अस्ट्रियाको व्यापारघाटामा भारी वृद्धि
एजेन्सी
मंगलबार, फाल्गुन १, २०७४
90

निर्यात र आयातबीचको अन्तर फराकिलो भएपछि अस्ट्रियाको व्यापारघाटामा पनि ठूलो परिमाणको वृद्धि भएको हालै सार्वजनिक तथ्यांकले देखाएको छ ।
गत वर्षको सुरु ११ महिनाको अवधिमा अस्ट्रियाले १३१.०८ अर्ब युरोको निर्यात गरेको थियो । यो वार्षिक मापनका आधारमा ८.६ प्रतिशत बढी हो ।
तर निर्यातमा भएको यो वृद्धिले आयातमा भएको ९ प्रतिशतको वृद्धिलाई थेग्न नसकेपछि व्यापारघाटामा पनि वृद्धि भएको हो । अस्ट्रियाले यो अवधिमा १३५.८१ अर्ब युरो बराबराको आयात गरेको थियो ।
आयात–निर्यातको यो अवस्थाले गत वर्षको सुरु ११ महिनाको अवधिमा अस्ट्रियाले ४.७ अर्ब युरोको व्यापार घाटा बेहोरेको छ । यो अघिल्लो वर्षको समान अवधिको ३.९ अर्ब युरोको तुलनामा बढी हो ।
ईयूका मुलुकसँगको व्यापारमा भने अस्ट्रियाको व्यापारघाटा ओरालो लागेको छ । अघिल्लो वर्षको समान अवधिमा अस्ट्रियाले ईयूसँगको व्यापारमा ४.९९ अर्ब युरोको व्यापारघाटा बेहोरेको थियो भने गत वर्षको व्यापारमा ४.६७ अर्ब युरोको व्यापारघाटा बेहोरेको थियो ।