रासस
बिहिवार, आश्विन ४, २०७५
971

बारा-राष्ट्रिय गौरवको आयोजनामा परेको बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अगाडि बढेको छ ।
झन्डै १० वर्षअघि सुरु भएको यो परियोजनाको पहिलो चरणमा चार किल्लामा तारबार र पसाहा खोलामा तटबन्ध बनाउन थालिएको हो । निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा वातावरणीय पक्षलाई लिएर विवाद र बहस भइरहेका बेला परियोजनाले वातावरण मूल्यांकन, मुआब्जा वितरण, ऐलानी जग्गाको लगतलगायतका काम सम्पन्न गरिसकेको छ ।

परियोजनाले विमानस्थलको खोल्चा खोलाबाहेक ८ किलोमिटरभन्दा लामो तारबार गरिसकेको भने पसाह खोलाको ८ सय ३ मिटर तटबन्ध लगाउने काम पनि सकिएको आयोजनाका प्रमुख ओम शर्माले बताए । बाँकी ६ किलोमिटरको काम बहुवर्षीय योजनाअन्तर्गत आगामी आर्थिक वर्षमा पूरा गरिने परियोजनाले जनाएको छ ।
आगामी वर्षभित्र ग्रामीण बस्ती प्रवेश गर्ने मार्गबाहेक सबै स्थानमा तारबार गरिने आयोजनाको लक्ष्य छ । रेखांकन गरिएकौ क्षेत्रमा तारबार लगाएपछि अन्यको प्रवेश निषेध हुने र निर्माण योजनालाई असर नपुग्ने भन्दै तारबारमा आयोजनाले गति बढाएको हो
नियन्त्रित क्षेत्रमै तारबार लगाउँदै जाने क्रममा मुआब्जा समितिले निर्धारण गरेको मुआब्जाप्रति असन्तुष्टि राख्दै केहीले मुआब्जा नलिँदा स्थान खाली भएको छैन । ककडी र काटँगाउँको अधिग्रहणमा परेको ११० बिघा जग्गामध्ये ५६ बिघाको १४१ जनाले मात्र मुआब्जा लिएका छन् । सोही स्थानतर्फ तारबार सुरु गरिने आयोजनाले जनाएको छ । मुआब्जामा आफूहरू अन्यायमा परेकाले सरकारले अझै विचार गर्नुपर्ने स्थानीयले माग गरेका छन् । स्थानीय भुलन्दर चौधरीले मुआब्जामा ४ लाख कठठा पाइन्छ भने बाहिर किन्नु पर्दा १० देखि १५ लाख कठठा परेको छ यही कसरी बुझ्ने सरकारले मुआब्जाा रकममा वृद्धि गर्नुपर्ने बताए ।
विमानस्थल निर्माणका क्रममा टाँगियाको बस्ती भने ठूलो समस्याका रूपमा देखापरेको छ । टाँगियामा हाल १ हजार ४७६ घरधुरी सुकुमवासी परिवार बस्दै आएका छन् । तर आयोजना प्रमुख ओम शर्माले भने बस्ती स्थानान्तरण गर्ने योजना सरकारले बनाइरहेको बताए ।
विमानस्थलमा पर्ने रुख कटानका लागि पनि सम्बन्धित मन्त्रालयले काम अगाडि बढाएको छ । ईआईए स्वीकृत भइसकेकाले रुख कटान आदेश आयोजनाले पर्खंदै बसेको छ । कटान आदेश आउनेबित्तिकेै नेपाली सेनाले रुख काटन सुरु गर्ने आयोजनाका प्रमुख शर्माले बताए ।
विमानस्थल निर्माणका लागि चर्चिएको ८ हजार हेक्टर जमिनमध्ये पहिलो चरणमा २ हजार ५९३ हेक्टरमात्रै जमिन उपयोग गरिने भएको छ । यसका लागि १ लाख ९४ हजार ४८० रुख काट्नुपर्ने छ ।
हात्तीलगायत जंगली जनावरको जैविक मार्ग विनास हुने, पानीको मुहान सुक्ने तथा वातावरणीय रूपमा ठूलो जोखिम पर्ने भन्दै आयोजनाको विपक्षमा आवाज उठ्न थालेपछि सरकारले वातावरण संरक्षणलाई प्राथमिकता राखेरै काम गर्ने प्रतिबद्धता जनाएको छ । केही दिनअघि एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीले सरकारले एउटा रुख काटेपछि २५ वटा रोप्ने योजना बनाएरै काम अघि बढाएको बताएका थिए । .
आर्थिक समृद्धि र विकासका लागि पनि ठूला भौतिक पूर्वाधार निर्माण जरुरी रहेको सरकारको दाबी छ । काठमाडौं–तराई–मधेस द्रुतमार्ग र निजगढ विमानस्थल निर्माणपछि देशको कायापलट हुने विश्वास सरकारले लिएको थियो । सन् १९९५ मा भएको एक अध्ययनअनुसार निजगढ विमानस्थल एसिया प्रशान्त क्षेत्रकै लागि उपयुक्त हुने देखिएको छ ।

प्रकाश लम्साल