कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
589

८ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा एउटा गाउँपालिकामा मात्र पर्यटन व्यवसाय सीमित बनेको छ । जिल्लाको उत्तरी क्षेत्रका चौंरीखर्क, नाम्चे र खुम्जुङमा मात्रै पर्यटन व्यवसाय फस्टाउन सकेको हो । विदेशबाट आएका पर्यटकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट सिधै लुक्ला विमानस्थलमा आउने र मुख्य गन्तव्य पुगेर लुक्ला विमानस्थलबाटै काठमाडांै फर्कने भएकाले खुम्बु पासाङल्हमु गाउँपालिकामा मात्रै पर्यटकको चाप केन्द्रित भएको हो । पछिल्लो समय पर्यटकले पदमार्ग प्रयोग नगरेपछि तल्लो क्षेत्रका बासिन्दाले पर्यटन व्यवशायबाट लाभ लिन नसकेका हुन् ।
०५३ सालदेखि काठमाडौंबाट लुक्लाका लागि नियमित हवाई यातायात सुविधा सुरु भएपछि पदयात्रीको संख्या ह्वात्तै खस्किएको हो । सोलुखुम्बुको किञ्जा–खरिखोला पदमार्गका पर्यटन व्यवसायी मिलेर सोलुखुम्वुको माथिल्लो भेग आउने पर्यटकले आउँदा वा फर्कंदा एकपटक पैदल यात्रा गर्नुपर्ने नियम बनाए पनि पर्यटकले नियमको पालना नगरेका हुन ।

मुलुकमा सशस्त्र द्वन्द्व चर्किएपछि पैदल हिँड्न असुरक्षा भयो भन्दै पर्यटकहरू फेरि जहाजै चढ्न थालेका हुन् । शान्तिप्रक्रिया सुरु भएपछि पनि उड्ने बानी परेका पर्यटकहरूले पैदल हिँड्ने जाँगर देखाउनै छोडेको पर्यटन व्यवसायी कर्मा शेर्पाले बताए ।
जिरी—लुक्ला पदमार्गमा पर्ने स्थानहरू किञ्जाबजार, लाम्जुरा, जुनबेसी, रिङमू, नुनथला, जुभिङ् खरीखोला, पैयाँ जस्ता स्थानमा गरी करिब २ हजारभन्दा बढी होटल व्यवसायीहरू मात्रै छन् । १० वर्षे द्वन्द्वकालमा खस्केको पर्यटन व्यवसाय अहिले पनि सुधारोन्मुख नभएको खरीखोलाका स्थानीयवासी प्रेमबहादुर राना मगरको भनाइ छ ।