भन्नेमा आम नागरिकले थाहा पाउने गरी सार्वजनिक हुनुपर्ने स्पष्ट पारे ।
३ वर्षअघि प्रधानसेनापति राजेन्द्र क्षत्रीले मानार्थ सेनापतिको सम्मान लिइरहेकै बेला भारतले नेपाली सेनालाई विस्फोटक पदार्थ आयातमा कटौती गरेको थियो । जसका कारण सेनाको सुन्दरीजल र मकवानपुर स्थित गोलीगठ्ठा उत्पादन केन्द्र बन्द हुन पुगेका थिए ।
“हाम्रो देशका सेनापति राजेन्द्र क्षेत्री मानार्थ सम्मान लिन गएकै बेला भारतले बिस्फोटक पदार्थ आयातको अघोषित नाकाबन्दी गरेको थियो,” बस्न्यात भन्छन्, “यो सम्मान कि अपमान ? एकातिर सेनापति भारतमै मानार्थ लिइरहने, अर्कातर्फ त्यहीबेला विस्फोटक पदार्थ आयातमै नाकाबन्दी ?”