कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
248

बर्दिया-बर्दियाको प्रमुख व्यापारिक केन्द्र राजापुरका बासिन्दाले ६ दशकपछि जग्गाधनी पुर्जा पाएका छन् । २०११ सालमा बस्ती बसालिएदेखि जग्गाधनी पुर्जा पाउन नसकेका राजापुरवासीले ६३ वर्षपछि धनीपुर्जा पाएका हुन् ।
जग्गाधनी पुर्जाका लागि निवेदन दिएका ४ सय ३८ मध्ये पहिलो चरणमा १ सय ५८ जनालाई बहालविटौरी विधिबाट लालपुर्जा वितरण गरिएको बहालविटौरी जग्गा दर्ता समितिको कार्यालयले जनाएको छ । उनीहरूलाई एक समारोहकाबीच कृषि, भूमि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले धनीपुर्जा प्रमाणपत्र वितरण गरेकी हुन् ।
बहाल विटौरी जग्गा दर्ता समितिको कार्यालय राजापुरका अनुसार प्राप्त भएका निवेदनमध्ये १ सय ५८ जनालाई वितरण गरिएको हो । अन्य धेरैको नागरिकता विवाद, हकदाबी गर्न नआउनु र समितिलाई दिइएको समय अभावका कारण सबै जग्गा दर्ता गरी पुर्जा वितरण हुन नसकेको समितिका अध्यक्ष बागेश्वरदत्त ओझाले बताए ।

बाँकी पुर्जा वितरणमा अन्योल
तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितको पहलमा राजापुर बजारलाई दर्ता गरी बहालविटौरी विधिबाट पुर्जा वितरण गर्ने निर्णय सरकारको गत पुस १३ गते गरेको थियो । सोहीबमोजिम पुस १९ मा राजपत्रमा सूचना प्रकाशन गरी तीन महिनाभित्र काम सक्ने गरी बहाल विटोरी जग्गा दर्ता समितिको कार्यालय स्थापना गरेर दर्ता प्रक्रिया अगाडि बढाइएको थियो । सो अवधिमा सूचना प्रकाशन, निवेदन संकलन, हकदाबीलगायत प्रक्रियामै अधिकांश समय बितेपछि १ सय ५८ जनालाई मात्र वितरण गर्न भ्याइएको समितिले जनाएको छ । समितिलाई सरकारले दिएको समयसिमा सकिएकोले बाँकीलाई वितरण गर्ने प्रक्रिया अन्योलमा रहेको समिति अध्यक्ष ओझाले बताए । “हामीले छोटो समयमा सक्ने जति काम गर्यौं,” उनले भने, “सरकारले थप निर्देशन दिएको छैन, अब बाँकीको के हुन्छ थाहा छैन ।” समितिको म्याद सकिएसँगै राजापुर मालपोत कार्यालयमा रहेको समितिको बोर्ड तथा कार्यालय आइतबारदेखि हटाइएको उनको भनाइ छ ।
तर पुर्जा वितरण गर्नेक्रममा कृषि, भूमि तथा तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले बाँकी रहेकालाई प्रक्रिया पुर्याएर क्रमशः वितरण गर्दै जाने बताइन् । बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण रेग्मीले सरकारले तत्कालै समितिको म्याद थप गरी बाँकी रहेकालाई पुर्जा वितरण गर्नुपर्ने बताए । बाँकी रहेकाको म्याद थपमा ढिलाइ भए आफूहरू आन्दोलनमा उत्रिन बाध्य हुने उनको भनाइ छ ।

लक्ष्मण ढुंगाना