दम्पत्तीले ठड्याए घर
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
465

सानै भए पनि उनीहरूको एउटा घर थियो ढुंगामाटाको । एक्कासि भूकम्प आयो । अनि घर ढाल्यो । भूकम्प आउँदा आँगन सफा गरिरहेकी सुकुमायालाई घरले थिच्यो । झ्यालको चौकसमा टाँड परेर उनले अर्काे जीवन पाइन् । सुकुमायालाई अहिले सम्झना छ, घरले पुरेपछि गाउँवासीले निकालेको ।
चौतारा साँगाचोकगढी नगरपालिका–५, डाँडापारिकी सुकुमाया (५०)की, श्रीमान् गरुड तामाङ (५६) का दुई छोरा र एक छोरी छन् । सबैको विवाह भइसक्यो । वृद्धावस्थामा सहारा दिने खास छैनन् । खेतीपातीबाट भएको उत्पादन नै उनीहरूको घरबार धान्ने स्रोत हो । भूकम्प जाँदा गरुड मांखाको चिम्लिङमा काम विशेषले गएका थिए ।
भूकम्प लगत्तै अरु गाउँलेको जस्तो थियो, यी दम्पत्तीको पनि जीवन उस्तै गरी बित्यो । झण्डै डेढ वर्षपछि उनका छिमेकीले नयाँ घर बनाउन थाले । आर्थिक अभावका कारण उनीहरूले नयाँ आवास निर्माणका लागि कुनै सुरसार गर्न सकेनन् । गएको मंसिरमा सरकारले चैतसम्म स्थायी आवास निर्माणको पहिलो चरण (डीपीसी) पार नगरे अनुदान नदिने घोषणा गरेपछि तामाङ दम्पत्ती अन्योलमा परे । जिल्लैभर पुनर्निर्माणले गति लिइरहेको समयमा उनीहरूलाई कामदार अभावले पिरोल्यो । श्रीमान् गरुड २० वर्षदेखि गाउँमा डकर्मी पेशा गर्दथे । त्यसैले उनैले आँट गरे, “एक्लै घर बनाउँछु ।” उनले श्रीमतीलाई आग्रह गरे, “तिमी मलाई इँटा समाउन मात्रै दैऊ, घर हामी दुई मिलेर बनाऔं, अरु सबै काम म गर्छु ।” श्रीमान्को त्यो अभिव्यक्ति पागलपन जस्तै लागेको सुकुमाया बताउँछिन् । “श्रीमान्ले भनेपछि नाइँ भन्न सकिन अनि डराइडराई साथ दिउँला भने,” सुकुमाया भन्छिन्, “त्यही सानो आँटले अहिले हामी सफल भएका छौं ।”
आवास निर्माणको पहिलो किस्ता पाएपछि उनीहरूले घर बनाउन आँटेका भने थिए । तर, थप आर्थिक स्रोत र कामदार नभएकाले त्यत्तिकै थन्किएको थियो । जग्गा धितो राखेर बैंकबाट केही ऋण पाएपछि भने तामाङ दम्पत्तीमा केही आँट पलायो । दुई पटक गरी गरुडले ८४ हजार रुपैयाँको इँटा ल्याए । ३० हजारको डण्डी र २८ हजारको बालुवामात्रै निर्माण सामग्रीका लागि खर्चिएको उनले बताए । “पानीसमेत किन्नुपर्दा सोचेभन्दा बढी पैसा खर्च भयो,” उनले भने, “१५ हजारभन्दा बढीको पानी किनें, एक हजार लिटरलाई १२ सय तिरें ।” उनले आफूलाई आवश्यक परेपछि पानीकै लागि पनि जति भन्यो त्यति तिर्नुुपरेको गुनासो गरे । दम्पत्ती आफंैले आवास निर्माण आँटेका कारण ज्यामी र मिस्त्रीको खर्च जोगिएको छ । गरुडको अनुभवमा एक लाख ३० हजारभन्दा बढी रुपैयाँ ज्यामी र मिस्त्रीलाई लाग्थ्यो ।
मंसिर २८ बाट उनीहरूले आवास निर्माण पनि सुरु गरे । दम्पत्ती मात्रैको मेहनतले अहिले उनीहरूको घर ठडिइसकेको छ । पुनर्निर्माणमा उनीहरूको लगाव, परिश्रम र मेहनतले घर ठडिएपछि अहिले गाउँवासी छक्क छन् । घर बनाउनका लागि उमेरले पाँच दशक कटिसकेका दम्पत्ती मात्रै जुट्दा गाउँलेले पत्याएका थिएनन् ।
“जीवनमै पहिलोपटक इँटा उचाँले, मसला बनाएँ,” सुकुमाया आफूले गरेको मेहनतप्रति गर्व गर्छिन्, “अहिले त सपनाजस्तै लाग्छ, भगवानले तँ आँट म पु¥याउँछु भन्छन् भन्थे हो रहेछ ।” कहिल्यै ज्यामी काम नगरे पनि दुई जनाले मात्रै काम गरेर पनि नयाँ घर बनेकोमा उनी अहिले खुसी छिन् । सुकुमायालाई मसाला बनाउने भन्नेबारे केही थाहा थिएन । यसअघिको घर उनका बुबाले बनाइदिएका थिए ।
भूकम्पपछिको पुनर्निर्माणका क्रममा मंसिरबाट सुरु गरेको घर अहिले निर्माण सम्पन्न भइसकेको छ । दुईकोठे चिटिक्कको घरमा बस्न पाउँदा यी दम्पत्तीले आवास निर्माणका क्रममा पाएको दुःख भुलिसके । “आफ्नो कालमा यत्ति नै गर्नुपर्ने रहेछ भनेर लेखिएको रहेछ,” उनी भन्छिन्, “यो सिंगो टोल सबैले अर्मपर्म र बाहिरबाट आएका ज्यामी मिस्त्री लगाएका छन् ।” उनले श्रीमान् श्रीमतीमात्रै मिलेर बनाएको बताइन् । यी दम्पत्तीका छोरा ठेकेदार हुन् । छोराले आमाबाबुलाई घर कहिले निर्माण गर्ने भनेर नसोधेका हैनन् । छोराले काम गर्ने मान्छे पठाइदिन्छु पनि भनेका थिए । छोराहरूको पनि आफ्नै काम भएकाले श्रीमान् गरुडको आँटमा सुकुमायाले साथ दिएपछि घर ठडिएको हो ।
मेहनतअनुसार घर निकै अगाडि नै सकिने थियो । गाउँमा विवाह, व्रतबन्धले केही पर धकेल्यो । अझै सामग्री अभावको समस्याले निकै सताएको गरुड सुनाउँछन् । “कहिले बालुवा त कहिले सिमेन्ट सकिन्छ,” गरुड भन्छन्, “सामग्री समयमै नपाउँदा बीचबीचमा काम रोकियो ।” घर बनाउने क्रममा आइपरेका बाधासँग आफू भने नडराएको उनी बताउँछन् । दुवै जनाले खेताला नराख्ने सल्लाह गरेपछि सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु भन्दै गरुडले सुकुमायालाई हौसला दिएका थिए । सुकुमायाले पनि आवास निर्माणको सबै चरणमा कर्म नै यस्तै हो, दुःख आफ्नै लागि भन्दै गरुडलाई साथ दिएकी थिइन् ।
अहिले नयाँ घर निर्माण भइसकेपछि उनीहरूले नयाँ जीवन पाएको अनुभूत गरेका छन् । घर छेउछाउको खाली जग्गामा तरकारी लगाउने सुकुमायाको योजना छ । बाख्रा, कुखुरा पालेर घर खर्च धन्ने उनको अर्काे योजना छ ।
वृद्ध दम्पत्तीमात्रैले घर निर्माण सकेपछि गाउँवासीले उनीहरूलाई नमुना जोडिको उपमा दिएका छन् । स्थानीय कंसे तामाङले उनीहरूले घर बनाउँदा आफूहरू खुसी रहेको बताए । “नाताले गरुड भतिजा पर्छन्, निकै मेहनतिला छ,” उनले भने, “अब आफ्नो घर बनाउन पनि उसैलाई बोलाउने योजना छ ।” उनले भतिज गरुडले आफूलाई पनि मेहनत गरेर घर बनाउन सल्लाह दिएको बताए । उनले गरुड दम्पत्तीलाई गाउँवासी सबैले मिलेको जोडी भनेर प्रशंसा गर्ने गरेको सुनाए ।
-किशोर बुढाथोकी