एजेन्सी
सोमवार, बैशाख ३१, २०७५
4050

बेइजिङ-चीनले विश्वकै ठूलो उभयचर विमान (जल र थल दुवैमा अवतरण र उडान भर्ने) आगामी २०२२ मा उपभोक्तालाई आपूर्ति गर्ने अपेक्षा गरेको छ । स्वदेशमै विकास गरिएको यो विमान उक्त समयमा उपभोक्तालाई आपूर्ति गरिने तय भएको उत्पादकलाई उद्र्धृत गर्दै सिन्ह्वा समाचार समितीले जनाएको छ ।
“हामीले नागरिक उड्डयन निकायबाट २०२१ मा यो विमानको प्रमाणिकरण पाउने अपेक्षा गरेका छौ र यो विमान २०२२ मा आपूर्ति हुने अपेक्षा पनि गरेका छौ,” राज्य स्वामित्वको उड्डयन उद्योग कर्पोरेसन अफ चाइना (एभीआईसी) मा विमानका प्रमुख ढाँचाकार हुवाङ लिङकाइलाई उद्र्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

चीनले आफ्नो सेनालाई आधुनिकिकरण गर्ने उद्देश्यका साय यो एजी–६०० विमानको विकास गरेको हो । साउथ चाइना सीको विषयलाई अमेरिकासँग बढेको विवादका कारण चीनले यस किसिमको विमानको विकास गर्न लागेको हो ।
यो विमानको पहिलो उडान चीनमा डिसेम्बरमा गरिएको थियो । यो वर्ष विमानले थप उडान गर्ने हुवाङले बताए । यसमा पानीबाटै पहिलो उडान भर्ने लगायतका गतिविधि पनि समावेश हुनेछ ।
एभीआईसीले यो विमानको विकासका लागि ८ वर्षको समय खर्चिसकेको छ । यो विमानको आकार सालाखाला बोइङ ७३७ को जत्रै छ । यो विमानलाई सामुद्रिक उद्दार र जंगलको आगलागी निभाउनका लागि हुने किसिमबाट तयार पारिएको छ । यसको उडान दुरी ४ हजार ५ सय किलोमिटर रहेको छ भने दुई मिटरको छालमा उडान र अवतरण गर्न सक्ने गरी ढाँचा तयार पारिएको छ ।
चार टर्बोप्रोप इन्जिनबाट उर्जा लिने यो एजी–६०० विमानले सामुद्रिक खोजी र उद्दार कार्यको समयमा ५० मानिसलाई बोक्न सक्छ ।
डिसेम्बरमा राज्य स्वामित्वका मिडियाहरुले यो विमानले चिनियाँ सरकारका विभाग र चिनियाँ कम्पनीहरुले १७ वटा अर्डर पाइसकेको समाचार संप्रेषण गरेका थिए ।