दीननाथ बराल
आइतवार, चैत्र १०, २०७५
336

नाले लाइसेन्स जारी गर्नेदेखि कम्पनी निलम्बनसम्मको सिफारिस गर्ने अधिकार

पोखरा-प्याराग्लाइडिङको राम्रोसँग अनुगमन र नियमनकारी निकायको प्रभावकारी भूमिका नहुँदा प्याराग्लाइडिङमा दुर्घटना बढ्दै गएका बेला नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो क्षेत्र अधिकार एक निजी संस्था नेपाल हवाई खेलकुद संस्था (ना) लाई अधिकार प्रत्यायोजना गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ सम्बन्धी अधिकांश अधिकार प्रत्यायोजना गरी नालाई प्राधिकारिक संस्थाको रूपमा मान्यता दिने तयारी गरेको क्यानका प्रबन्धक देवेन्द्र पाण्डेले बताए ।
नालाई प्याराग्लाइडिङसम्बन्धी लाइसेन्स जारी गर्नेदेखि नियमविपरीत सञ्चालन हुने कम्पनीउपर दर्ता खारेजीको सिफारिस सम्मको अधिकार दिने तयारी भएको प्रबन्धक पाण्डेले जनाए । उनले भने, “प्याराग्लाइडिङलाई अझ राम्रो ढंगसँग नियमन गर्न, व्यवस्थापन गर्न, सुरक्षित उडान गराउन, नियमविपरीत सञ्चालन हुने कम्पनीउपर निलम्बनका लागि सिफारिस गर्ने सम्मको अधिकार नालाई दिने अन्तिम तयारी भएको छ । ” यही चैत १३ गते पोखरामा एक समारोहकाबीच यस विषयमा छलफल गरी नालाई उक्त प्याराग्लाइडिङको प्राधिकारिक संस्थाको रूपमा जिम्मेवारसहितको मान्यता दिने भएको उनले बताए ।

विगत ५ वर्षदेखि प्याराग्लाइडिङलाई व्यवस्थित पार्न माग गर्दै आउने क्रममा क्यानले हवाई खेलकुद संस्था नासँगको सहकार्यमा अबको केही दिनबाटै प्राधिकारिक संस्थाको रूपमा जिम्मेवार दिने भएकोले आफूहरू निकै खुसी भएको नाका अध्यक्ष योगेश भट्टराईले बताए । उनले भने, “हो प्याराग्लाइडिङमा धेरै सुधार गर्नुपर्ने विषय वस्तुहरू छन्, तर प्राधिकारिक संस्थाको जिम्मा दिएसँगै हामीले जादुको क्षण झै एकै पटकमा सुधार गर्न पक्की सक्दैनौं तर हामीले सुधारको प्रयास अवश्य सुरु गछौं ।” राज्यलाई दिने शुल्क तथा करको विषय बाहेक अन्य धेरै अधिकार नालाई भएपश्चात् पोखरामा हुने प्याराग्लाइडिङ दुर्घटनालाई न्यूनीकरण गर्न आफूहरूको पहिलो प्रयास हुने भएको उनले बताए ।
प्याराग्लाइडिङको निमनकारी निकाय नालाई बनाएसँगै प्याराग्लाइडिङमा हुने विकृतिलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने भएको नेपाल प्याराग्लाईडिङ तथा ह्यान्ड ग्लाइडिङ संघ (नेफा) का महासचिव शैलेन्द्र राउतले बताए । प्याराग्लाइडिङको प्राधिकारिक संस्था नालाई दिने विषयमा यही चैत १३ गते पोखरामा स्थानीय, पर्यटन व्यवसायी, प्याराग्लाइडिङ पाइलट तथा कम्पनी, नाका पदाधिकारी लगायतसंग क्यानको टोलीले छलफल गर्ने भएको छ । पोखरामा हाल ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने करिब ४५ वटा कम्पानी मात्र सक्रिए रहेको बताइन्छ ।
प्याराग्लाइडिङमा लाइसेन्स खारेज जलारीको
विगत दुई दशकदेखि पोखरालगायतको क्षेत्रमा सहासिक खेलको रूपमा विकसित हुँदै आएको प्याराग्लाइडिङ इतिहासमा पहिलो पटक लाइसेन्स खारेजी भएको छ । पोखराका सागर जलारीको क्यानले विभागीय कारबाही गरी उनको अस्थायी प्याराग्लाइडिङ लाइसेन्स खारेजी गरेको हो । सागरले गत वर्ष कात्तिक २३ गते टेण्डम फ्लाइटको क्रममा मनिस गुरुङको मृत्यु भएको घटनालाई लियर विभागले उनीलाई कारबाही स्वरुप लाइसेन्स खारेजी गरेको नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकृति काशीनाथ पौडेलले बताए ।
विभागीय कारबाहीमा दुई कम्पनीको उडान रद्द
नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विभागिय कारबाहीअन्तर्गत पोखराका दुईवटा प्याराग्लाइडिङ कम्पनीलाई कारबाही गरेको छ । पोखरामा लगातार दुई विदेशी पाहुना सोलो पाइलटको प्याराग्लाइडिङको क्रममा मृत्यु भएको घटनालाई लियर विभागले ब्लू–स्काई प्याराग्लाइडिङ कम्पनी र फन्ट एयर्स कम्पनीलाई कारबाही स्वरुप हाल उडान रद्द गरिएको हो । उक्त घटनाको विषयमा विभागबाटै छानबिनकै क्रममा रहेकाले हाल अर्को सूचना जारी नगरेसम्मका लागि दुईवटै कम्पनीको सम्पूर्ण उडान रद्द गरिएको नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकृति काशीनाथ पौडेलले बताए ।
उक्त कम्पनीका उडान रद्द गरेसँगै जथभावी रूपमा सोलो प्याराग्लाइडिङ पाइलटहरूलाई पोखरा क्षेत्रको आकासमा उडाउँदा अब भने धेरै कम्पनी सचेत भएको व्यवसायीहरूको भनाइछ । फन्ट एयर्सका सञ्चालक भूपाल गुरुङले सोलो प्याराग्लाइडिङ पाइलटहरूका लागि आवश्यक काजपत्र पेस गर्न सहजीकरण गरी उडानका लागि ठाउँ मात्र आफूहरूले उपलब्ध गराउँदा कम्पनीलाई यस्तो कारबाही हुनु निकै दुःख लागेको बताए ।