एजेन्सी
मंगलबार, श्रावण २९, २०७५
212

भियना-विश्वकै बस्न लायकको सहरमा अस्ट्रेलियाको मेलवर्नलाई पछि पार्दै अस्ट्रियाको भियना शीर्ष स्थानमा कायम भएको छ ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वार्षिक विश्वव्यापी सर्भेमा युरोपेली सहर शीर्ष स्थानमा परेको यो पहिलो पटक हो ।

राजनीतिक र सामाजिक स्थायित्व, अपराध, शिक्षा र स्वास्थ्य सेवामा पहुँच लगायतका विभिन्न तत्वका आधारमा विश्वका १४० सहरहरुलाई यो सूचीमा समावेश गरिएको छ ।
सर्भेमा म्यानचेस्टरले अन्य कुनैपनि युरोपेली सहरको तुलनामा ठूलो सुधारको फड्को मारेको छ । यो सहर १६ स्थानले माथि चढ्दै ३५ औं स्थानमा कायम भएको छ ।
म्यान्चेस्टरले सूचीमा १३ स्थानमाथि भएर लन्डनलाई पनि पछि पारेको छ । सुरक्षाको क्षेत्रमा दिइएको अंकका आधारमा म्यानचेस्टर उकालो लागेको इकोनोमिस्टले जनाएको छ ।
सर्भेले गत वर्षको तुलनामा बस्न लायकको सूचीमा सुधार हुनेमा झन्डै आधा सहरहरु रहेको देखाएको छ ।
यस वर्ष विश्वव्यापी वर्गिकरणको दोस्रो स्थानमा परेको मेलवर्न यो भन्दा पहिले ७ वर्षसम्मको अवधिका लागि पहिलो स्थानमा परेको थियो ।
अस्ट्रेलियाका अन्य दुई सहरहरु सिड्नी र अडेलाइडे यो वर्षको शीर्ष १० को सूचीमा परेका छन् ।
सर्वाधिक कम बस्न लायकको सहरमा युद्धमा होमिदै आएको सिरियाको दमास्कस परेको छ । यसपछि कम बस्न लायकका सहरहरुमा बंगलादेशको ढाका र नाइजेरियाको लागोस परेका छन् ।
सर्वाधिक कम बस्न लायकका सहरमा अपराध, नागरिकको बेचैनी, आतंकवाद र तथा युद्ध लगायतका कारणले भूमिका निर्वाहा गरेको इकोनोमिस्टले जनाएको छ ।