चीनको जीडीपी वृद्धिदर ६.९ प्रतिशत
एजेन्सी
मंगलबार, माघ २, २०७४
500

गत वर्ष चीनको जीडीपी वृद्धिदर ६.९ प्रतिशत कायम भएको चिनियाँ विज्ञहरूले बताएका छन् । चाइना सेन्टर फर इन्टरनेसनल इकोनोमिक एक्सचेन्जका अर्थशास्त्री सु होङकाईले अपेक्षाभन्दा राम्रो भूमिका निर्वाह गरेकाले यस किसिमको लक्ष्य हासिल भएको बताएका छन् ।
गत वर्षको सुरुको दुई त्रैमासिक अवधिमा देशको अर्थतन्त्र ६.९ प्रतिशतले विस्तार भएको थियो र तेस्रो त्रैमासिक अवधिमा ६.८ प्रतिशतमा ओर्लेको थियो । सुरुका तीन त्रैमासिक अवधिमा भएको समग्र वृद्धि ६.९ प्रतिशत रह्यो । यो सरकारको वार्षिक लक्ष्य ६.५ प्रतिशतको हाराहारीभन्दा उच्च हो ।
गत वर्ष विदेश व्यापारमा पनि सुधार आएको थियो । उपभोग माग लगातार राम्रो रह्यो र उच्च प्रविधिका क्षेत्रहरू बलियो भएको पनि सुले बताए ।
गत वर्ष विदेश व्यापारमा १४.२ प्रतिशतको वृद्धि भएको थियो । यसले दुई वर्षको लगातार गिरावटको अन्त्य गरेको भन्सार समान्य प्रशासनले जनाएको छ ।
केन्द्रीय तथ्यांक विभागले चीनको प्रमुख आर्थिक तथ्यांक बिहीबार सार्वजनिक गर्ने कार्यक्रम छ ।
गत वर्ष चिनियाँ अर्थतन्त्रले राम्रो अवस्था प्रस्तुत गरेको बेइजिङमा आयोजित कार्यक्रममा एनबीएसका प्रमुख निङ जिहेले बताए । यो अपेक्षाभन्दा राम्रो भएको उनको भनाइ थियो ।
बिहीबार विभागले चौथो त्रैमासिक अवधि र पूरै वर्षको जीडीपी तथ्यांक सार्वजनिक गर्ने कार्यक्रम छ । यसमा औद्योगिक उत्पादन, स्थिर सम्पत्ति लगानी, खुद्रा बिक्री र ठूला सहरहरूमा घरको मूल्यलगायतका विभिन्न आर्थिक सूचक पनि सार्वजनिक गर्ने कार्यक्रम छ ।
विश्व बैंकले गत महिना २०१७ मा चीनको आर्थिक वृद्धिको प्रक्षेपण गरेको थियो । उक्त प्रक्षेपणमा २०१७ मा चिनियाँ अर्थतन्त्र ६.८ प्रशितले वृद्धि हुने देखाइएको थियो । यो अक्टोबरको ६.७ प्रतिशतको दाँजोमा बढी हो । मजबुत अवस्थाको व्यक्तिगत उपभोग र विदेश व्यापारका कारण चिनियाँ अर्थतन्त्र सोचिएभन्दा उकालो लाग्ने बैंकले जनाएको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि गत वर्ष चीनको अर्थतन्त्र ६.८ प्रतिशतले वृद्धि हुने जनाएको थियो ।