विप्लव काफ्ले
बुधवार, जेठ २, २०७५
752

नवलपुरको देवचुली नगरपालिका–१७ मा रहेको पिप्रहर सामुदायिक होमस्टेमा पर्यटकको चहलपहल बढ्न थालेको छ । स्थानीय रहनसहन, संस्कृतिलाई नजिकबाट नियाल्न होमस्टे पुग्ने पर्यटक बढेका छन् ।
चालू आर्थिक वर्षमा २ हजार ५ सय ६६ जना पर्यटक पिप्रहर होमस्टे पुगेका छन् । जसमध्ये २ हजार ४ सय ५४ जना नेपाली पर्यटक छन् । यस्तै ९० जना सार्क राष्ट्रका पर्यटक छन् भने २२ जना अन्य मुलुकका पर्यटक छन् । गत आर्थिक वर्षमा २ हजार ७ सय १५ जना पर्यटक पिप्रहर होमस्टेमा बसेका थिए, जसमध्ये १४ जना विदेशी पर्यटक थिए ।
चितवन राष्ट्रिय निकुञ्जको सिसुवार उपभोक्ता समिति र तत्कालिन रजहर गाविसको पहलमा ०७२ फागुन १९ गतेदेखि पिप्रहरमा २२ वटा होमस्टे सञ्चालनमा आएका हुन् । “होमस्टे प्राय सुनसान हुँदैनन्”, पिप्रहर सामुदायिक होमस्टे अध्यक्ष झनकबहादुर महतोले भने, “साउन बाहेक सबै महिनामा प्रायः बुकिङ भइरहेका छन् ।” होमस्टेको प्रचार–प्रसार हुन नसक्दा विदेशी पर्यटक कम आउने गरेका छन् । “नेपाली पर्यटकको संख्या राम्रो छ । तर, प्रयाप्त विदेशी पर्यटक आएका छैनन्,” उनले भने, “प्रचारको अभाव छ । विस्तारै पिप्रहर पर्यटनको केन्द्रका रुपमा स्थापित हुनेछ ।” होमस्टेको शिष्टचार, स्थानीय परिकारका स्वाद, पारिवारिक रहनसहनमा पर्यटक रमाउने गरेका छन् ।
“साना ठूला सेमिनार गर्ने थालोका रूपमा विकास भएको छ,” उनले भने, “यो वर्षमात्रै ६० भन्दा बढी सेमिनार तथा कार्यक्रम भएका छन् ।” होमस्टेमा बस्न आउने पर्यटक स्थानीयले देखाउने सांस्कृति बढी रुचाउने गर्छन् । “थारु, मगर समुदायका नाच देखाइन्छ,” उनले भने, “समूहगत आउने टोलीले ४ हजार रुपैयाँ तिरेर सांस्कृतिक कार्यक्रम हेर्न पाउनेछन् ।”
उनका अनुसार होमस्टे सञ्चालनबाट यो वर्षमात्रै २३ लाख ९४ हजार ७ सय ६ रुपैयाँ आम्दानी भएको छ । यो आम्दानी पर्यटकले तिर्ने बसाइ शुल्क, साधारण खानपिन र टुर प्याकेज सहितको रकम हो । यस्तै गत आर्थिक वर्षमा १७ लाख ८४ हजार ९ सय रुपैयाँ आम्दानी भएको थियो । “सुरुको वर्ष होमस्टे सुनसान जस्तै थियो,” उनले भने, “विस्तारै पर्यटक संख्यामा वृद्धि भएको छ ।” पिप्रहरमा ८० लाख ९० हजार खर्चेर सांस्कृतिक भवन निर्माण भएको छ ।
नेपाल पर्यटन बोर्ड, लुम्बिनी क्षेत्र पर्यटन विकास समिति, तराई भूपरिधि (ताल), साविक रजहर गाविस, सिसुवार मध्वयर्ती क्षेत्रले भवन निर्माणमा सघाएका थिए । छिट्टै सांस्कृतिक संग्रहालय बनाउने योजनासमेत छ ।
“राम्रो आम्दानीको स्रोत बनेको छ,” होमस्टे–४ का सञ्चालक खड्कबहादुर महतोले भने, “पाहुनालाई घरमै स्वागत गर्ने दैनिकी बनेको छ । स्वरोजगारको वातावरण बनेको छ ।” सुरुमा बुकिङ भएको होमस्टेको बाँकी होमस्टेमा बुकिङ भएपछि मात्रै पालो आउने प्रावधान छ । जसले धेरै थोरै पर्यटक आए पनि सबै होमस्टेको पालो आउने गर्छ । “जागिर खोज्ने चिन्ता हटेको छ,” उनले भने, “घरका अन्य सदस्य पनि होमस्टे व्यवस्थापन खटिन्छन् ।” पर्यटकले हाँस, लोकल कुखुरा, घोँगी, चिचरलगायतका परिकार बढी रुचाउँछन् । होमस्टे आउने पर्यटक निकुञ्जमा हात्ती सफारी, जीप सफारी, चौधरी ग्रुपको शाश्वतधाम, देवचुली पदयात्रा, रजहरमा रहेको प्राकृतिक चिकित्सालय घुम्ने गर्छन् । होमस्टेमा चहलपहल बढ्न थालेपछि स्थानीय सडकको स्तरोन्नति गर्ने, गाउँ सफाइ अभियान लगायतका काम हुन थालेका छन् । पिप्रहर होमस्टे पुग्न पूर्व–पश्चिम राजमार्गबाट नवलपुरको टाइकोट चोक वा रजहरफर्म चोकबाट करिब २ किमि दक्षिणर्फ लाग्नुपर्छ ।

१७ करोड लगानीमा रिभरसाइड ग्रीनहाउस
विप्लव काफ्ले
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको नवलपुरको देवचुली–१७ पिप्रहरमा ठूला होटल तथा रेस्टुराँ खुल्ने क्रम बढेको छ ।काठमाडौँका रामभगत थापाले १७ करोड लगानी गरेर रिभर साइड ग्रीन हाउस रिर्सोट बनाएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी किनार नजिकै रहेको सो रिसोर्टमा पूर्वाधार विकासका काम धमाधम भइरहेका छन् ।
१ बिघा ८ कट्टठा जग्गा खरिद गरेर थापाले तीनतारे स्तरको रिसोर्ट बनाउन लागेको बताए । “देवचुलीलाई पर्यटनको गन्तव्य बनाउन रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हौँ,” उनले भने । उनका अनुसार हाल ५ वटा आकर्षक सुविधासम्पन्न कटेज बनेका छन् । १५ वटा कटेज छिट्टै बनाउने तयारीमा रहेको उनले बताए । सबै कटेज निर्माण भएपछि १ सय ५० जनासम्म बस्न मिल्नेछ । अधिकांश कटेजमा २ कोठा हुनेछन्, जसमा ४ वटासम्म बेड हुनेछन् । यस्तै १ सय जना एकैसाथ बसेर खाना मिल्ने आकर्षक रेस्टुराँ बनाइएको छ ।
यस्तै ६ सय जना अट्ने क्षमताको सेमीनार हल निर्माणाधीन छन् । व्यक्तिगत वा समूहगत वा परिवार बस्न मिल्ने गरी कटेज बनाइँदैछ । पोखराको जेठो बुढा चामल, कसौडीमा पकाएको मासु, काठमाडांैको श्याम दाइको हाँसको छोइला सहितका अन्य स्थानीय परिकार उपलब्ध गराइनेछ । ५ फिट गहिराइको आकर्षक स्वीमिङ पुल बनाउने तयारी छ ।
“हालसम्म १७ करोड लगानी भैसकेको छ”, अर्का सञ्चालक सुमन थापाले भने, “निर्माण पूरा हुँदा २० करोड पुग्ने अनुमान छ ।” रिर्सोट शान्त वातावरणमा अवस्थित छ । निकुञ्जमा हात्ती, जिप सफारी, नारायणी नदीमा बोटिङ, देवचुली पदयात्रा सहितका प्याकेज राखिने तयारी छ । ३ हजार रुपैयाँदेखिका २५ हजार रुपैपाँसम्मका कोठा हुनेछन् । महामंगलेश्वर कृष्णनन्द गिरी महाराजले रिसोर्टको औपचारिक उद्घाटन गर्नेछन् ।