माइतीघर र रत्नपार्कमा प्रदर्शन निषेध
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
450

 जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबैभन्दा धेरै विरोध प्रदर्शन हुने माइतीघर र रत्नपार्क क्षेत्रमा प्रदर्शन गर्न निषेध गरेको छ । आइतबार विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल भनेर ७ ठाउँ तोकेको हो । सबैभन्दा धेरै विरोध प्रदर्शन हुने माइतिघर मण्डला क्षेत्र र रत्नपार्कमा भने अब प्रदर्शन गर्न पाइनेछैन ।
सडकमा असर नपर्ने गरी ७ ठाउँलाई विरोध प्रदर्शन तथा सार्वजनिक कार्यक्रमका लागि भनेर तोकिएको छ । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जारी गरेको सूचनामा खुलामञ्च, तीनकुनेको चौर, भगवान पाउको भुईंगेल चौर, पेप्सीकोलाको खेलमैदान, सानो गौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउण्ड र सिफलको चौरलाई विरोध प्रदर्शनस्थल तोकिएको छ ।
‘मिति २०७५ बैशाख १६ गतेदेखि तोकिएको स्थानमा मात्र आफ्ना कार्यक्रमहरु सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ विज्ञप्तिमा उल्लेख छ ।
गृह मन्त्रालयको निर्देशनअुनसार जिल्ला सुरक्षा समितिको बैठकले तीन निर्णयहरु गरेको हो । शान्ति सुरक्षा र सडकमा अवरोध हटाउने उदेश्यले प्रदर्शनी क्षेत्र तोकिएको हो । गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजनाको ३१ नम्बर बुँदामा यससम्बन्धी प्रावधान छ ।