एजेन्सी
बुधवार, जेठ ९, २०७५
3609

जापान, रुस र टर्कीले अमेरिकाले स्टिल र आल्मुनियममा लगाएको भन्सारको बिरुद्धमा बदलाको कारबाही गर्ने चेतावनी दिएका छन् । यी मुलुकहरुले अमेरिकालई ३.५ अर्ब डलरको शुल्क लगाउन सक्ने चेतावनी दिएका छन् ।
तीन मुलुकले विश्व व्यापार संगठनमा आफ्नो क्षतिपूर्तिको विस्तृत दावी माग गरेका छन् । युरोपेली संघ, भारत र चीनपछि यी मुलुकहरुले पनि अमेरिका बिरुद्ध डब्लूटीओमा गएका हुन् । प्रत्येक मुलुकले २०१७ को व्यापारलाई आधार मानेर अमेरिकातर्फ हुने स्टिल र आल्मुनियमको निर्यातमा लागत थपिने विषयमा अनुसन्धान गरिरहेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्चमा लगाएको भन्सारले वार्षिक स्टिल र आल्मुनियमको निर्यातमा ५३ करोड ८० लाख डलरले लागत बढ्ने रुसले जनाएको छ । जापानी निर्यात ४४ करोड डलरले महँगो हुने भएको छ । टर्कीको निर्यात पनि २६ करोड ७० लाख डलरले महँगो हुने बताइएको छ ।
चीन, ईयू र भारतले क्रमशः ६१ करोड २० लाख, १.६ अर्ब डलर र १६ करोड ५० लाख डलरको दावी गरेका छन् ।
जापानले ३० दिनपछि कम्तीमा पनि २६ करोड ४० लाख डलरको बदलाको कारबाही गर्न आफू स्वतन्त्र भएको जनाएको छ ।
रुस र जापानले अमेरिकी निर्यातको बिरुद्धमा कसरी बदला लिने भन्ने विषयमा विशिष्ट रुपमा केही खुलाएका छैनन् । तर टर्कीले भने आफूले निशाना बनाउन सक्ने २२ अमेरिकी बस्तुको सूची सार्वजनिक गरेको छ । यसमा सुपारी, चामल र सूर्तिदेखि लिएर कार र स्टिलका उत्पादनहरु समावेश हुनेछन् ।