एजेन्सी
आइतवार, फाल्गुन २७, २०७४
2000

युरोपेली विमान निर्माता कम्पनी एयरबसले भारतमा आगामी १० वर्षसम्मको अवधिमा साताको औसत एउटा विमान आपूर्ति गर्ने जनाएको छ । आगामी २० वर्षसम्ममा भारतलाई नयाँ १ हजार ७ सय ५० विमानको आवश्यकता पर्ने पनि एयरबसले जनाएको छ ।
“एयरबसले आगामी १० वर्षसम्मको अवधिमा भारतलाई औसतमा सातामा १ विमानको आपूर्ति गर्नेछ,” एयरबसका भारत अध्यक्ष श्रीनिवास द्वारकानाथले बताए ।

यो मुलुकका लागि आगामी २० वर्षसम्मको अवधिमा १ हजार ७ सय ५० नयाँ विमान चाहिने र यसको १ हजार ३ सय २० सिंगल एसले र ४ सय ३० वटा वाइड बडी विमान हुने प्रक्षेपण कम्पनीले गरेको छ । यी विमानको मूल्य २ सय ५५ अर्ब डलर हुने पनि कम्पनीले जनाएको छ ।
भारतको तीव्र वृद्धिको अर्थतन्त्र, समृद्धिमा भएको वृद्धि र सहरीकरणलगायतका तत्वका कारण भारतको हवाई यातायातमा वृद्धि हुने र यसले थप विमानको माग हुने वायुयान निर्माता कम्पनीले जनाएको छ ।
भारतले आजको तुलनामा आगामी २०३६ मा चार गुणा बढी विमानबाट यात्रा गर्ने एयरबसले जनाएको छ । आगामी २० वर्षसम्मको अवधिमा प्रत्येक वर्ष यात्रु सवारीको मामिलामा ८.१ प्रतिशतको वृद्धि हुनेछ । यो विश्वव्यापी औसत ४.४ प्रतिशतको तुलनामा झन्डै दोब्बर हो ।
“आगामी २० वर्षको अवधिमा स्वदेशी हवाई यात्रामा साढे पाँच गुणाले वृद्धि हुने अपेक्षा गरिएको छ । यो अमेरिकाको बराबर हुनेछ । यसले भारतलाई विश्वकै तीव्र वृद्धिको मुलुक बनाउनेछ,” प्रतिवेदनले भनेको छ ।
द्वारकानाथका अनुसार २०१९-२० देखि भारत विश्वकै तेस्रो ठूलो उडड्यन बजार हुने भएको छ । यसमा एयरबसले हालसम्मको अवधिमा ५ सय ३० विमानको अर्डर पाएको छ ।
हाल भारतमा एयरबसका ३ सय वटा विमान सञ्चालनमा छन् ।