कारोबार संवाददाता
सोमवार, श्रावण २८, २०७५
551

तेह्रथुममा रासायनिक मलको अभाव भएको छ । बाली लगाउने बेला नै मल अभाव भएपछि किसान समस्यामा परेका छन् । जिल्लामा गठित मल आपूर्ति तथा अनुगमन समिति निष्क्रिय भएपछि मल अभाव भएको हो । सरकारी बेवास्ताका कारण मल ढुवानी नहुँदा अभाव भएको गुनासो किसानको छ । “बाली लगाउने र गोडमेल गर्ने बेलामा मल नहुँदा समस्या भएको छ,” लालीगुराँस नगरपालिकाकी शान्ता राईले भनिन्, “पाँच बोरा मल आवश्यक पर्ने भए पनि पाउन सकेको छैन ।”
गतवर्षसम्म मल आपूर्ति तथा अनुगमन समितिको सिफारिसमा मल ढुवानी तथा बिक्री वितरण हुँदै आएको थियो । तर, यो वर्ष प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कृषि विकास कार्यालयमा रहने यो समिति कामविहीन छ । सरकारी सिफारिस नहुँदा यसअघि मल ढुवानी गरेर बिक्री गर्दै आएका सहकारी संस्थाले मल ढुवानी गर्न नपाएको मितेरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष फौद सुवेदीले बताए ।

सरकारले किसानलाई आवश्यक पर्ने रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीमार्फत् अनुदानमा वितरण गर्दै आएको छ । म्याङ्लुङमा मितेरी र फेदाप कृषि सहकारी संस्थाले मात्रै मल बिक्री वितरण गर्ने गरेका छन् । जिल्लामा सबैभन्दा बढी माग युरिया, डीएपी र पोटास मलको छ । कार्यालयको सेवा सुविधा नै ठप्प भएपछि समिति पनि निस्कृय भएको र सिफारिस हुन नपाएको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कर्मचारी गोपाल आचार्यले बताए ।
मलका विषयमा पटक–पटक गुनासो आए पनि त्यसको उचित व्यवस्थापन गर्न नसकिएकोे सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए । “जिल्लामा आवश्यक मलका लागि साउनभित्रै सिफारिस नदिए एक वर्षसम्म मल अभाव हुने सम्भावना छ,” उनले भने ।