एजेन्सी
मंगलबार, जेठ १, २०७५
625

सन् फ्रान्सिस्को-अमेरिकामा सार्वजनिक रूपमा सूचीकृत भएका कम्पनीमध्ये एप्पल पहिलो १० खर्ब डलरको कम्पनी हुने तरखरमा छ । तर, अमेजन डट कम्पनी पछि–पछि आएकाले चाँडै नै एप्पललाई उछिन्न सक्ने बताइएको छ ।
सह–संस्थापक स्टिभ जब्सको ग्यारेजमा १९७६ मा सुरु भएको आईफोन निर्माताको वार्षिक आम्दानी २ सय २९ अर्ब डलर पुगेको छ । एप्पलको यो आम्दानी पोर्चुगल र न्युजिल्यान्डलगायतका मुलुकको कुल गार्हस्थ्य उत्पादन भन्दा पनि बढी हो ।

बिहीबार एप्पलको बजार पुँजीकरण ९ सय ३४ अर्ब डलर नाघेको छ । गत साता १ सय अर्ब डलरको बाइब्याक बजेट सार्वजनिक र वारेन बफेटको बर्कशायर हाथवेले कम्पनीमा नाटकीय रूपमा हिस्सा बढाउने बताएपछिको अवस्थामा एप्पलको बजार पुँजीकरणमा पनि वृद्धि भएको हो । अब एप्पल १० खर्ब डलरको कम्पनी हुन अब ६६ अर्ब डलर मात्रै बाँकी छ । सेयर मूल्यमा ८ प्रतिशतको वृद्धि भएपछिको अवस्थामा एप्पलले यो लक्ष्य प्राप्त गर्नेछ ।
एप्पलको म्युजिक स्ट्रिमिङ र अनलाइन स्टोरेज लगायतका सेवा आम्दानीमा भएको ३१ प्रतिशतको वृद्धितर्फ संकेत गर्दै सीएफआरएका विश्लेषक एन्जेला जिनोले सेयर मूल्यमा १९५ डलरबाट वृद्धि भई २ सय १० डलर पुग्ने बताएका छन् । यसले एप्पलको बजार पुँजीकरण १.०३ ट्रिलियन डलर पुग्नेछ ।
तर एप्पललाई चाँडै नै अमेजन डटकमले उछिन्ने जोखिम रहेको छ । बजार मूल्यका आधारमा दोस्रो ठूलो सूचीकृत अमेरिकी कम्पनीको हाल बजार पुँजीकरण ७८० अर्ब डलर रहेको छ ।यसैबीच साउदी अरेबियाका अधिकारीहरूले साउदी अराम्कोको अन्तर्राष्ट्रिय आईपीओको योजना बनाएको र यसले राष्ट्रिय तेल उत्पादकको मूल्य २० खर्ब (२ ट्रिलियन) डलर पुग्ने अपेक्षा गरिएको छ ।