अनिश शर्मा गैरे
सोमवार, आश्विन २९, २०७५
495

गुल्मी-मुसिकोट नगरपालिकाले युवाको खेलकुद चाहनालाई मध्यनजर गर्दै खेलमैदान निर्माण कार्यलाई तीव्रता दिएको छ ।
गत वर्ष प्रत्येक वडालाई ५ लाख रुपैयाँ रकम विनियोजन गर्दै अधिकांश वडामा खेलमैदान निर्माण सम्पन्न गरिसकेको छ भने केही वडामा बन्ने प्रक्रियामा रहेका छन् । त्यसैगरी मुसिकोट नगरपालिका–४ स्थित ग्वादीमा नगरपालिकास्तरीय खेलमैदान निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरी काम सुरु भएको छ । २९ करोडको लागत अनुमान गरिएको नगरस्तरीय रंगशाला निर्माणका लागि यस वर्ष प्रदेशबाट आएको ७५ लाख रुपैयाँ र नगरपालिकाको २५ लाख गरी एक करोड रुपैयाँ बराबरको काम हुन लागेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

हालैमात्र वडा नम्बर ७ मा खेलमैदान निर्माणकार्य चलिरहेको छ । वामीटक्सार बसपार्क माथि करिब ७ रोपनी क्षेत्रफलमा खेलमैदान निर्माण प्रक्रिया चलिरहेको छ । खेलमैदान निर्माणका लागि मुसिकोट नगरपालिकाका जनस्वास्थ्य संयोजकसमेत रहेका ढालबहादुर जिसीले एक रोपनी बढी जग्गा निःशुल्क रूपमा वडालाई दान गरेका छन् भने बाँकी ६ रोपनी सार्वजनिक जग्गा प्रयोग गरिएको छ ।
“गत वर्ष विनियोजन भएको ५ लाख र यस वर्ष विनियोजन भएको ६ लाख रुपैयाँ गरी ११ लाख रुपैयाँमा काम भइरहेको छ,” वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्लेले भने, “नगरपालिकाको एक वडा एक खेलमैदान अभियानअन्तर्गत यहाँ काम भइरहेको छ ।”
उनले अब केही सातामै खेलमैदानमा खेलकुदका कार्यक्रमका साथै अन्य कार्यक्रम गर्न सकिने जानकारी दिए । करिब ८० मिटर लम्बाइ तथा ४० मिटर चौडाइ हुने सो मैदानमा भलिवल, फुटबललगायतका खेलकुद कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।
नगरप्रमुख सोमनाथ सापकोटाले राष्ट्र समाज विकासको आधार पनि खेलकुद भएका कारण नगरापलिका खेलकुद विकासको क्षेत्रमा पनि गम्भीर भएर लागेको जानकारी दिए । हामी शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनका लागि पनि खेल खेल्नुपर्ने भएको भन्दै उनले हरेक वडामा खेलमैदानको ब्यवस्था हुने बताए ।
हालसम्म वडा नम्बर १ का लागि सरस्वती माविको मैदान, वडा नम्बर २ का लागि खस्थोक माविको मैदान, ३ नम्बर वडाका लागि पेगा, ४ नम्बरका लागि ग्वादीकाचौर, ५ नम्बरको लागि ढोडेनी बगर र सिमपोखरा, ६ नम्बरको लागि स्वारा, ७ नम्बरका लागि वामीटक्सार, ८ नम्बर वडाका लागि अर्जे र ९ नम्बर वडाका लागि पनि खेलमैदान निर्माण भइसकेको उनले जानकारी दिए ।
धेरैजसो क्षेत्रमा निःशुल्क रूपमा जग्गा उपलब्ध भएका तथा केही क्षेत्रमा खरिद गरिएको छ भने केही खेलमैदान निर्माणका लागि सार्वजनिक जग्गाको पनि प्रयोग गरिएको छ ।

विकासका लागि खेलकुद
मुसिकोट नगरपालिकाले खेलकुदको विकासका लागि नगरस्तरीय खेलकुद विकास समिति गठन गरेर अघि बढेको छ । जिल्ला खेलकुद विकास समितिका सदस्य नवीन कक्षपतिको अध्यक्षतामा समिति गठन गरी अघि बढेको बताएको छ । अध्यक्ष कक्षपतिले नगरपालिकासँगको सहकार्यमा नगरक्षेत्रभित्र खेलकुद गतिविधि अगाडि बढाउँदै नयाँनयाँ युवा खेलाडी उत्पादन गर्ने बताए । उनले नगरपालिकालाई खेलाडीको तर्फबाट पनि चिनाउने गरी अगाडि बढ्ने बताए ।