अनुपमा खनाल
बिहिवार, पुष २६, २०७५
389

गोरखा-अघिल्लो वर्षको तुलनमा मनास्लु संरक्षण क्षेत्रमा १० प्रतिशत बढी पर्यटकले भ्रमण गरेका छन् ।
सन् २०१८ मा सात हजार ६ सय ४० जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ । गतवर्ष ६ हजार ९ सय २८ पर्यटकले मनास्लु भ्रमण गरेका थिए । यस वर्ष ७ सय १२ जना बढेका हुन् । यो १०.२८ प्रतिशत बढी हो । एमक्यापको तथ्यांकअनुसार सन् २०१८ मा सबैभन्दा धेरै अक्टोबर महिनामा दुई हजार साठ सय १९ जना र जनवरी महिनामा सबैभन्दा कम ३७ जनाले सो क्षेत्रको भ्रमण गरेका छन् । अक्टोबरपछि धेरै संख्यामा अप्रिल महिनामा एक हजार ६९ पर्यटक मनास्लु पुगेका हुन् । मनास्लु क्षेत्र घुम्ने सार्क राष्ट्रका पर्यटकको संख्या पनि बढेको छ । अघिल्लो वर्ष सार्क राष्ट्रका ६९ पर्यटक पुगेकोमा सन् २०१८ मा ८६ जना सो क्षेत्र पुगेका हुन् । यसवर्ष सार्क राष्ट्रका १७ बढी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् ।

सन २०१८ मा मनास्लु क्षेत्रको भ्रमण गर्ने पर्यटकबाट एक करोड ६९ लाख ७१ हजार ५४० रुपैयाँ राजस्व संकलन भएको एमक्यापका प्रमुख नरेन्द्र लामाले जानकारी दिए । सो क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिब्यक्ति एक हजार अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यसअघि प्रतिब्यक्ति २ सय र अन्य राष्ट्रका पर्यटकले प्रतिब्यक्ति २ हजार रुपैयाँ शुल्क बुझाउँदै आए पनि भदौ यता नयाँ शुल्क निर्धारण भएको हो । पर्यटकले काठमाडांैको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित प्रवेश दस्तुर काउन्टरमा रकम बुझाउनुपर्नेछ । यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले एमक्यापको जगत र सामागाँउस्थित चेकपोस्टमा दोब्बर दस्तुर तिर्नुपर्नेछ । मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने हुन्छ । विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि ८ दिनको अनुमति दिने गर्दछ । सो अवधिको भ्रमणका लागि पर्यटकले चुमभ्यालीका लागि प्रतिब्यक्ति ५० डलर र नुब्री भ्यालीका लागि प्रतिब्यक्ति ७० डलर विभागमा बुझाउनुपर्नेछ । ८ दिनबाहेक थप दिन पर्यटक बस्न चाहेमा थप शुल्क बुझाउनुपर्नेछ ।
मनास्लु क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाको ७ वडा पर्दछ । साविकका सिर्दीबास, ल्हो, प्रोक, विही, सामागाँउ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । जसमध्ये समागाउँ, ल्हो, प्रोक र विही गाविस नुब्री उपत्यकाका रुपमा चिनिन्छ भने चुम्चेत र छेकम्पार गाविस चुम उपत्यकाका रूपमा चिनिन्छ ।
पदमार्गका दुई उपत्यका चुमभ्याली र नुब्री घुम्दै लार्केपास गर्न दुई सातादेखि २० दिनसम्म लाग्छ । लार्केपास गर्नेहरू मनाङको धारापानी हुँदै बेसीसहर झर्छन् । लार्केपास नगर्नेहरू दुई उपत्यकामा घुमेर सोही मार्ग फर्कन्छन् । मनास्लु क्षेत्रमा स्वदेशी पर्यटक पनि ट्रेकिङ गर्न जान्छन् । तर स्वदेशी पर्यटकको तथ्यांक संकलन नभएकाले संख्या यकिन नभएको एमक्यापका प्रमुख लामाले बताए । उनले भने, “नेपाली पनि सो क्षेत्र प्रवेशका लागि प्रतिब्यक्ति सय रुपैयाँ शुल्क लिनुपर्ने हो । तर ब्यावहारिक रूपमा शुल्क लिन सकिएको छैन । नेपाली कति पुगे भन्ने तथ्यांक पनि छैन । सुरक्षाका हिसाबले नेपालीको पनि तथ्यांक राख्नु जरुरी छ ।” सो क्षेत्रमा बसोबास गर्ने भोटे समुदायको धार्मिक तथा सास्ंकृतिक अवस्था अध्धयन गर्न, प्राकृतिक दृश्यावलोकन, मनास्लु हिमाल आरोहणका लागि पर्यटक आउने गरेका एमक्यापका प्रमुख लामाले जानकारी दिए । “पर्यटकहरू साहसी पदयात्राका लागि मनास्लु पदमार्ग रोज्ने गर्दछन्,” उनले भने, “शान्त वातावरणमा मनोरम दृश्यका साथ हिँड्न पाउने भए । ५ हजार एक सय ६० मिटरको लार्केपास गर्न पनि मनास्लु क्षेत्र पुग्नुपर्छ । यो क्षेत्रमा लोप भएका वन्यजन्तुदेखि प्राकृतिक सुन्दरता छ । कुनै प्रदूषण पनि छैन । तिब्बतको सिमानामा पर्ने भएकाले तिब्बती सस्ंकृति पनि यहाँ बुझ्न सकिन्छ ।” मनास्लु क्षेत्रमा बढी पर्यटक पदयात्राका लागि नै आउने गर्दछन् । युरोपियन राष्ट्रका नागरिक बढी आउने गरेको पाइन्छ । पर्यटक लक्षित गर्दै मनास्लु क्षेत्रमा होटल खुल्ने क्रम पनि बढेको छ । सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुल्ला गरिएको थियो । त्यस यता ५२ हजार पाच सय ८९ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् ।