कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५
309

वीरगन्ज-वीरगन्जमा शनिबारदेखि सुरु भएको दोश्रो विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगितामा आयोजक वीरगन्ज–११ ले विजयी सुरुवात गरेको छ । वीरगन्जको नारायणी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा वीरगन्ज–११ ले साउथर्न समिति कोलकत्तालाई १ का विरुद्ध ४ गोलले पराजित गरेको हो ।
निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइबे्रकरमा धकेलिएको थियो । टाइब्रेकरमा वीरगन्ज–११ का कृष्ण शाक्य, सिशेस थापा, कृपाकान्त चौधरी र अनुज सिंहले एक–एक गोल गरे । पाहुना टोली भारतको साउथर्न समिति कोलकात्ताको तर्फबाट जर्सी नम्बर १४ का जिभर लाकराले गोल गरेका थिए । पहिलो हाफसम्म निकै दबाबमा रहेको पाहुना टोलीलाई दोश्रो हाफमा पनि घरेलु टोलीले निकै दबाबमा राखेको थियो । खेलमा वीरगन्ज–११ ले १६ वटा र पाहुना टोली साउथर्नले १० वटा मौका गुमाएका थिए । प्रतियोगिताको उद्घाटन वीरगन्जका उद्योगी एवं पूर्व सांसद अनिल कुमार रुंगटाले गरे ।
सो अवसरमा उनले आर्थिक कारोबार बढी हुने वीरगन्जमा खेलकुदका ठूला प्रतियोगिताहरुले पनि थप आर्थिक कारोबारमा सहयोग गर्ने भएकोले यसलाई निरन्तर जारी राख्नुपर्ने बताए । प्रतियोगितामा आइतबार हिमालयन शेर्पा र सशस्त्र प्रहरीको एपिएफबीच प्रतिस्पर्धा हुनेछ । माघ ५ गतेसम्म हुने प्रतियोगितामा त्रिभुवन आर्मी, सिएमजी संकटा, हिमालयन शेर्पा, एपीएफ क्लब, रोयल एफसी सिलगुडी, जनजागृति युवा क्लब सिमरा र आयोजक वीरगन्ज–११ को सहभागिता रहेको प्रतियोगिताका प्रेस संयोजक पंकज श्रेष्ठले जानकारी दिए ।