एजेन्सी
आइतवार, श्रावण २७, २०७५
3373

भारतीय सेना र हेलिकप्टर फर्काउन आग्रह

माले-मालदिभ्सले आफ्नो मुलुकमा रहेका भारतीय सेना र हेलिकप्टर फर्काउनका लागि भारतसँग आग्रह गरेको छ । पछिल्लो समयमा मालदिभ्सले चीनतर्फ झुकाव राख्न थालेको छ ।
मालदिभ्स र भारतबीचको यस किसिमको सम्बन्धको सम्झौता जुनमा समाप्त भइसकेको छ । भारतमा रहेका मालदिभ्सका राजदूत अहमद मोहम्मदले यो इच्छा व्यक्त गरेका हुन् । मालदिभ्सका राष्ट्रपति अब्दुल्ला यामीनको चीन समर्थित सरकारले नयाँ दिल्लीलाई यो ताजा झट्का दिएको हो ।

हिन्द महासागरको टापुमा रहेको यो देशमा हाल चीन र भारत आमने सामने भएका छन् । बेइजिङ यहाँ सडक, पुल तथा ठूलो हवाई अड्डा बनाउने काममा जुटेको छ । दशकौदेखि सैन्य र नागरिक सहायता दिँदै आएको भारतका लागि यो ठूलो चुनौती बनेको छ ।
यसै वर्ष मालदिभ्सको सर्वोच्च अदालतले सरकारलाई राजनीतिक बन्दीलाई रिहा गर्ने आदेश दिएको थियो । मालदिभ्सका राष्ट्रपति यामिनले अदालतको आदेश मान्न अस्वीकार गर्दै आपत्कालको घोषणा गरेका थिए । उक्त मुलुकका केही विपक्षी नेताले भारतलाई सैन्य हस्तक्षेप गर्नका लागि सहयोग मागेका थिए । यो विषयलाई लिएर मालदिभ्स सरकार बढी चिन्तित देखिएको थियो ।
दुई देशबीच उत्पन्न तनावका असर सहयोग कार्यक्रममा पनि परेको थियो । भारतले यो सानो मुलुकको विशेष आर्थिक क्षेत्रको रक्षा, सर्भे तथा समुद्री डाकासँग मुकाबिला गर्नका लागि सुरक्षा सहायता उपलब्ध गराउँदै आएको थियो ।
मालदिभ्सका राजदूतले भारतले दुईवटा हेलिकप्टर उपलब्ध गराएको बताएका छन् । विशेष गरी यसको प्रयोग चिकित्सकीय काममा हुँदै आएको छ, तर मालदिभ्स सबै किसिमको संसाधनका लागि तयार भइसकेकाले लामो समय यसको आवश्यकता नपर्ने उनले बताए । अब मालदिभ्स आफ्नै बलबुतामा रहन सक्ने धारणा उनले राखेका छन् ।
उनले भनेका छन्, “विगतमा यो बहुतै उपयोगी भएको थियो, तर हाल पर्याप्त मात्रामा आफ्नो मुलुक साधन सम्पन्न भएकाले आफ्नै बलबुतामा चिकित्सकीय सहायात गर्न सक्षम भएका छौं ।”
भारत तथा मालदिभ्स अझै पनि द्वीपमा विशेष आर्थिक जोनमा संयुक्त रूपमा निगरानी गरिरहेको राजदूतले बताए । दक्षिण पश्चिम भारतबाट ४ सय किलोमिटरको दूरीमा रहेको मालदिभ्स विश्वकै सर्वाधिक व्यस्त समुद्री मार्गमा रहँदै आएको छ ।