अनुपमा खनाल
आइतवार, चैत्र १०, २०७५
434

गोरखामा सञ्चालित ९ वटा होमस्टेले गण्डकी प्रदेश सरकारबाट अनुदान पाउने भएका छन् । होमस्टेको पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले पुँजीगत अनुदान दिने भएको हो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वेबसाइटमा राखिएको स्वीकृत परियोजनाअन्तर्गत गोरखाका ९ वटा होमस्टे अनुदानका लागि छनोट भएको उल्लेख गरिएको छ ।
गोरखा नगरपालिकाको पस्लाङ होमस्टे, सहिद लखन गाउँपालिका–२ को बेतिनी सामुदायिक होमस्टे र सहिद लखन गाउँपालिका–७ को सहिद लखन सामुदायिक होमस्टेले गण्डकी प्रदेश सरकारबाट अनुदान पाउने भएका हुन् । यस्तै, पालुङटार नगरपालिका–३ को पाच्यान सामुदायिक होमस्टे, अजिरकोट गाउँपालिकाको चामे छहरा सामुदायिक होमस्टे, बुद्धनम्की सामुदायिक होमस्टे, प्रगति सामुदायिक होमस्टे र झ्याल्लाभुमे सामुदायिक होमस्टे पनि अनुदानका लागि छनोट भएका छन् । जिल्लाकै पुरानो होमस्टेका रूपमा परिचित बारपाक सुलिकोट गाउँपालिका–२ को बारपाक होमस्टेले पनि अनुदान रकम पाउने भएको छ ।

जिल्लाबाट प्रस्तावित ११ मध्ये ९ वटा प्रस्ताव स्वीकृत भएको डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिए । अनुदान स्वीकृत भएका होमस्टेले डिभिजन वन कार्यालयमा सम्झौता गरी काम सञ्चालन गर्नुपर्नेछ । स्वीकृत कुनै पनि होमस्टेसँग सम्झौता नभएको प्रमुख पौडेलले बताए । “सम्झौताका लागि स्थानीय तहले १० प्रतिशत बजेट उपलब्ध गराउनुपर्ने प्रतिबद्धतापत्र आवश्यक पर्छ,” उनले भने, “सम्बन्धित सबै होमस्टेलाई स्थानिय तहको प्रतिबद्धता पत्र ल्याउनु भनेका छौं, अहिलेसम्म कोही पनि सम्पर्कमा आएका छैनन् ।” जतिसक्दो छिटो अनुदान सम्झौता गरेर प्रस्तावनाअनुसार काम थाल्न उनले होमस्टे सञ्चालकहरूलाई आग्रह गरेका छन् । “असारसम्ममा उहाँहरूले काम सक्नुपर्छ,” उनले भने, “जति छिटो सम्झौता भयो उति नै छिटो काम सुरु हुन्छ, अब समय पनि धेरै छैन ।”
अनुदान स्वीकृत प्राप्त गरेका होमस्टेले अधिकमत १० लाख रुपैयाँसम्म अनुदान पाउनेछन् । सम्झौतापछि मन्त्रालयले पहिलो किस्ताबापत कुल अनुदानको ४० प्रतिशत रकम समितिको खातामा हाल्ने व्यवस्था अनुदान कार्य विधिमा उल्लेख गरिएको छ । सरकारले होमस्टे सञ्चालन गर्न प्रदान गर्ने कुल अनुदानको १० प्रतिशत रकम सम्बन्धित गाउँपालिका वा होमस्टे व्यवस्थापन समितिले अनिवार्य साझेदारी गर्नुपर्ने व्यवस्था गरिएको छ । अनुदान पाउने समूहले होमस्टे सञ्चालन तथा प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, प्रदर्शनी स्थलमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने छन् । होमस्टे गाउँलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण र पर्यटकीय महत्वका विषयमा अनुदानको रकम खर्च गर्न मिल्ने कार्यविधि छ ।
अनुदानको रकमले सामुदायिक भवन निर्माण गर्ने बेतिनी सामुदायिक होमस्टेका अध्यक्ष लीलबहादुर रानाले बताए । “पाहुनालाई सांस्कृतिक कार्यक्रम देखाउने भवन बनाउनेछौं,” उनले भने, “७० सालदेखि गाउँको ११ घरमा पाहुना राख्न थालेका हौं, कार्यक्रम देखाउने भवन नहुँदा झरीमा पाहुनालाई हाम्रो संस्कृति देखाउन सकिदैन थ्यो, अब सजिलो हुने भो,” मनकामना मन्दिरबाट २० मिनेटको दुरीमा रहेको बेतीनी गाउँ मगर समुदायको बाहुल्यता रहेको गाउँ हो । मन्दिर दर्शन गर्न आएका आन्तरीक तथा बाह्य पर्यटक पनि होमस्टेमा बस्ने गरेका उनले बताए ।
ग्रामीण पर्यटन प्रवद्र्धन गरी समृद्धिमा टेवा पु-याउने उद्देश्यले गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेशभित्रका तीन सय गाउँमा होमस्टे सञ्चालन गर्ने नीति अनुरुप अनुदान दिने भएको हो । गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लाका ३ सयवटा गाउँमा होमस्टे सञ्चालन अनुदानका लागि चालू आर्थिक वर्षको बजेटमार्फत ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।