दीननाथ बराल
मंगलबार, आश्विन ३०, २०७५
2207

पोखरा-पर्यटकीय नगरी पोखरामा होटलहरूको माझमा निकै कलात्मक ढंगले निर्माण भएको एउटा होटल सञ्चालना आएको छ । हेरिटेज होटल सुइट एन्ड स्पाः नामबाट हालै पोखरामा सञ्चालनमा आएको कलात्मक उक्त होटलले सोमबारदेखि अनौपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको होटलका अध्यक्ष रविचन्द्र हमालले बताए ।
होटलमा ५० वटा कलात्मक रुमहरू रहेको बताउँदै अध्यक्ष हमालले अनौपचारिक रूपमा सोमबारदेखि २४ वटा रुम सञ्चालनमा ल्याएको बताए । पुरानो कला, कौशल प्रयोग गरी सोही अनुसाको वातावरणको अनुभूति दिलाउने कलात्मक होटलको रूपमा आफूहरूले पहिचान दिन खोजेका होटलका अध्यक्ष हमालले बताए ।

१ सय १० डलरदेखि एक सय ५० डलरसम्मका रुमहरू होटलमा उपलब्ध भएको उनले जनाए । जसमा १८ वटा सुइट डिलक्स रुम रहेको उनले बताए । गुणस्तरिय पर्यटकको लागि आफूहरूले होटलमा धेरै कला संस्कृति झल्कने विषय वस्तुहरू समेट्ने प्रयास गर्दा उक्त होटल निर्माण गर्न करिब ८ वर्ष लागेको अध्यक्ष हमालले बताए । पर्यटन क्षेत्रमा विगत ४ दशकदेखि लाग्दै आएका अध्यक्ष हमाल आफ्नो ठूलो पुँजी पोखरामा लगानी गरेको बताए । करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलमा हालसम्म एक अर्बभन्दा बढी लगानी भएको उनले बताए ।
उक्त होटलमा मुख्य गरी तीनवटा छुट्टा छुट्टै तीनवटा भवनहरू छन् । प्रारम्भिक चरणमा अघिल्लो भागको भवन सञ्चालना आएको हो । अन्नपूर्ण, लाङटाङ र एभरेस्ट नाम दिएको उक्त भवनमा फरक फरक किसिमको पुराना कला संस्कृतिक झल्कने विषय वस्तु देख्न सकिन्छ । उक्त होटलले ३ सय मिटर क्षेत्रसम्मको अर्थिङको जोखिमलाई न्यूनीकरण गर्न अर्थिङ गरेको होटलले जनाएको छ । भक्तपुरे इँटा, पुराना काठ, कलात्मक ढुंगा, सिमेन्ट, बालुवालगायतबाट उक्त होटल ५ तलेसम्म निर्माण भएको हमालले जनाए ।
होटल भित्र हेल्थ क्लब, स्टिम, साउना रुम, ज्याकुजी, थेरापी, पुलवार, ५ सय क्षमताको दुई वटा सभाहल, पार्किङको सुविधा, भरियाको सुविधा, सुईमिङ पुल, रेस्टुराँ, बारसहितका सुविधा भएको अध्यक्ष हमालले जनाए ।
उक्त होटलबाट माछापुछ्रे, अन्नपूर्णलगायतका हिमश्रृखला देख्न सकिन्छ भने पोखराको अर्काे पर्यटकीय गन्तव्य फेवातालसमेत देख्न सकिन्छ । उनले भने, “हाम्रो संस्कृति सम्पदालाई हामीले माया गनु पर्छ, हाम्रो जनजिवनसंग सम्बन्धित बिषय बस्तुलाइ हाम्रो पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।” कोहि पर्यटकलाई हिमाल मन पर्ने त कोहिलाई कला मन पर्ने भएकोले आफुहरूले कला संस्कृति मन पर्ने पर्यटकलाई लक्षित गरेको उनले जनाए ।
पोखरामा धेरै होटलहरू सस्तो रूपमा बिक्री भएको उनले बताए । उनले भने, “पोखराका धेरै होटलमा अण्डर सेल भइरहेको छ, यसले पोखराको होटल व्यवसायीलाई धराशी बनाएको छ, प्रतिरुमको ४-५ डलरले कसरी होटल सञ्चालन हुनसक्छ । ”