कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
301

आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य भएको उल्लेख गरेका छन् ।
चाइना एड्भेन्चर टुरिजमफोरमद्वारा मंगलबार राजधानीमा आयोजित ‘हिमालयन समिट’ मा मुख्य वक्ताको रूपमा आफ्नो अवधारणा प्रस्तुत गर्ने क्रममा अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गरेका हुन् ।नेपाल र चीनबीच प्राचीनकालदेखि नै रहीआएको ऐतिहासिक र संस्कृतिक सम्बन्धको स्मरण गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न नेपालमा दक्षतालिमप्राप्त शिक्षित युवाजनशक्ति तयार हुँदै गएको बताए ।

काठमाडौंको दक्षिण पश्चिम पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्षसमेत रहेका ढकालले नेपाल अद्वितीय प्राकृतिक र सांस्कृतिक धरोहरको केन्द्र रहेको बताउँदै माउन्ट एभेरेस्ट, उच्च हिमशृंखला र बुद्वजन्मस्थल लुम्बिनीमा संसारका पर्यटकहरूको मुख्य आकर्षण रहेको बताए । यस्ता प्रचुर सम्भावना नेपालको अन्य क्षेत्रमा पनि विद्यमान रहेको भन्दै ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीका लागि सुरक्षित वातावरण निर्माण भएकाले नेपालका कैयौं नयाँ क्षेत्रहरूमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आग्रह गरे ।
नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न नेपालको निजी क्षेत्र सबैसँग सदैव सहकार्य गर्न तयार रहेको कुरा दोहो¥याउँदै अध्यक्ष ढकालले प्रशस्त रोजगारीका अवसरहरू सिर्जना गर्न पर्यटन उद्योगको विकासमा सबैको ध्यान जानुपर्ने कुरामा जोड दिए । नेपालको उत्तरी छिमेकी राष्ट्र चीनबाट आउने पर्यटकहरूको संख्यामा वृद्वि हुँदै गएकोमा प्रशन्नता व्यक्त गर्दै दुई विशाल छिमेकी मित्रराष्ट्रहरूको सद्भाव र सहयोगको लाभ नेपालको आर्थिक रूपान्तरणमा सदुपयोग गर्न नेपाली निजी क्षेत्र तयार रहेको जानकारी दिए ।
उक्त सत्रमा चिनियाँ र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका र प्रतिनिधिसहित करिब एक सय जनाको सहभागिता थियो ।