कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५
535

तेस्रो लिंगीको पहिलो आत्मकथा बजारमा आएको छ । शनिबार काठमाडौंको बिजुलीबजारस्थित कुञ्ज थिएटरमा भूमिका श्रेष्ठको आत्मकथा ‘भूमिका’को कलाकार रमेश उप्रेती, नायिका रेखा थापा र पूर्व मिस नेपाल मल्भिका सुब्बाले विमोचन गरे ।
कार्यक्रममा लेखन कुञ्जका अध्यक्ष कमल ढकालले हरेक मान्छेलाई किताबमा बदल्ने अभियानको पछिल्लो कडीको रुपमा भूमिका श्रेष्ठको आत्मकथा आएको बताए । उनले भने, “तेस्रोलिंगीलाई बुुझ्ने माध्यमको रुपमा यो किताब माइलस्टोन हुने मलाई विश्वास छ ।” नीलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले नेपालमा आफूहरुलाई अझै अपहेलित र तल्लो दर्जाको रुपमा हेरिएकोमा रोष व्यक्त गर्दै किताबका माध्यमबाट त्यो कुरा चिरिने आशा व्यक्त गरे ।
कार्यक्रममा समिक्षात्मक टिप्पणी राख्दै साहित्यकार तथा पत्रकार अश्विनी कोइरालाले पुस्तकले धर्मका कुरादेखि लिएर विकास र साहित्यलाई जोडेकोमा खुशी व्यक्त गर्दै पुुस्तकको सफलताको कामना गरे । कलाकार रेखा थापाले भूमिकालाई आफूले पहिलेदेखि नै चिनेको तर किताबको रुपमा र लेखकको रुपमा चिन्न पाउँदा गर्व लागेको बताइन् । लेखक भूमिकाले आफूहरुलाई छोरीको रुपमा हेर्न आग्रह गर्दै आफू छोरी भएकोमा गर्व लागेको बताइन् ।