कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५
264

दमौली-खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोश्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । सहिद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोश्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो ।
व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

व्यास नगरपालिकाले शनिबार दमौलीमा पत्रकार सम्मेलन आयोजना गरी म्याराथन प्रतियोगिताबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको जानकारी दिए ।
प्रतियोगितामा एक सय पचास भन्दा बढी धावकहरुको सहभागिता रहने अनुमान गरिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । गत वर्ष आयोजना गरिएको प्रथम व्यास नगर अल्ट्रा म्याराथनमा तीस जिल्लाका एक सय ४४ धावकहरुको सहभागिता रहेको थियो । जसमध्ये एक सय तेइस धावकहरु अन्तिम विन्दुसम्म पुगेका थिए ।
प्रतियोगितामा प्रथम हुनेलाई असी हजार, दोश्रो हुनेलाई साठी हजार, तेश्रो हुनेलाई नगद पचास हजार र सान्त्वना हुने पाँच जनालाई पन्ध्र-पन्ध्र हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि दश लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले माघ १४ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।