चीनको ‘२०२५ प्लान’ले विश्व हल्लाउने
एजेन्सी
बिहिवार, बैशाख १३, २०७५
6171

वासिङटन- अमेरिकाले चीनको २०२५ योजनाप्रति चिन्ता व्यक्त गरेको छ । यो योजनाका अनुसार चीन आधुनिक प्रविधि प्रयोग गरेर विश्वको उद्योगमा हावी हुने अमेरिकाले जनाएको छ ।
अमेरिकी वाणिज्य मन्त्री विल्बर रोसले चीनले आफूलाई विश्वव्यापी प्रविधिको साठगाठको समूहमा परिवर्तन गर्ने योजना ल्याएको र यो भयावह भएको बताए । अमेरिकी मन्त्रीले आफ्नो देशको बौद्धिक सम्पत्ति चीनको यो रणनीतिबाट ठूलो खतरा भएको बताएका छन् । वस्त्र उद्योगका अधिकारीका साथ भएको बैठकमा रोसले यो एउटा ठूलो चिन्ताको विषय भएको बताएका छन् ।
रोसले भनेका छन्,“यो समस्या तत्काल हल हुने अवस्थामा छैन ।” उनले स्पष्ट रुपमा भनेका छन् कि विकास योजना ‘मेड इन चाइना २०२५’ को लक्ष्य अन्तरिक्षदेखि लिएर दुरसंचार तथा दुरसंचारदेखि रोबोटिक्स र इलेक्ट्रिक कारसम्म हावी हुने किसिमको छ ।
चीन हाल विश्वकै कारखानाको रुपमा परिचित रहदै आएको छ । चीनले अब प्राविधिक केन्द्र पनि बन्ने इच्छा व्यक्त गरेको छ । चीनको यो योजना अमेरिकाका लागि ठूलो चुनौती भएको विल्बर रोसले बताए । यति मात्र नभई विश्वका कतिपय विकासशील अर्थव्यवस्था भएको मुलुकलाई चीनको साथ र चीनले बढाएको सहयोग पनि अमेरिकाका लागि मुश्किल बन्न सक्ने धारणा उनको थियो ।