कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५
243

लमजुङ-उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको १२ औँ संस्करण लमजुङमा सुरु भएको छ । उच्च हिमाली क्षेत्र अन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१८’ साइकल दौड प्रतियोगिता बेसीशहरबाट सुरु भएको हो । उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको १२ औँ संस्करण लमजुङमा सुरु भएको छ । उच्च हिमाली क्षेत्र अन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१८’ साइकल दौड प्रतियोगिता बेसीशहरबाट सुरु भएको हो । पाँच दिनसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर पाउनेछन् । प्रतियोगितामा नेपालसहित ११ देशका ३३ जना प्रतियोगी सहभागी भएका छन् । प्रतियोगितामा एक महिलासहित आठ जना नेपालीले पनि सहभागिता जनाएका छन् ।अघिल्ला वर्षहरुमा काठमाडौँबाट सुरु हुने प्रतियोगिता दशौँ संस्करणदेखि बेसीशहरबाट सुरु हुन थालेको हो । बाजागाजाका साथ उद्घाटन भएको अन्तर्राष्ट्रिय प्रतियोगिताको उद्घाटन बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले गरे । बेलायती नागरिक फिल इभान्सको आयोजना र नेपालको माउण्टेन बाइकर्स कम्पनीको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको लागि नेपालको उच्च हिमाली क्षेत्र उत्तम भएकोले प्रत्येक वर्ष नेपालमा प्रतियोगिता आयोजना गरिएको निर्देशक इभान्सले बताए । प्रतियोगिताबाट नेपालको पर्यटन प्रर्वद्धनका लागि सहयोग पुगेको प्रतियोगिता संयोजक अजय पण्डित क्षेत्रीले बताए । “मैले यसअघिका ११ संस्करणसम्म प्रतियोगीको रुपमा सहभागी भएँ,” उनले भने, “५ पटक उपाधि जितेँ, अहिले व्यवस्थापनमा खटिएको छु ।” प्रतियोगितामा विभिन्न देशका प्रतियोगिहरु सहभागी हुने र उनीहरु आफ्नो देश फर्केर नेपालको पर्यटन प्रवद्र्धन गर्ने उनको विश्वास छ । उनले भने, “प्रत्येक पटक विदेशी प्रतियोगिको सहभागिता बढ्दै गएको छ, प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धन भएको छ ।”पैदल यात्राको लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा साईकल दौड प्रतियोगिता आयोजना हुँदा विश्वकै ध्यान केन्द्रित भएको नेपाली महिला प्रतियोगि लक्ष्मी मगर बताउँछिन् । साईकल दौड प्रतियोगिताकी नेपाल च्याम्पीयनसमेत बनेकी मगरले विश्वका धेरै देशमा साइकल कुदाएको र आफ्नै मुलुकमा पनि विदेशीसँगै प्रतियोगितामा सहभागी हुन पाउँदा गर्व लागेको बताइन् । “म यही रुटमा ६ पटक प्रतियोगी भएको छु । प्रतियोगिता बाहेक ११ पटक यो हिमाली रुटमा साइकल दौडाएको छु,” उनले सुनाइन्  प्रतियोगितामा विश्व च्याम्पीयन कोरी वालेसको समेत सहभागिता रहेको छ । साईकल दौड प्रतियोगितामा विश्व च्याम्पीयनको समेत सहभागिता रहेकोले नेपाली भूमि विश्वको आकर्षक बनेको व्यवस्थापक मुखिया गोतामेले बताए । नेपाल सरकार र पर्यटनसँग सम्बन्धित सरोकारवालाहरुले यस्तो प्रतियोगिता अपनत्व ग्रहण गर्नसके थप व्यवस्थित र आकर्षक हुने उनको विश्वास छ ।प्रतियोगीहरु पहिलो दिन लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङको ताल पुग्नेछन् भने दोश्रो दिन तालबाट माथिल्लो मनाङ पुग्नेछन् । मनाङमा एक दिन विश्राम लिनेछन् र प्रतियोगिताको तेश्रो दिन थोरङला फेदी, चौथो दिन पाँच हजार चार सय १६ मिटर उचाईको थोरङला पास गरी मुस्ताङको मुक्तिनाथ पुग्नेछन् । पाँचौँ दिन मुक्तिनाथबाट म्याग्दीको तातोपानी पुगेर प्रतियोगिता सकिनेछ । प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । यसअघिका वर्षहरुमा १० दिनसम्म गरिने प्रतियोगिता यसपटक भने पाँच दिनमा सीमित गरिएको छ ।

सन्देश पौडेल